अयोध्या लैजाने कालीगण्डकीको शिलाको पुजा

Gandaki Pardesh notice

बेनी, भारतको अयोध्यामा निर्माण हुन लागेको रामलला मन्दिरमा मुर्ती बनाउन लैजान तयार पारिएको शिला उत्खनन् स्थलमा आइतबार क्षमापुजा गरिएको छ ।

बेनी नगरपालिका–६ ठुलोपहिरो स्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले बिहान १०ः२०को शुभसाइतमा धार्मिक बिधी अनुसार क्षमापुजा गर्नुभएको थियो ।

क्षमापुजामा प्रतिनिधिसभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधी, सुरक्षा अधिकारी र अगुवाहरुको उपस्थिति थियो ।

Shreekrishna hardwear in news

क्षमापुजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पिठाधिस राम तपश्वेर दास मार्फत अयोध्याको रामलला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीन वटा शालग्राम हस्तान्तरण गर्नुभएको थियो ।


नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिक्टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई वटा शिलाको पहिचान, नापजाँचको काम सकिएपछि पठाउनुअघि क्षमापुजा गरिएको हो ।

नगरप्रमुख केसीले प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेन आएपछि शिला उत्खनन् गरि टिप्परमा राखेर बाजागाजा र पुजाआजा गरेर केही दिनमै जनकपुर पठाइने बताउनुभयो । पुर्वगृहमन्त्री समेत रहनुभएका प्रतिनिधिसभा सदस्य निधिले सरकारी तवरमा विभिन्न चरण र प्रक्रीया पुरा गरेर कालीगण्डकीको शिला उपलब्ध गराउन लागिएको बताउनुभयो ।

Bhautik ministry notice about road

“अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दी सम्म विस्तार गर्छ,” उहाँले भन्नुभयो “शिला उत्खनन् भएको ठाउँ धार्मिक स्थलको रुपमा विकास हुने र कालीगण्डकीको महत्व झनै बढ्नेछ् ।”

बेनी नगरपालिका, गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने प्रतिनिधिसभा सदस्य निधिले बताउनुभयो ।

विश्वमै दुर्लभ र कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिलालाई हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको अवतार मान्ने गर्दछन् । कालीगण्डकीलाई हिन्दु धर्मावम्बीहरुले कृष्णगण्डकीको रुपमा चिन्ने गर्छन् । शालीग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवानकै प्रतिक भएको रामलला मन्दिर निर्माण समितिका सचिव पंकजले बताउनुभयो । “यहाँबाट लैजाने शिलाबाट श्रीरामको मुर्ति बनाएर मन्दिरमा राख्छौ,” उहाँले भन्नुभयो “शालग्राम पाइने कृष्णागण्डकीको किनारका शिला देवताका अवतार हुन् ।”

जनकपुर मन्दिरका पिठाधिस राम तपश्वेर दासले अयोध्यामा रामको मुर्ति बनाउन लगिने शिलासँगै जानकी मन्दिरमा सिताको मुर्ति बनाउन अर्को शिला पनि लगिने बताउनुभयो । “हिन्दु धर्मावलम्बीहरुको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहाँसिक सम्बन्ध छ,” उहाँले भन्नुभयो “यहाँको शिला लगेर मुर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै उजागर हुन्छ र बढ्छ ।”

भारतको राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो । संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि पश्चिमाञ्चल इञ्जिनियरीङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपान सहितको विज्ञहरुको टोलीले दश दिनसम्म बेनी स्थित कालीगण्डकी र म्याग्दी नदीको दोभान देखि तीन किलोमिटर माथि गलेश्वर मन्दिर सम्मको कालीगण्डकी किनारमा दश दिनसम्म शिलाको अध्ययन र पहिचान गरि सिफारिस गरेको थियो । कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...