तोरी फुलेर पहेलपुर बन्यो रत्नेचौर

Add Samajik bikash office

रत्नेचौर, २७ पुष । तोरी फुलेको खेतको फाँटको पृष्ठभूमिमा पहाडी भूगोल र धवलागिरी हिमाल । खेतको बिचमा कालोपत्रे सडक । सडकको दायाँ र बायाँ परम्परागत तथा आधुनिक घरहरुको ग्रामिण बस्ती म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको केही दिनयताको दृष्य हो ।

चिसो छल्न, थकान मेटाउन, ‘टिकटक’ बनाउन र तस्बिर खिचाउनेहरुको रत्नेचौरमा चहलपहल बढेको छ । तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली छाएपछि रत्नेचौरको फाँट सुन्दर, आकर्षक र मनमोहक देखिएको स्थानीय कुशल शर्माले बताउनुभयो ।

पुर्व फर्किएको रत्नेचौरको पृष्ठभूमिमा संसारको सातौं अग्लो आठ हजार १६७ मिटर उचाइको धवलागिरी हिमाल देखिन्छ । तोरी फुलेको खेतको बिचमा रहेको सडकमा फोटो, भिडियो खिच्ने र रमाउने युवा युवतीहरुको गत वर्षको पुष माघ महिनामा आन्तरिक पर्यटकको घुइचो लागेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गत वर्षभन्दा अघि रत्नेचौरको तोरीबारी स्थानीय स्तरमा सिमित थियो । सामाजिक सञ्जाल फेसबुक र ‘टिकटक’मा भाइरल भएसँगै रत्नेचौर चर्चामा आएको छ । बालबालिका, युवा युवती देखि अधबैंसे उमेर समूहका मानिसहरु रमाउनका लागि रत्नेचौर गन्तब्य बनेको छ ।

त्यहाँ पुगेर फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटक बनाउनका लागि रत्नेचौर उपयुक्त गन्तब्य बनेको छ । यसपाली रत्नेचौर देखि बागलुङको कुडुले जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेहरुका लागि नयाँ आकर्षण थपिएको छ । बेनी नगरपालिका ४ का कृषक डिलबहादुर केसीले पालेका मौरी चराउन रत्नेचौरको तोरीबारीमा लैजानुभएको छ ।

रत्नेचौरमा पहिलेदेखि नै तोरी उत्पादन हुँदै आएको थियो । २०२३ सालमा बनेको सिचाई आयोजना मर्मत गरेर बाह्ै महिना खेती गर्न सकिने बनाइएको छ । गत साल मानिसहरुको भिडले तोरीका बोट भाँचिदाँ उत्पादन राम्रो भएन् । स्थानीय कृषक गंगाराम आचार्यले सडक र पैदलमार्गबाटै तोरी अवलोकन गर्न, तस्विर, भिडियो खिच्न पाहुनाहरुलाई अनुरोध गर्नुभयो ।

बेनीमा म्याग्दी महोत्सव अवलोकन गर्न आउनेहरुका लागि पनि रत्नेचौरको तोरीबारी थप आकर्षण बन्ने देखिएको छ । मौरीपालन तथा मह उत्पादनका लागि उपयुक्त मानिने तोरीको सागलाई तरकारीको रुपमा प्रयोग गर्ने गरिन्छ । तेलहन बालीमा पर्ने तोरी तीन महिनामा पाक्दछ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...