कालीगण्डकीको देवशिला अयोध्या लैजाने तयारी

Gandaki Ghumau

बेनी । विश्वमै दुर्लभ शालग्राम पाइने कालीगण्डकी नदीको शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लगिने भएको छ ।

मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दु धर्मावलम्बीहरुले भगवान बिष्णुको रुपमा पुज्ने शालग्राम शिला पाइने विश्वको एकमात्र नदी हो । कालीगण्डकीलाई हिन्दु धर्मावलम्बीहरुले कृष्णागण्डकीको रुपमा चिन्ने गर्दछन् ।

भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको बुधबार नाचजाँच गरिएको छ । भारत सरकारको प्रस्ताव र नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार अयोध्यामा कालीगण्डकीको शिला पठाउने प्रक्रीया अन्तिम चरणमा पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

Shreekrishna

“संघीय सरकारले गण्डकी प्रदेश सरकार मार्फत बेनी नगरपालिकालाई शिला उपलब्ध गराउन पत्राचार गरेको थियो,” उहाँले भन्नुभयो “बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभान देखि तीन किलोमिटर उत्तर गलेश्वरसम्म करिब दश दिन शिलाको अध्ययन र पहिचान भएको थियो ।”

प्रदेश सरकारको शिक्षा, विज्ञान तथा संस्कृति मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज, पश्चिमाञ्चल इञ्जिनियरीङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपाने सहितको टोलीले बेनी नगरपालिकाको ६ र ८ नम्बर वडाको सिमानामा पर्ने रातो पहिरोमा पहिचान भएको दुई वटा शिलाको नापचाँच गरेको छ ।

Gunasthariya Shiksya

“एउटा १५–१६ मेट्रिक्टन र अर्को ११–१२ मेट्रिक्टन अनुमानित तौल भएको शिलाको नापजाँच भएको छ,” उपप्राध्यापक न्यौपानेले भन्नुभयो “जैविक र वातावरणीय असर नपुग्ने गरि शिला उठाएर ट्रकमा राख्ने क्रेन बोलाइएको छ ।” कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई थान शिलाको पहिचान गरिएको थियो ।

उपसचिव न्यौपानेले बेनी नगरपालिका, गण्डकी प्रदेश सरकारले जनकपुरमा लगेर मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र त्यहाँबाट अयोध्या लगिने बताउनुभयो । साइत जुराएर धार्मिक बिधि अनुसार पुजाआजा र बाजा बजाएर बेनीबाट शिलाको बिदाई गर्ने नगरपालिकाले जनाएको छ ।

धार्मिक हिसाबले महत्वपूर्ण भएकाले कालीगण्डकीको शिला अयोध्या लैजान लागिएको हो । शालग्राम पाइने कृष्णागण्डकीको किनारमा रहेकाले देवशिला भनिएको हो । कालीगण्डकीको शिला अयोध्यामा पु–याउँदा यहाँको धार्मिक र सांस्कृतिक पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने कृष्णगण्डकी नदीका अध्येता कुलराज चालिसेले बताउनुभयो ।

भारतको राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो । संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज, अध्ययन र नापजाँचको प्रक्रीया पुरा भएको हो । अयोध्यालाई हिन्दु धर्मावलम्बीहरुको राजधानीका रुपमा चिन्ने गरिन्छ । शालग्राम पाइने भएकाले कालीगण्डकीलाई पवित्र नदी मानिन्छ ।

कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने अध्येता चालिसेले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...