अफ्रिकन स्वाइन फिवरबाट अग्नीखेतको बगुर फार्ममा दुई करोड बढीको क्षति

Add Samajik bikash office

बेनी, महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को संक्रमणका कारण म्याग्दीको बेनी नगरपालिका–७ अग्नीखेतका बंगुर फार्म रित्तिएका छन् ।
पुष दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्नीखेतमा रहेका सबै फार्मका बंगुर मरेका हुन् । अग्नीखेतको प्रकृति एण्ड प्रशंसा बंगुर फार्मका सञ्चालक कृष्ण बिकले १२ वटा फार्म अप्रिकन स्वाइन फिवरको महामारीले रित्तिएको बताउनुभयो ।
“१० वर्षदेखि बंगुर पाल्दै आएको थिए, यस्तो महामारी कहिल्यै आएको थिएन्,” उहाँले भन्नुभयो “यसपाली मेरो फार्ममा मात्र रु. ३० लाख मूल्यका ६० वटा बंगुर मरे । एउटा पनि बाँकी रहेन् ।” सबै फार्ममा रु. दुई करोड मूल्य बराबरको क्षति भएको विकले बताउनुभयो ।
जिल्ला सदरमुकाम बेनी बजारको नजिकै रहेको अग्नीखेतमा एकै ठाउँमा धेरै बंगुर फार्म छन् । कृष्ण बिक, टिका रोका, पुर्वराज घर्ति, नरे रोका, देवेन्द्र कामी लगायतका कृषकले अग्नीखेतमा बंगुर पालेका थिए । कृषक टिका रोकाले बंगुरपालन व्यवसायबाट विस्थापित हुने अवस्था आएको बताउनुभयो ।
“तत्काल नयाँ बंगुर पाल्न सक्ने वातावरण र हैसियत छैन, पेशाबाटनै विस्थापित हुनुपर्ने भयो,” उहाँले भन्नुभयो “घर व्यवहार चलाउन र छोराछोरी के गरेर पढाउने भन्ने चिन्ताले पिरोलिएका छौ ।” पोखराबाट बंगुर ल्याएपछि अग्नीखेतमा अफ्रिकन स्वान फिवर भित्रिएको हो ।
बेनी बजारको घर तथा होटलमा बढी भएर फाल्ने गरिएको खाना बंगुरलाई दानाको रुपमा खुवाउने गरेका थिए । बंगुर फार्मलै लैजान छाडेपछि घर तथा होटलमा बढी भएको दाल, भात, तरकारीको व्यवस्थापन गर्न समस्या भएको बजारबासीले बताएका छन् ।
धमाधम बंगुर मर्न थालेपछि नमुना संकलन गरेर परिक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । पुष ११ गते म्याग्दीका बंगुर फार्ममा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको थियो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जिवनप्रसाद आचार्यले बेनीको अग्नीखेत र अन्नपूर्ण गाउँपालिकाको नौलीबगरमा अफ्रिकन स्वाइन फिवरबाट २७५ वटा बंगुर मरेका बताउनुभयो ।
‘‘रोग नियन्त्रणमा नआएसम्म बंगुर ओसार पसार गर्न रोकिएको छ,” उहाँले भन्नुभयो “कृषकहरुलाई सावधानी अपनाउन आग्रहका साथै नियन्त्रणका लागि पशु चिकित्सक र प्राविधिक परिचालन गरिएको छ ।” जैविक सुरक्षा र सतर्कता अपनाइएकाले जिल्लाका अन्य फार्ममा महामारी फैलिन नपाएको प्रमुख आचार्यले बताउनुभयो ।
रोगबाट मरेका बंगुरलाई व्यवस्थित तरिकाले जमिनमा गाडिएको छ । मरेका र बिरामी बंगुरमा ज्वरो बढी आउने, वान्ता गर्ने, झोक्राउने र शरिरमा निलो दाम देखिने लक्ष्यण देखिएको छ । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ ।
विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपालमा गत वर्षको चैतमा काठमाडौमा देखिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...