कृष्ण बानियाँको ‘विसङ्गत अभिरुचि’ विमोचन

Gandaki Ghumau

बेनी, । म्याग्दीका साहित्यकार कृष्ण बानियाले लेख्नुभएको पुस्तक विसङ्गत अभिरुचि संस्मरणको शनिबार बेनीमा विमोचन भएको छ ।

बेनी नगरपालिका–७, मङ्गलाघाट निवासी सेवा निवृत्त कर्मचारी बानियाँले लेख्नुभएको पुस्तक म्याग्दी साहित्य समाज र पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्राज्ञ प्रेम छोटाले विमोचन गर्नुभयो ।

छोटाले जागिरे जीवनको भोगाइलाई सङ्ग्रह गरी प्रकाशन गरेकोमा लेखकलाई आभार प्रकट गर्नुभयो । उहाँले सरकारी जागिरको समय पुरा गरी बाँकी समय लेखन कार्यमा लगाएको हुँदा यसले साहित्यको विकासमा समेत सहयोग पुग्ने बताउँदै लेखक बानियाँलाई आगामी दिनमा पनि लेखनको कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

Shreekrishna

कार्यक्रममा बोल्दै पूर्व सांसद तथा साहित्यकार चन्द्रप्रकाश बानियाँले प्रकाशित पुस्तकमा कृष्ण बानियाँले आफू जागिरमा रहँदा गरेको संघर्ष र भोगेका दुःख, कठिनाइलाई यथार्थ रुपमा बाहिर ल्याएको बताउनुभयो । उहाँले प्रकाशित संस्मरण कृति विसङ्गत अभिरुचि आफ्नो समाप्तिपछि पनि जागिरे जीवनको भोगाई प्रमाणको रुपमा रहने भन्दै यसले भावी पुस्तालाई अगाडि बढ्न अवसर प्रदान गर्ने बताउनुभयो ।

Gunasthariya Shiksya

धौलागिरि बहुमुखी क्याम्पस सञ्चालक समिति बागलुङका अध्यक्ष डिनबहादुर थापाले पुस्तकले अरुलाई पनि लेखन कार्यमा उत्साह जगाउने बताउनुभयो । लेखक बानियाँले आफूले जागिरे जीवनमा रहँदा इमान्दारपूर्वक काम गरेको बताउँदै आफ्नो ३७ वर्षे जागिरे जीवनका दुःख, कष्ट, पीडा र भोगाइलाई पुस्तकमार्फत उतारेको जानकारी दिनुभयो ।

उहाँले विसङ्गत अभिरुचि संस्मरणभित्र २८ वटा छन्दमा जागिरे जीवनको भोगाई उल्लेख गरेको बताउनुभयो । पुस्तकमाथि साहित्यकार रामप्रसाद सुवेदीले समीक्षा गर्नुभएको थियो । शिखा बुक्स बागबजार काठमाडौं प्रकाशक रहेको यस पुस्तकको प्रति मूल्य चारसय २५ रुपैयाँ तोकिएको छ ।

पुस्तकभित्र तक्मेलीहरुको बहुदल प्रेम, गलेश्वर मेला, बत्तीमूनि अँध्यारो, पराजित आन्दोलन, नक्कली स्रेस्ता, हाकिमको हैकम, अन्तरवार्ता, कीर्ते रजिष्ट्रेशन, विचलित मन, नागरिकताको मोल, कर्तव्यबोध, यज्ञ औचित्य, मार्ने धम्की, आकाशमा हराउँदा शीर्षकका लेखहरु समावेश गरिएको छ ।

यसैगरी विसङ्गत अभिरुचि, धुन्चेको रुन्चे बसाई, महङ्गो सरुवा, ज्यानको जोखिम, म्याग्दीको भूमि समस्या, भालुको रिस खन्युँमाथि, नेताहरुको नियत, राष्ट्र सेवाको मूल्य, तावाको माछो भुङ्ग्रोमा, विद्रोहीको विवेक, परित्यज्य विभूषण, नवलपुरको नयाँ वस्ती, अवकाश अनुभूति र रहलपहल स्मृतिका तरेलीहरुको शीर्षकमा लेखहरु उल्लेख गरिएको लेखक बानियाँको भनाइ छ ।

कार्यक्रममा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान मल्लाज पर्वतका उपाध्यक्ष केदारनाथ पौडेल, म्याग्दी साहित्य सञ्चारका संरक्षक चन्द्रबहादुर लामिछाने, म्याग्दी बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी र साहित्यप्रेमी अमृतदेवी बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माको अध्यक्षता, पुलस्त्य साहित्य प्रतिष्ठानका उपाध्यक्ष शिव ‘सस्मित’को स्वागत र साहित्यकार अजयमिलन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...