रेडक्रस सोसाइटी म्याग्दीमा बानिया

Gandaki Pardesh notice

बेनी, । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको सभापतिमा अमर बहादुर बानिया चयन हुनुभएको छ ।
बेनीमा सोमबार भएको शाखाको ३० औ वार्षिक साधारण सभा तथा अधिवेशनबाट बानियाको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अघिल्लो कार्यकालका उपसभापति रहेका बानियाले पछिल्लो समय कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
निर्वाचन अधिकारी दिनेश अर्यालका अनुसार उपसभापतिमा बिष्णु कुमारी रोका, कासीराम रोका, मन्त्रीमा यामबहादुर चोखाल, कोषाध्यक्षमा नवराज पौडेल, उपमन्त्रीमा मोतिराज उपाध्याय र उपकोषाध्यक्षमा शिव बानिया चयन हुनुभएको छ ।
सदस्यहरुमा दविना रोका, निलकुमारी भण्डारी, टिका घताने, सुरत केसी, राजेन्द्र आचार्य, मुक्ति प्रसाद ढुङ्गाना, हिरा बहादुर पुन, तारानाथ शर्मा, हरीप्रसाद सुवेदी र रशेमबहादुर बानिया चयन हुनभएको छ ।
साधारणसभाको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले विपद् व्यवस्थापन, कोरोना महामारी नियन्त्रण देखि अन्य सामाजिक क्षेत्रमा म्याग्दी रेडक्रसको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
रेडक्रसका निवर्तमान उपमन्त्रि र रक्तसञ्चार गृहको नेतृत्व गर्नुभएका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले संकटको सारथी बनेको म्याग्दी रेडक्रसलाई केन्द्रले उपेक्षा गरेको गुनासो गर्नुभयो ।
“रेडक्रस घाटामा रहेर पनि म्याग्दीमा एम्बुलेन्स र रक्तसञ्चार गृह सञ्चालन गरेको छ,” उहाँले भन्नुभयो “कोभिडबाट ज्यान गुमाएकाहरुको मेरै नेतृत्वमा म्याग्दी रेडक्रसले निशूल्क शव व्यवस्थापन गरेको थियो ।”
निर्वाचन अधिकृत तथा स्याङ्जा रेडक्रसका सभापति दिनेश अर्यालले रेडक्रसको केन्द्रमा उत्पन्न विवादले जिल्ला शाखाका गतिबिधिमा असर गरेको भन्दै सुधारका लागि दवाव दिनुपर्ने बताउनुभयो । सभाषद्हरुको तर्फबाट दरवाङ उपशाखा सचिव हिरा पुन र गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शाखाका मन्त्रि चोखालले २२ वटा उपशाखा रहेको म्याग्दी रेडक्रसमा तीन हजार ७६ जना साधारण सदस्य रहेका बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा १८८, २०७८÷७९ मा १५३ र २०७९÷८० को हालसम्म २१ घरपरिवार आगोलागी, बाढी पहिरो लगायत विपद् प्रभावितलाई राहत सामग्री सहयोग गरेको छ ।
रघुगंगा गाउँपालिकाको सहयोगमा बेनी अस्पतालमा उपचार गर्ने सो पालिकाका बासिन्दाहरुलाई निशूल्क रक्तसञ्चार सेवा उपलब्ध गराएको छ । २०७७÷७८ मा २१०, २०७८÷७९ मा ११९ र २०७९÷८० को हालसम्म ९० जनाले रक्तसञ्चार गृहबाट सेवा लिएका छन् । दरवाङमा मालिका गाउँपालिकासँगको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालन भएको छ ।
रेडक्रसद्धारा सञ्चालित एम्बुलेन्सबाट आर्थिक वर्ष २०७७÷७८ मा १२३, २०७८÷७९ मा १३३ र २०७९÷८० को हालसम्म ३१ जनाले सेवा लिएका छन् । रघुगंगाको बेगखोला, दग्नाम र चिमखोलामा आइरीस रेडक्रसको सहयोगमा २०१९ देखि सामुदायिक जिविकोपार्जन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेको छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरणका साथै सचेतनामुलक कार्यक्रम गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...