१८ वर्षमा युद्धमा होमीएका रेशम जुग्जाली सांसद बने

Sinchai Khanipani notice

बेनी । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित ३९ वर्षीय रेशमबहादुर जुग्जाली (सुविन) १८ वर्षको उमेरमा तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ मा होमिनु भएको थियो ।

मालिका गाउँपालिका–७ बिमका बासिन्दा जुग्जालीका पाँच दाजुबहिनी मध्य चार जना ‘जनयुद्ध’मा भूमिगत हुनुभएको थियो । जुग्जालीकी श्रीमति ज्योती पनि ‘जनुयुद्ध’की भूमिगत कार्यकर्ता हुनुहुन्थ्यो । जुग्जालीका दाजु जितबहादुरको २०५८ मा सोलुखुम्बुको भिडन्तमा ‘सहिद’ बन्नुभएको थियो ।

२०५६ मा विमको किसानी माविमा अनेरास्ववीयू क्रान्तिकारीको इकाई अध्यक्ष भएर राजनीतिक यात्रा शुरु गरेका जुग्जाली २०५७ मा जिल्ला सदस्य र २०५८ मा जिल्ला सचिव हुदै संकटकाल लागेपछि भूमिगत बन्नुभयो । कक्षा १० पढ्दै गर्दा भूमिगत भएका जुग्जालीले शान्ति प्रक्रीयामा आएपछि एसएलसी उतिर्ण गर्नुभयो ।
२०५९ मा माओवादीको इलाका सेक्रेटरी, २०६० मा जिल्ला सदस्य बनेका जुग्जालीले २०६२ को अन्तिममा जनमुक्ति सेनाको कम्पनी कमिसारको जिम्मेवारी पाउनुभयो । जनमुक्ती सेनामा भ्वाइस कमाण्डर बनेका जुग्जाली सेनाबाट २०६३ मा युवा संगठन वाइसीएलको संस्थापक जिल्ला सचिव बनेर सांगठनिक राजनीतिमा आउनुभयो । वाइसीएलको सचिव हुँदा जुग्जालीको नेतृत्वमा म्याग्दीमा अनियमितता, भ्रष्ट्राचार र ठगी विरोधी अभियान सञ्चालन भएका थिए ।

Shreekrishna hardwear in news


२०६५ मा माओवादीको तत्कालीन मगराँत राज्य कमिटिको सदस्य र जिल्लाको सचिवालय सदस्य बनेका जुग्जाली वि.स. २०७० मा माओवादी विभाजन हुदाँ मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको जिल्ला सेक्रेटरी हुनुभयो । वि.स. २०७१ देखि २०७३ सम्म कुनै पनि दलमा आवद्ध हुनुभएन् । वि.स. २०७४ को स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका–७ बिममा वडा अध्यक्षमा जुग्जाली सहित स्वतन्त्र उमेद्वारको प्यानल विजयी भयो ।

Bhautik ministry notice about road

वैशाखमा भएको स्थानीय तह चुनावमा मालिका गाउँपालिकाको अध्यक्षमा हारेका जुग्जाली आइतबार सम्पन्न निर्वाचनबाट आठ हजार ७२३ मत ल्याएर प्रदेश सांसदमा निर्वाचित हुनुभयो । जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर गर्बुजाले आठ हजार ४९४ मत पाउनुभयो । १०१ मतान्तरले जुग्जाली प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

मंगला, मालिका र धवलागिरी गाउँपालिकामा समेटिएको प्रदेशसभा क्षेत्र (ख)मा ३७ हजार ६४८ जना मतदाता रहेकामा २१ हजार सात मत खसेको थियो । राप्रपाकी मिठुकुमारी थापाले ४१०, मंगोल नेशनल अर्गनाइजेशनका डेकबहादुर पुनले ६५७ र स्वतन्त्र उमेद्वार देविन्द्र फगामीले ६७४ र राप्रपा नेपालका झलकबहादुर बानियाले ५५ मत पाउनुभयो । जुग्जालीलाई सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सघाएका थिए ।

प्रदेश सांसदमा निर्वाचित जुग्जालीले प्रदेशका नीति निर्माणमा युवाको भावनाको प्रतिनिधित्व गराउने, सार्वजनिक सेवा प्रवाहलाई झञ्जटरहित र विकास निर्माणलाई गुणस्तरीय, दिगो र पारदर्शी बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

बेनी–दरवाङ सडक कालोपत्रलाई पुर्णता, ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक बनाउने, मंगला र मालिका गाउँपालिका देखि बागलुङ जोड्ने सडकको स्तरान्नति, बेनी नगरपालिका–मंगला, मालिका–धवलागिरी र रघुगंगा गाउँपालिका जोड्ने रघुगंगा–म्याग्दी चक्रपथ बनाउने चुनावी प्रतिवद्धतालाई कार्यान्वयनमा प्राथमिकता दिने बताउनुभयो ।

निर्माणाधिन जलविद्युत आयोजनालाई पुर्णता दिने र त्यसबाट स्थानीयलाई लाभ लिने वातावरण बनाउने, पर्यटन, कृषि, उद्यम, पशुपालनमा रोजगारी सिर्जना गराउने, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार, विद्युत, खानेपानी, सिचाई सुविधा विस्तारका साथै ढुंगा खानीलाई व्यवस्थित, तामा र फलामखानी सञ्चालनमा पहल गर्ने जुग्जालीले प्रतिवद्धता जनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...