गुर्जा र बगरको मतपेटिका ढुवानीका लागि हेलिकप्टर माग

Add Samajik bikash office


बेनी, । आइतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा रहेका म्याग्दीका दुई ठाउँको मतपेटिका ढुवानी गर्न हेलिकप्टर माग गरिएको छ ।
धवलागिरी गाउँपालिका–१ गुर्जाको जनकल्याण मावि र वडा नम्बर ४ बगरको कैलाश आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिका ढुवानी गर्न हेलिकप्टर माग गरिएको हो । म्याग्दीका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले मानिसले बोकेर ल्याउँदा ढिला हुने भएकाले हेलिकप्टरबाट मतपेटिका ढुवानी गर्न निर्वाचन आयोगमा पत्राचार गरिएको जानकारी दिनुभयो ।
“सडक नपुगेको हुँदा मानिसलाई बोकाएर सडक भएको ठाउँसम्म ल्याउन थप एक दिन लाग्छ,” उहाँले भन्नुभयो “विकट र दुर्गम ती ठाउँबाट मतपेटिका सदरमुकाम ल्याउनका लागि हेलिकप्टरको व्यवस्था मिलाउन निर्वाचन आयोगमा प्रस्ताव गरेका छौ ।”
वि.स. २०७४ को चुनावमा गुर्जाको मतपेटिका हेलिकप्टरबाट बेनी ल्याइएको थियो । बगरमा भने यसपटक नयाँ मतदान केन्द्र स्थापना भएको हो । गुर्जा पुग्न सडक पुगेको लुलाङबाट पुरै दिन भिर, जंगल र खोल्सा भएको पैदलमार्गमा हिड्नुपर्छ । मुदी देखि बगर पुग्नका लागि पनि पुरै दिन हिड्नुपर्छ । बगर जान आउने बाटोमा पर्ने नाउराको भिरमा जोखिम मोलेर यात्रा गर्नुपर्छ ।
गुर्जामा ७५४ र बगरमा १५७ जना मतदाता छन् । चुनाव गराउन मंगलबार बेनीबाट गएका कर्मचारी र सुरक्षाकर्मीहरुको टोली बिहिबार त्यहाँ पुगेर तयारी गरेको छ । यसैबीच म्याग्दीका सबै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगेर आइतबार हुने चुनावको तयारी थालेका छन् ।
कर्मचारी र सुरक्षाकर्मी पुगेसँगै चुनावी तयारी मतदान स्थल केन्द्रित भएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो । मतदान स्थल वरपर सूचना टाँस र मदिरा निषेध गरेर सर्वदलीय बैठक, बुथ निर्माणको तयारी गरेका हुन् ।
म्याग्दीका १२० मतदान केन्द्रमा ९५६ जना कर्मचारी खटाइएको छ । ६ वटा स्थानीय तह, ४५ वडा रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ८६ हजार जना मतदाता छन् । प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् ।
चुनावको सुरक्षाका लागि म्याग्दीमा ७३३ म्यादी र ४०९ जना जनपद प्रहरी परिचालन भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका जनशक्ति पनि चुनावी सुरक्षामा परिचालन भएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...