बुबाको बेहोसीले १५ महिने अनामिकाको ज्यान गयो

Gandaki Pardesh notice

बेनी, बागलुङमा बुबाको बेहोसीका कारण १५ महिने छोरीले मृत्युवरण गरेकी छिन् ।
बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्नतिर जंगलमा लगेर छाडेका थिए । चौबिस घन्टासम्म जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले बताएका छन् ।
शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जंगलमा भेटिएकी थिइन् । उद्धारपछि अस्पताल ल्याउँदाल्याउँदै अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिनुभयो ।
अनामिकाको आइतबार बेलुका धवलागिरि अस्पतालमा निधन भएको थियो । त्यसअघि बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पु¥याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो ।
‘बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन् । सास पनि राम्रै फेरेझैं लाग्थ्यो,’ गौतमले भन्नुभयो , ‘अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे ।’ उद्धारमा पुगेका बेनी–१ का वडा सदस्य ताराप्रसाद थापाले गाउँलेले रोएको सुनेपछि अनामिका फेला परेको बताउनुभयो ।
‘अर्जमदेखि खबरा जाने सडक नजिक गैंडाराको जंगलमा भेटिएकी थिइन् । झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो । तर भित्र गम्भीर असर गरिसकेको रहेछ ,’ उहाँले भन्नुभयो । रूँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए । रातभरको वर्षाले पनि उनलाई नराम्रोसँग चुटेको वडा सदस्य थापाले बताउनुभयो ।
परिवारजनका अनुसार काममा गएकी आमा सरस्वतीसँग दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरबाट हिँडेका थिए । त्यस दिन छोरीलाई श्रीमानको साथ लगाएर सरस्वती काममा गएकी थिइन् । परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको दैनिकी हो । श्रीमानले नै छोरीलाई त्यसरी अनकन्टार जंगलमा लगेर छोड्ने कुरा सरस्वतीले सोच्नसम्म नसक्ने कुरा थियो ।
मानसिक स्वास्थ्यमा देखिएको असहज अवस्थाका कारण दीपकले त्यस्तो गम्भीर र अस्वाभाविक व्यवहार देखाएको स्थानीयवासीले बताएका छन् । छोरीसहित घरबाट हिँडेका उनी सम्पर्क विहीन भएपछि खोजतलास गर्ने क्रममा निर्वस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए ।
‘निर्वस्त्र अवस्थामा भेटाएपछि प्रहरीकोमा ल्याएर छोरीकहाँ छिन् भनेर सोध्दा केही बोल्नुभएन । ठाउँ भनेको भए बचाउन सकिन्थ्यो होला । उहाँले किन त्यसो गर्नुभयो, हामी पनि अचम्ममा परेका छौं,’ दीपकका भाइ गौतमले भन्नुभयो, ’छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला । भिरपहराको बाटो जोगाउँदै लगेर जंगलमा एक्लै छोडेको देखिन्छ ।’
बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण सानी छोरीले ज्यान गुमाउनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुखी बनाएको छ । छोरी बितेपछि आमा सरस्वती विक्षिप्त छिन् । परिवार र आफन्तजन कानुनी प्रक्रिया पु¥याएर शव परीक्षणको पर्खाइमा छन् । दीपक भने प्रहरी नियन्त्रणमा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...