![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
मल्लाज, खेतमा मकै नभित्र्याउँदासम्म बिहान झिसमिसे उज्यालो नहुँदै खेतमा पुग्ने पर्वतको जलजला गाउँपालिका–४ का चक्रबहादुर कार्की साँझ रात परेपछि मात्र घर फर्कने गर्नुभयो ।
खेतमा लगाएको मकैले घोगा हालेर नपाक्दासम्म करिब डेढ महिना कार्कीको दिनचर्या बाँदर धपाएर खेतमै बित्यो । हातमा गुलेली समातेर बस्ने चक्रबहादुरले घामपानीबाट जोगिन खेतमै टहरा बनाउनुभएको थियो ।
“बाँदरको हुल पसेभने छिनभरमा खेतभरीको मकै सखाप पार्छन,” उहाँले भन्नुभयो “बिहान उज्यालो भएदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर खेतमा बस्यौ ।”
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2022/07/IMG_4845.jpg)
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
बाँदरबाट बाली जोगाउन एकाबिहानै उज्यालो हुनेवित्तिकै खेतबारीमा पुग्ने मल्लाजका कृषकहरु साँझ नपरुन्जेलसम्म बाली कुरेर बनेगर्छन् । खेतीबाली लगाउने र हुर्काउन जस्तै बादरबाट जोगाउनु किसानका लागि अर्को चुनौति बनेको छ । बाँदर धपाउन कृषकको श्रम, पसिना र समय खर्च भएको छ ।
आँखा झिमिक्क गर्नासाथ बादरले सारा खेतीबाली नष्ट गरिदिन्छ । कृषकहरु खाना र खाजा खाने समय समेत पाउदैनन् । बादर हेर्न बसेको ठाउँमै खाना–खाजा पु¥याइदिनु पर्ने बाध्यता रहेको छ ।
खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेर समेत अन्नपात नास गरिदिने गरेको छ । बाँदरले खाद्यबालीसँगै तरकारी र फलफूल खानुका साथै बिरुवासमेत उखेलेर नष्ट गरिदिने गरेको जलजला–३ का द्रोण खत्रीले बताउनुभयो । वनको विस्तारसँगै जंगल वरपरका खेतबारीमा खेती हुन छाडेका छन् । आहारा, पानीको खोजीमा बाँदरसहित अन्य बन्यजन्तु बस्तिमै आउन थालेका छन् ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
कानुन अनुसार बादरलाई लखेट्न, पक्रन, घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न र घरमा पशुको रुपमा पाल्न नपाउने व्यवस्था छ । बाँदरको समस्या न्युनीकरण गर्न टिमुर सतुवा, चिराइतो, कुरिलो, ओखार, बेसार, कागति, केरा, फुल र घाँस खेती गर्न सकिने म्याग्दीका डिभिजनल वन अधिकृत मनोज रानाभाटले बताउनुभयो ।
नेपालमा आसामी रातो, रातो र सेतो रंगको हनुमान लंगुर बादर पाइन्छ । आसामी रातो बादर संरक्षित स्तनधारी वन्यजन्तु हो । सेतो हनुमान लंगुर बादर एक–दुई वटाको संख्यामा मात्र भेटिन्छ । आसामी र रातो बाँदर भने समुहमा बस्छन् ।
यी बाँदरको हुल पसेपछि क्षणभरमै खेतीबाली खाने तथा नष्ट पारिदिने गर्छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको छ । बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् ।
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2022/07/IMG_4825.jpg)
वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु काम धन्दा छाडेर बाँदर धपाउन मै व्यस्त हुनु परेको छ । मल्लाजका किसानहरु बाँदर धपाउन खेतबारीको डिलमा छाप्रो नै बनाएर बस्ने गरेका छन् । केही स्थानीय तहले बादर स्थानान्तरण, धपाउने औजारको विकास र घास खेति गरेपनि सबै ठाउँमा यस्तो प्रयास हुन सकेको छैन् । बादर आतंक नेपालका धेरै ठाउँका कृषकको साझा समस्या हो । त्यसैले सरकारले दिर्घकालिन योजना र उपायको खोजी गरेर बाँदरको समस्या समाधान गर्नु आवश्यक भएको छ ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)