कोही किन शिक्षक तालिम लिओस्

Gandaki Pardesh notice

“कम्जोर शिक्षकले भन्छ । असल शिक्षकले ब्याख्या गर्छ । उच्च तहको शिक्षकले प्रदर्शन गर्छ । महान शिक्षकले प्रेरणा दिन्छ ।”

प्रकाश अधिकारी

गुरु र ईश्वरलाई सँगै देखें कसलाई प्रणाम गरौं अल्मलिएँ मैले त गुरुलाई नै प्रणाम गरें किनकि ईश्वर देखाइदिने आखिर गुरु नै त थिए । – हुमायन कबिर, बङ्गाली कवि

Shreekrishna hardwear in news

हतारिएको साहित्यको विद्यार्थी भएका नाताले म आक्क्लझुक्कल शहरका तारे होटलहरुका लन्च मिटिङ, तालिम र गोष्ठीहरुमा आमन्त्रित हुन्थेँ । जान्थेँ । शिक्षाका योजना, अनुगमन,मुल्याङ्कन, पाठ्यक्रम, पाठ्यपुस्तक, पेडागोजी सबै–सबैबारे बोल्थेँ । शिक्षा शास्त्रमै स्नातकोत्तर एउटा जिम्मेवार शिक्षक भएका नाताले अलिकति भएपनि शिक्षा क्षेत्रका बेथितीबारे पनि जानकार थिएँ । सार्वजनिक शिक्षाको गुणस्तरबारे स्वयम्ले जानकारहरुसंग रेडियो, टेलिभिजन कार्यक्रमहरुमा गम्भिरतापुर्वक जवाफ लिएको छु । सार्वजनिक शिक्षण संस्थालाई शिक्षा आर्जन गर्ने उत्कृष्ट थलोको रुपमा विकास गर्न के गर्न सकिएला भनेर कैयूँ पटक घोत्लिएको छु । जता हे¥र्यो उतै समस्या । सार्वजनिक शिक्षाका समस्या कहाँ–कहाँ रहेछ ? शिक्षाको गुणस्तर तलतल जानुमा को–को जिम्मेबार रहेछौँ ? शिक्षालाई समय सापेक्ष बनाउन कसले रोक्यो ? कसले छेक्यो ? नयाँ शैली, शिल्प, प्रविधि, विधि, नयाँ सोच, नयाँ अवधारणा अनुसार ‘स्टेट अफ द आर्ट’ र ‘प्याराडाइम सिफ्ट’मा शिक्षाको विकास गरिनु किन आवश्यकता छ ? शहरका निजि कलेजहरुमा साहित्य पढाइरहेको म पहिलोपटक माध्यमिक सामाजिक शिक्षक भएर म्याग्दीको ग्रामिण ठाँउमा पुगेँ पछि थाहा पाएँ ।
नेपाली बृहत् शब्दकोश भन्छ ः शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु, मास्टर नै शिक्षक हो । शिक्षक शब्दमा प्रयोग भएको अक्षर ‘शि’ ले शिखरमा लैजाने मान्छे , ‘क्ष’ ले क्षमा गर्ने ब्यक्ति र ‘क’ले कमजोरी दूर गर्ने ब्यक्ति जनाउँछ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले सूचना प्रवाहकर्ता, प्रवर्धनकर्ता, विद्यार्थीसँग सहकार्य गरि सिक्ने र सिकाइ संस्कृतिको खुल्ला बाताबरण सिर्जना गर्ने ब्यक्ति र आधारभुत शिक्षा पाठ्यक्रम २०६९ ले सिकाइ सहजीकरण प्रक्रियाको सहजकर्ता, उत्प्रेरक, प्रवर्तक र खोजकर्ता हो भन्छ भने शिक्षा ऐन २०२८,ले बिद्यालयको अध्यापक नै शिक्षक हो भन्छ । शिक्षक शब्द गुरुको पर्यावाची शब्द हो । यहाँ ‘गुरु’ को ‘गु’ ले अन्ंधकार र ‘रु’ ले तेज लाई जनाउँछ अर्थात्। ज्ञान रुपि प्रकाश दिएर अन्धकारलाई हटाउने ब्यक्ती नै गुरु मानिन्छ । त्यही अन्धकारलाई हटाउने आदर्श व्यक्तिनै अन्धकारलाई प्रेम गरेको घटनाहरुले म बेलाबेला विक्षिप्त हुने गरेको छु ।

असल र दक्ष शिक्षक बन्नका लागि पढ्न जान्ने भएर मात्र नहुने रहेछ । हरेक नयाँ पुस्ता नयाँ पुस्तक रहेछन्, तिनलाई पढ्ने लिपिका बाँन्कि, बनौट, तरिका, फरक–फरक हुन्छन । पुरानै बेद पढेको ढाँचाले त्यसलाई पढ्न सकिंदैन । पढ्न नसकेपछि पढाउन सक्ने कुरा भएन । पढाउन नसक्नेले सहजिकरण गर्न सक्न कुरा असम्भव प्रायः हुन्छ । यसका लागि नयाँ सीप, नयाँ अवधारण, नयाँ ज्ञान र नयाँ जाँगरको आवश्यकता पर्दछ । असल शिक्षक आफ्ना बालबालिकालाई समय, सीप, स्रोतसाधन, सम्बन्ध, सञ्चार, श्रम, सहमति र सहकार्यको अर्थ, महत्व, आर्जन, उपयोग र उपलब्धिको अनुभूति र अभ्यासको कसीमा खरो उतार्न सफल हुन्छ । वालवालिकालाई पढाउन शिक्षक स्वयं धार लगाएको हतियार जस्तै, मालिस गरिएको बन्दुक जस्तै योग्य र तालिमप्राप्त हुनु जरुरी छ, अन्यथा झारो टार्ने काम मात्र हुन्छ । अर्थात जर्ज बर्नाड शाले भने जस्तै “जसले काम गर्न सक्दैन, उसले पढाउँछ !”

कोही शिक्षक किन तालिम लिओस्

विलियम अर्थर वार्ड भन्छन्– “कम्जोर शिक्षकले भन्छ । असल शिक्षकले ब्याख्या गर्छ । उच्च तहको शिक्षकले प्रदर्शन गर्छ । महान शिक्षकले प्रेरणा दिन्छ ।” जसरी एक सफल ड्राइभर बन्न ड्राइभिङ लाइसेन्स चाहिन्छ । डाक्टर बन्न वर्षौको मेहनत चाहिन्छ । ठीक त्यसैगरी सफल शिक्षक बन्न समयसापेक्ष तालिम लिनु आवश्यक हुन्छ । शिक्षक तालिमले शिक्षकका गुण अवगुणदेखि सम्पूर्ण कुरा बुझ्न सजिलो बनाउँछ । यसका लागि निकै मेहनत,लगनशीलता र सिर्जनशिलता चाहिन्छ । विश्वका हरेक मुलुकमा शैक्षिक सत्रको सुरुमा शिक्षकहरुलाई एकहप्ता सम्मको शैक्षणिक कार्यशालामा राखिन्छ । कार्यशालामा नयाँ विषयवस्तु, वार्षिक कार्यनिर्धारण, शैक्षणिक उद्देश्य निर्धारण र कार्यविधिका वारेमा छलफल तथा दिशानिर्देश गर्ने गरिन्छ । शिक्षकहरु परिमार्जित भएर शिक्षण व्रिmयाकलापमा संलग्न हुन्छन । जसले उनीहरुको तिखारीएको शारीरिक र मनोगत बलले वालवालिको सिकाइ गतिविधिमा पनि तीव्रता ल्याउँछ । तर नेपालामा भने असार याममा खाए खा नखाए घिच जस्तै शिक्षक तालिमहरु संचालन हुने गरेका छन् । एकातिर भने अर्कोतिर शिक्षकहरु वर्षैपिच्छे तालिम लिने, तालिमका लागि तछाडमछाड गर्ने, तालिमको भत्ता र तालिमका प्रमाण पत्र बटुल्ने तर तालिमको सिकाइ तालिम हलमै छोडेर स्कूल फर्किने गरेका छन्, तालिमबाट केही सिकेको भए पनि त्यो सिकाइ आफ्नो कक्षा अध्यापनमा प्रयोग नगर्ने प्रवृति अर्को महामारी छ । करिब सत्य जस्तो लाग्ने यो आरोपले मेरो मुटु चस्स घोच्यो । सरकारको शिक्षामा लगानी माथीमाथी, स्तर कसरी तलतल भन्ने प्रश्नले निकै गिजोल्यो र यो आलेख लेख्ने दुष्साहस गरेको छु ।

लगानी माथीमाथी, स्तर कसरी तलतल ?

Bhautik ministry notice about road

शैक्षिक तािलम केन्द्र दमैलीको आयोजना, विस्तारित शाखा बेनीको समन्वयमा बैशाख देखि असार मसान्त सम्म निरन्तर रुपमा पेशागत विकास, प्रवोधिकरण तथा आइसिटि कस्टमाइज तालिम सम्पन्न भए । विस्तारित शाखा म्याग्दीका प्रशिक्षक झलक प्रसाद सुवेदीका अनुसार बेनी र बाग्लुङमा संचालित तालिममा म्याग्दी,पर्वत,बाग्लुङ र मुस्ताङका करिब एक हजार शिक्षकले पेशागत तथा आइसिटी तालिम लिएका छन् । शिक्षा मन्त्रालयको तथ्याङक भन्छ २ लाख १८ हजार ६ सय ३३ जना शिक्षकले तालिम लिएका छन् । कतिले त दोहोरो–तेहरो तालिम पनि लिएका छन् । यसमा म्याग्दी पनि अछुतो रहेन । सरकारले सेवामा प्रवेश गरेपछि १० महिने सेवाकालीन शिक्षक तालिम दिन्छ । १० महिने तालिम लिएकालाई पेसागत विकासका नाममा अर्को एकमहिने तालिम पनि दिने गरिएको छ । शिक्षाशास्त्र नै पढेका शिक्षकले त क्याम्पस र विश्वविद्यालयमै शिक्षण सीपसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान पाएका हुन्छन् । राष्ट्रिय पाठ्यक्रमले निर्धारण गरेको सिकाइ लक्ष्यलाई प्रभावकारी तरिकाले विद्यार्थीबीच प¥याउन ठूलो धनराशि खर्च गरेपनि शिक्षकले कक्षामा पु¥याउन सकेनन् भन्ने तितो सत्य हामी संगै छ । शैक्षिक नतिजा ओरालो लागे पनि शिक्षामा सरकारले हरेक वर्ष बजेट बढाइरेको छ । शिक्षाको बजेट सबैभन्दा बढि ८७ प्रतिशत बजेट शिक्षकको तलब–भत्ता र बाँकी शिक्षक तालिममा लगानी भइरहेको छ । सरकारले सरदर प्रतिशिक्षक वार्षिक १० हजार रुपियाँ तालिमका नाममा खर्च गरेको छ तर, शिक्षक तालिममा भएको लगानीको प्रतिफल एसईईको नतिजामा खोज्ने हो भने निराशा मात्रै हात लाग्छ । तालिम नै नपाउँदा पनि निजी विद्यालयका शिक्षकहरू एसईईमा ९० प्रतिशत हाराहारीमा नतिजा दिन सफल छन् । तर, सरकारी विद्यालयको उत्तीर्णदर ३० प्रतिशतभन्दा माथि मुस्किलले उक्लिन्छ । आखिर किन ? यो एक यक्ष प्रश्न हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अध्ययन अनुसार विद्यालयस्तरमा सिकाइ उपलब्धि कमजोर मात्रै छैन, झन्झन् ओरालो पनि लाग्दै छ । केन्द्रका अनुसार कक्षा ३ को नेपाली विषयको औसत सिकाइ उपलब्धि ४६ प्रतिशत छ, जुन तीन वर्षअघिको भन्दा ११ प्रतिशत कम हो । त्यस्तै, कक्षा ३ कै गणितको नतिजा ४१ प्रतिशत छ, जुन चार वर्षअघिभन्दा १३ प्रतिशत कम हो । कक्षा ५ को तीन वर्षअघिको नेपाली विषयको नतिजा ५४ प्रतिशत थियो भने गत वर्ष त्यो ४३ मा झ¥यो । कक्षा ५ कै तीन वर्षअघि गणितमा ४९ प्रतिशत उपलब्धि थियो भने पछिल्लो वर्ष ४५ प्रतिशतमा झ¥यो । अंग्रेजीको चार वर्षअघिको ६६ प्रतिशत थियो भने गत वर्ष ३८ मा झरेको केन्द्रको रि पोर्टमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्रका प्राध्यापक विनय कुसियत भन्छन्,“लगानी उभो लाग्नु तर नतिजा तल झर्नु दुखद हो । यसमा शिक्षकको शिक्षण शैली मुख्य रूपमा जिम्मेवार छ । तालिममा जाने र फर्केर लागू नगर्ने आमप्रवृत्तिको सिकार सरकारी विद्यालय भए ।”

शिक्षक ः सिक्छन्, सिकाउँदैनन्

सेरिडले गरेको अध्ययनले सरकारी शिक्षकले कक्षामा कम समय मात्र गुजारेको, तालिम लागू नगरेको र शैक्षिक सामग्री प्रयोग साह्रै कम गरेको तथ्य सार्वजनिक ग¥र्यो । त्यति मात्रै होइन, सेरिडको अर्को अध्ययनले तालिम प्राप्तले भन्दा तालिममै नलिएका शिक्षकले पढाएको विषयको उपलव्धी उच्च देखायो । यो सत्य थियो , खैलाबैला नै मच्च्यायो । अहिले नेपालमा सतप्रतिशत शिक्षकले तालिम लिएको सर्वेक्षणहरूले देखाएका छन् । तर, त्यसरी सिकेका सीप तिनले कक्षामा किन रूपान्तरण गर्दैनन् त ?
तालिममा सिकेको सीप कक्षामा लागू नगर्नुको कारणबारे प्रायः शिक्षकको जवाफ हुन्छ, तालिम लागू गर्न कक्षामा वातावरण नै छैन, कोर्स सकिँदैन, पढाउन समय पुग्दैन, शैक्षिक सामग्रीको अभाव छ आदि । दरबार हाई स्कुलका सहायक प्रधानाध्यापक आजादका अनुसार शिक्षकहरूले जानीजानी अटेर गरेर तालिम अनुसारको विधि लागू नगरेको बताउँछन् । जतिसुकै तालिम लिए पनि अधिक शिक्षक आफूलाई परिवर्तन गर्न तयार हुँदैनन् । उनी भन्छन्, “शिक्षकहरूले लेक्चर मेथड छोड्न चाहेका छैनन् । किनभने, यो सबैभन्दा सजिलो, केही गर्नै नपर्ने र पढपढ भन्दा पुग्ने तरिका हो ।”

रोष्टर प्रशिक्षक तथा मुलपानी मा.विका नेपाली शिक्षक इन्द्रा खड्काको बुझाइमा प्रभावकारी अनुगमन नहुनु प्रमुख समस्या हो । प्रशिक्षक झलक सुदेवीलाई पनि शिक्षकहरुले तालिम लिए नलिएको, लिएकाले के कति कक्षाकोठा प्रयोग गरे गरेन् भनेर अनुगमन नहुनु, परामर्श, पुरस्कार र दण्डको व्यवस्था नहुनु मुख्य समस्या लाग्छ ।

पाठ्यक्रम विकास केन्द्रका एक अधिकारीको बुझाइमाविद्यालयले शिक्षकलाई तालिममा सिकेका कुरा बाध्यकारी रूपमा कक्षामा लागू गर्न दबाब दिन नसक्नु प्रमुख कारण हो । भन्छन् “तालिम लिने शिक्षकमा जवाफदेहिता र जिम्मेवारीपनको असाध्यै कमी भयो । जे गरे पनि हुने अराजक मानसिकताले तालिमको सीप कक्षामा नपुगेको हो ।”

शिक्षकले तालिमलाई आफ्नो बढुवा र भत्ता खान मात्र उपयोग गरेको पाइएको छ । यसमा तालिम दिने र लिने दुवैले गम्भीर समीक्षा गर्ने बेला भएको शिक्षाविद्हरुको भनाइ छ । शिक्षाविद् भन्छन् यदि शिक्षकले तालिमबाट प्राप्त सीप प्रयोग गर्दैनन् भने त्यसमा जवाफदेही बनाउने कडा व्यवस्था गर्नुपर्छ । तालिम दिने तर लागू नगरे पनि हुने परिपाटीले तालिममा लगानी बालुवामा पानी भएको हो ।
सिंगापुर मोडलमा हेर्ने हो भने पनि विश्वविद्यालयमा राम्रो नम्बर ल्याउने विद्यार्थीलाई शिक्षक भर्ना हुनुअघि ‘फूल पेड’ तालिमको व्यवस्था हुन्छ । ४ वर्षे कार्यकाल हुन्छ; ४ वर्ष तालिम लिएर शिक्षकको रुपमा भर्ना हुन्छन् । सिंगापुरले १९७० देखि नै शिक्षामा अमूल सुधारका प्रयत्नहरू अगाडि बढायो ।

क्यानडा, फिनल्यान्ड, बेलायत, अमेरिकाको अभ्यास पनि हेरौँ । त्यहाँको शिक्षामा सुधार गर्ने भनेको शिक्षकलाई योग्य बनाउने हो भन्ने मनोविज्ञान (दर्शन)ले काम गरेको हुन्छ । तर, हामी शिक्षण पेसालाई मर्यादित बनाउन कति लगानी गरिरहेका छौँ; यो एउटा महत्त्वपूर्ण पाटो हो । हाम्रो लगानी ज्यादै कम छ । त्यही तहमा काम गर्ने शिक्षक पेसा र अन्य क्षेत्रमा सुविधा के छ ? त्यसलाई पनि तुलना गर्न जरुरी छ ।

अन्त्यमा,
भर्खरै मलेपको प्रतिवेदन, २०७९ ले हालको शैक्षिक गुणस्तर हेर्दा शिक्षक सेवा आयोगले शिक्षकको योग्यतामा पुनरावलोकन गर्नुपर्दछ भनेको छ । यस्तो किन भनियो ? हाम्रो प्रणालीले नै सबैभन्दा कमजोर विद्यार्थीलाई शिक्षाशास्त्र पढ्ने अनि शिक्षक बन्ने अवसर दिएको छ । अन्य विषय पढ्न नसके मात्र शिक्षाशास्त्र पढ्ने अनि अन्य क्षेत्रमा असफल भएमात्र शिक्षणमा प्रवेश गर्ने परिपाटीले पनि भइरहेका शिक्षकहरुको दक्षता र क्षमतामा शंका गर्ने प्रशस्तै ठाउँ दिएको हो । यसमा नीतिमार्फत् नै पुनर्विचार गरिनुपर्छ । तालिममा जति लगानी गरिएको छ, त्यसअनुसार प्रतिफल आएकै छैन । सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने हामी शिक्षकहरु पनि तालिममा सिकेका कुरा कक्षाकोठामा पुर्याउन चुकिरहेका छौँ । जसोतसो तालिम त लियौँ, तर, कक्षाकोठामा प्रयोग गर्न सकेनाँै । अव थप जिम्मेवार र उत्तरदायी हुने वेला आएको छ । हाम्रा विद्यालयहरुको शैक्षिक स्तर र हामीले पाएको तालिमबीच तालमेल पनि त देखिदैन । यसलाई आम शिक्षकले गम्भीर रुपमा लिनुपर्दछ । सरोकारवाला पक्षहरुले पनि शिक्षकलाई गाली हैन, माया गरेर,सबैलाई मिलाएर, नियमित अनुगमन, हौसला र प्रेरणा दिएर, मौद्रिक र गैरमौद्रिक सुविधाहरु बढाएर, स्रोतसाधन उपलव्ध गराएर, शिक्षकलाई सँगै लिएर अघि बढ्दा नतिजा राम्रो आउन सक्छ । यसका लागि विषयगत तालिमको साथसाथै शिक्षकहरुको उत्प्रेरणा बढाउने तालिमहरु प्रदान गर्नु जरुरी छ ।

अधिकारी युवा लेखक, पत्रकार एवम् गौ बोमबस्त मा.वि देविस्थानका सामाजिक शिक्षक हुन् । इमेल ः [email protected]

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...