रत्नेचौरका कृषक रोपाई रोकेर नहर मर्मतमा

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा पहिरोले नहर भत्किएपछि धान रोपाई रोकिएको छ ।

तेईस साले सिचाई आयोजनाको नहर भत्किएपछि रत्नेचौरमा मुख्य खाद्यबाली धान रोपाई प्रभावित भएको हो । शुक्रबार र शनिबारको बर्षातपछि जमिन भासिएर आयोजनाको मुहान नजिकै र पन्थेको कटेरो भन्ने ठाउँमा १३० मिटर नहर भत्किएको छ ।

रत्नेचौर तेइससाले सिचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बोगटीले पानी नभएपछि कृषकहरु रोपाई रोकेर नहर मर्मत र पुननिर्माणमा जुटेको बताउनुभयो । “रोपाई शुरु गर्न थालिएको थियो । पहिरोले नहर बगाएपछि पानी नभएर रोकिएको छ,” उहाँले भन्नुभयो “मुहान मर्मत र २०० एमएमको चार वटा पाइप राखेर एउटा पहिरो कटायौ फेरी नयाँ पहिरोले नहर भासिएपछि समस्या भयो ।”

Shreekrishna
Gunasthariya Shiksya

दैनिक ८० देखि ९० जनाका दरले श्रमदान गरेर सिचाई आयोजना मर्मत र पुननिर्माणमा जुटेका छन् । नहर भत्किएको र भासिएको ठाउँबाट पानी तार्न थप ३५ मिटर २०० एमएमको २ वटा एचडी पाइप राख्नुपर्ने अध्यक्ष बोगटीले बताउनुभयो । पाइप खरिद गर्ने आर्थिक स्रोतको अभाव भएको उहाँले बताउनुभयो ।

पानी अभावका कारण रत्नेचौर, भुवाने, नाङ्लीवारीको खेतमा रोपाई प्रभावित भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले क्षति पुगेको नहरको अध्ययनका लागि आइतबार प्राबिधिकलाई निरिक्षणका लागि पठाएको बताउनुभयो ।

“भत्किएको र भासिएको ठाउँमा तत्काललाई पाईप राखेर पानी तारेर खेत रोप्ने व्यवस्था मिलाउन अध्ययनका लागि प्राविधिकलाई पठाएका छौ,” उहाँले भन्नुभयो “सिचाई नहर पुननिर्माण र मर्मतका लागि आगामी आर्थिक वर्षका लागि बजेट बिनियोजन गरेका छौ ।”

वि.स. २०२३ सालमा निर्माण भएको आयोजनाको नहर २०७४ मा पुननिर्माण गरि पक्की बनाइएको थियो । ढोडेनी खोलाको बागलुङ र म्याग्दीको सिमानामा पर्ने ठुलोखोला भन्ने ठाउँमा यो आयोजनाको मुहान छ । तीन किलोमिटर नहर बनाएर रत्नेचौरमा पानी ल्याएर सिचाई गरिदै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...