राहुघाट थुनिएर बनेको तलाउको जोखिम अध्ययन

Gandaki Pardesh notice


बेनी, । जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले राहुघाट नदी थुनिएर बनेको तलाउको जोखिमको अवस्थाको बारेमा स्थलगत गरेको छ ।
२०७८ भदौ १० गते रघुगंगा गाउँपालिका–६ रायखोर र मुलपानी बिचको पहिरो खसेर चिमखोलाको गौडामुनी क्षेत्रमा राहुघाट नदीमा तलाउ बनेको थियो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको नेतृत्वमा सुरक्षा अधिकारी, जनप्रतिनिधी र सम्बद्ध कार्यालयका प्रतिनिधीहरुको टोलीले बिहिबार तलाउको स्थलगत निरिक्षण र अनुगमन गरेको हो ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारी, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक तिलक भारती, शसस्त्र प्रहरीका डिएसपी हरिबहादुर गुरुङ, नेपाली सेना, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतको म्याग्दी सम्पर्क इकाईका सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्र, राहुघाट जलविद्युत आयोजनाका प्रमुख राज बिष्ट, रघुगंगा–७ का अध्यक्ष थकबहादुर पाइजा (रिम) सहितको टोली ताल अध्ययनका लागि गएको थियो ।
अध्ययन टोलीमा सहभागी शसस्त्र प्रहरीका डिएसपी गुरुङले राहुघाट नदी थुनिएर बनेको तलाउ प्राकृतिक रुपमा खुलेको र तालको कारण तत्काल जोखिम नदेखिएको निष्कर्ष निकालिएको बताउनुभयो ।
“पहिरो र नदीको चिमखोला तर्फको भागमा भएको ठूलो ढुङ्गाका कारण जोखिम भएको सूचना आएपछि स्थलगत अध्ययनमा गएका हौ,” उहाँले भन्नुभयो “तत्काललाई ताल र ढुङ्गाका कारण जोखिम नभएको तर सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेर फर्कियौ ।”
करिब एक किलोमिटर लामो, १५ मिटर चौडाई र १० मिटर गहिरो तलाउ बनेको थियो । सो तलाउ प्राकृतिक रुपमा घटेकाले फुटेर बाढी आउने जोखिम घटेको हो । राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो ।

राहुघाटको तटीय क्षेत्रमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत आयोजनाको बिद्युतगृह, ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माणाधिन छन् । बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ ।
कालीगण्डकी, म्याग्दी र रघुगंगा जलाधार क्षेत्रमा बिभाजित म्याग्दीमा बर्षेनी पहिरोले नदी थुनिने, बाढी आउने र कटान गर्ने समस्या छ । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतको म्याग्दी सम्पर्क इकाईका प्रमुख सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रले कमजोर भूगोल र भिरालो जमिन भएको म्याग्दीमा गहिरिएर बगेका नदी थुनिने जोखिम धेरै भएको बताउनुभयो ।

“खोला भन्दा माथिल्लो क्षेत्रको जमिन धेरै भिरालो मात्र होइन पहाडको चट्टान र माटो कमजोर छ,” उहाँले भन्नुभयो “अत्याधिक बर्षा, भूकम्प, बिकास निर्माण जस्ता प्राकृतिक र मानवीय कारणले जमिन असन्तुलित भएर पहिरो खस्दा साँघुरो भइ गहिरिएका खोला थुनिएका हुन् ।”

Shreekrishna hardwear in news

म्याग्दीमा बर्खा र हिउँद याम दुबै समयमा पहाड भत्किएर तथा पहिरो खसेर नदी थुनिएको इतिहाँस छ । बर्खामा बर्षातको कारण खसेको पहिरोले नदी थुनिने गर्छ । बि.स. २०७२ जेठमा बैसरी, २०५६ असोजमा भुरुङ्ग–तातोपानी, २०४५ असोजमा छ्यारछ्यारे, २०४२ मा दाना, २०७३ मा बेगखोला, २०६८ मा पाखापानीको औल, २०७५ मा मराङखोला र रघुगंगा, २०७७ मा अन्नपूर्णको रुप्से, मंगलाको हिलवाङखोला थुनिदाँ ठूलो जनधनको क्षति भएको थियो ।

Bhautik ministry notice about road

भूकम्पले चर्किएको अन्नपूर्ण गाउँपालिकाको काफलडाडाँ स्थित पहाड सहित खसेको पहिरोले ३० घरधुरीको बसोबास भएको रघुगंगा गाउँपालिकाको बैसरी पुरिनुका साथै कालीगण्डकी नदी १८ घण्टा थुनिएको थियो । म्याग्दी नदीलाई करिब एक घण्टा थुनेको र सिंगो बस्तीनै पुरेको छ्यारछ्यारेको पहिरोले १०४ जनाको ज्यान लिएको थियो ।

बेगखोला थुनिएर आएको बाढीले बि.स. २०७३ भदौमा एक जना मानिस, ११ वटा घर, झोलुङ्गे पुल र बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको थियो । मालिका गाउँपालिकाको रितुङ, रघुगंगाको घारखोला, अन्नपूर्णको निलगिरी, घलेम्दी, दोवाखोला पनि थुनिने गर्छन् । कमजोर भूबनोट र भिरालो जमिन भएको ठाउँमा जलबिद्युत आयोजना निर्माणका लागि गरिएको बलास्टिङ र सडक निर्माणका क्रममा डोजर चलाउँदा हुने कम्पनले जमिनलाई हलचल गराएको छ ।

म्याग्दीका अधिकांश बस्ती नदीको तटीय क्षेत्र र पहाडको शिरमा छन् । सहायक नदीमा आउने बाढी म्याग्दी र कालीगण्डकी नदीमा मिसिन्छ । २०७५ भदौ अन्तिममा बगरखोला भन्ने ठाउँमा खसेको पहिरोका कारण राहुघाट नदी थुनिएर आएको बाढीले झोलुङ्गे पुल, घ्याँसीखर्कको रितुङ माबिको भवन, केही घर, गलेश्वर र बेनी बजार संरक्षणका लागि निर्माण भएको तटबन्ध बगाएको थियो ।

२०७७ को साउनमा अन्नपूर्णको दाना स्थित रुप्से खोलामा पहिरो खसेपछि आएको बाढीले रुप्सेको एउटा रिसोर्ट, एक वटा एक्साभेटर, बस बगाउनुका साथै निर्माणाधिन मोटरेबल पुल, पर्यटकीय स्थल रुप्से झरना र संसारकै गहिरो अन्धगल्छीलाई तहसनहस पारेको थियो ।

सदरमुकाम बेनी, मालिकाको दरबाङ, मंगलाको बाबियाचौर, सिंगा, भूरुङ्ग तातोपानी, पोखरेबगर, तिप्ल्याङ, घुमाउने ताल, राहुघाट, घ्याँसीखर्कका बस्तीमा बर्षेनी कटान हुने गरेको छ । बस्तीसँगै जलबिद्युत आयोजनाका बाँध, सिचाई आयोजनाका नहर, सडक, मोटरेबल पुल र झोलुङ्गे पुलमा बाढीले क्षति गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...