अन्नपूर्णमा एमाले–काँग्रेसको टक्कर

Gandaki Pardesh notice

सन्तोष गौतम
पोखरेबगर, । स्थानीय तह निर्वाचनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका उमेद्वारहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि एमाले र काँग्रेसका उमेद्वारहरु चुनावी मैदानमा उत्रिएका हुन् । ८ वटा वडा रहेको अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सचिवमा ४२ पदका लागि ९८ जनाको उमेद्वारी परेको छ । गाउँपालिका अध्यक्षमा ४ र उपाध्यक्षमा ३, वडा अध्यक्षमा २३, खुल्ला वडा सदस्यमा ३५, महिला सदस्यमा १७ र दलित महिला सदस्यमा १६ जनाको मनोनयन दर्ता भएको छ ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका भारतकुमार पुन, नेपाली काँग्रेसका बलबहादुर तिलिजा पुन, राप्रपाका तिर्थबहादुर खड्का र नेशनल मंगोल अर्गनाइजेशनका रामबहादुर गर्बुजाले मनोनयन दर्ता गराउनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेका दिवाकुमारी पुन, नेपाली काँग्रेसका ललिता तिलिजा पुन र नेशनल मंगोल अर्गनाइजेशनका एलिना पुर्जा शेरपुञ्जाले मनोनयन दर्ता गराउनुभएको छ । १४ मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपूर्ण गाउँपालिकामा १२ हजार २६ जना मतदाता छन् ।

Shreekrishna hardwear in news

वडा नम्बर १ मा एमालेका दिलिपकुमार गर्बुजा र काँग्रेसका भबिन्द्र गर्बुजा, २ मा एमालेका ओम फगामी र काँग्रेसका रेखिराम पुर्जा, ३ मा एमालेका रमेश फगामी र काँग्रेसका सुरत केसी, ४ मा एमालेका तेज गुरुङ र काँग्रेसका लोकबहादुर फगामी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

५ मा एमालेका बिसन राना र काँग्रेसका राजेश तिलिजा, ६ मा एमालेका भक्तबहादुर खड्का र काँग्रेसका रामबहादुर खड्का, ७ मा एमालेका माइलन पुर्जा र काँग्रेसका गमबहादुर फगामी, ८ मा एमालेका खमबहादुर गर्बुजा र काँग्रेसका रबी गर्बुजा प्यानल सहित चुनावी मैदानमा उत्र्नुभएको छ । नेशनल मंगोल अर्गनाइजेशनले पनि वडा नम्बर १, ५, ६ र ७ नम्बर वडामा अध्यक्ष सहितको पदमा उमेद्वार खडा गरेको छ । विगतको नतिजा र संगठनलाई आधार मान्दा यसपालीको चुनावमा एमाले र काँग्रेसका उमेद्वारहरुबीचनै प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

वडा नम्बर १ मा एमालेका दिलिपकुमार गर्बुजा, ७ मा काँग्रेसका गमबहादुर फगामी र ८ मा एमालेका खमबहादुर गर्बुजाले दोस्रो कार्यकालका लागि वडा अध्यक्ष बन्न उमेद्वारी दर्ता गराउनुभएको छ । अघिल्लो चुनावमा माओवादी केन्द्रवाट २ नम्बर वडाको अध्यक्षमा निर्वाचित ओम फगामी यसपाली एमालेबाट सोही वडाको उमेद्वार बन्नुभएको छ ।

वडा नम्बर ५ को लामो समय कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी निर्वाह गरेका काँग्रेसका राजेश तिलिजा पुनले पनि दोहोराएर उमेद्वार बन्नुभएको छ । यसअघि वडा नम्बर ६ घारको वडा सदस्य रहेका रामबहादुर खड्का नेपाली काँग्रेसबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिका ३ को दलित महिला सदस्यमा संगिता सार्की बिक र वडा नम्बर ५ को खुल्ला सदस्यमा पुर्णबहादुर पाइजाले नेकपा माओवादी केन्द्रको तर्फबाट मनोनयन दर्ता गर्नुभएको छ । यी दुई वटामा माओवादीले उमेद्वार उठाएको ठाउँमा काँग्रेसले उमेद्वार उठाएको छैन ।

को हुन अध्यक्ष र उपाध्यक्षका उमेद्वार ?

भारतकुमार पुन, एमालेबाट अध्यक्षका उमेद्वार

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ औलाका ५५ वर्षीय पुनले शिक्षा शास्त्र संकायमा स्नाकोत्तर गर्नुभएको छ । वि.स. २०४८ मा अनेरास्ववीयू देखि राजनीतिक यात्रा थालेका पुन २०५३÷५४ मा एमालेको जिल्ला कमिटिको सचिवालय सदस्य बन्नुभएको थियो । २०५३ मा रिमको आदर्श माविमा अध्यापन गराउन थालेका पुनले त्यहाँ ७ वर्ष प्रअ भएर काम गर्नुभयो । तत्कालीन शिक्षा कार्यालयको स्रोत व्यक्तिको रुपमा १३ वर्ष काम गरेका पुनले अन्नपूर्ण गाउँपालिकाको शिक्षा शाखा संयोजक पदबाट राजिनामा दिएर चुनावी मैदानमा आउनुभएको हो । उहाँले ४ वर्ष शिक्षा शाखा संयोजकको रुपमा काम गर्नुभएको थियो । शिक्षकहरुलाई बालमैत्री र प्रबिधिको प्रयोग गरेर अध्यापन गराउने बिधीको प्रशिक्षक समेत रहेका पुनले नेपाल मगर संघ लगायतका संघ संस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा काम गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ स्वातका ६३ वर्षीय तिलिजा भारतीय गोर्खा सैनिकको सेवा निवृत्त क्याप्टेन हुनुहुन्छ । १८ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भएर २८ वर्ष त्यहाँ सेवा गरेर स्वदेश फर्किएका तिलिजा वि.स. २०६५ देखि सामाजिक गतिबिधीमा सक्रीय हुनुहुन्छ । तिलिजा नेपाली काँग्रेसको अन्नपूर्ण गाउँपालिका सभापति हुनुहुन्छ । शिख्तानी समाज पोखराको चौथो कार्यकालको नेतृत्व गरेका तिलिजाले रु. पाँच करोड भन्दा बढी चन्दा संकलन गरेर शिख माविको कक्षा कोठा भवन पुननिर्माण, स्वात, फलातेमा बास्केटबल खेलमैदान, स्वाँत बाघखोर जोड्ने सडक निर्माण गर्ने लगायतका कामको अगुवाई गर्नुभएको छ । १०० जना भन्दा बढी जटिल रोगबाट थलिएकाहरुको उपचारमा सघाएको तिलिजाले नेतृत्व गरेको संस्था मार्फत अन्नपूर्ण गाउँपालिकामा कोरोना महामारी र बाढी पहिरोको विपद्को अवस्थामा पनि सहयोग भित्र्एको थियो ।

Bhautik ministry notice about road
दिवाकुमारी तिलिजा पुन, एमालेका उपाध्यक्षका उमेद्वार

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ पाउद्धारकी ५१ वर्षीय पुन गैरसरकारी क्षेत्रबाट राजनीतिमा आउनुभएको हो । ग्रामिण विकासमा स्नाकोत्तर गरेकी पुन गैरसरकारी संस्था मिलन म्याग्दीमा २०५८ देखि आवद्ध हुनुहुन्छ । एक पटक अध्यक्ष समेत भएकी पुन मिलनको कार्यकारी निर्देशकबाट राजिनामा दिएर गाउँपालिका उपाध्यक्षको उमेद्वार बन्नुभएको हो । महिला अधिकार मञ्च, मानव अधिकार एलायन्स लगायत फोरममा रहेर काम गरेकी पुन एमाले निकट अनेमसंघको केन्द्रिय सदस्य हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ८ नागीकी ३१ वर्षीय तिलिजा नेपाली काँग्रेसको गाउँपालिका सहसचिव र जिल्ला कार्यसमितिको सदस्य तथा नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको कोषाध्यक्ष हुनुहुन्छ । नांगीको आमा समूह, सहकारीको पदाधीकारीमा रहेर काम गरेकी तिलिजासँग उपभोक्ता समितिको नेतृत्व गरेर काम गर्नुभएको अनुभव छ । नागीको आमा समूहको पाँच वर्षे कार्यकालको नेतृत्व भर्खरै हस्तान्तरण गरेकी तिलिजाले दर्जनौ उपभोक्ता समितिमा रहेर काम गर्नुभएको छ । नागीको सहचिव रहेकी तिलिजासँग सामुदायिक लजको कोषाध्यक्षको पदमा बसेर काम गरेको अनुभव छ ।

उमेद्वारका प्राथमिकता

पर्यटन, जलविद्युत र कृषि क्षेत्रमा सम्भावना रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उमेद्वारहरुले सडक, भवन, खानेपानी लगायत पूर्वाधारका साथै शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार एवम् आयआर्जन वृद्धीका योजनालाई प्राथमिकता दिने योजना अघि सारेका छन् ।

एमालेका पुनले कर्मचारी र जनप्रतिनधीहरुबीचको दुरी घटाएर सेवा प्रवाहमा सहज बनाउने, गाउँपालिकाको पञ्चवर्षीय योजना बनाउने, तत्कालै प्रशासनिक भवन बनाउने र गाउँपालिकाको केन्द्र देखि वडा र बस्ती जोड््ने सडकलाई पाँच वर्षभित्र कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

“विश्वास र समन्वयको वातावरण सिर्जना गरि गाउँपालिकाको सेवा प्रवाहलाई सहज बनाउने प्रमुख प्राथमिकता हुनेछ,” पुनले भन्नुभयो “६ महिना भित्र गाउँपालिकाको विकास प्रस्ताव योजना बनाएर त्यस अन्तरगत प्रशासनिक भवन बनाउने र वडा जोड्ने सडक कालोपत्र गर्ने योजना छ ।”

काँग्रेसका तिलिजाले सबै वडाका सडकको डिपिआर बनाएर सुधार गर्ने, स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, विद्यालयको भौतिक पूर्वाधार र दलित, विपन्नको समस्या समाधान, बाढी, पहिरो पिडित र सुकम्बासीको समस्या समाधानमा जोड दिने बताउनुभयो ।

“सेवानिवृत्त भएपछि करिब पाँच करोड चन्दा उठाएर गाउँको शिक्षा, सडक, खेलमैदान, भवन लगायत विकास पूर्वाधारमा परिचालन गरे,” उहाँले भन्नुभयो “चन्दा उठाएर विकास सम्भव देखिएन् । राज्यकै स्रोत साधन भित्र्याएर अन्नपूर्णको विकास गर्नुपर्छ भनेर उमेद्वार बनेको हो ।”

एमालेका उपाध्यक्षका उमेद्वार तिलिजाले भौतिकसँगै आर्थिक, सामाजिक रुपान्तरण, कृषि, पर्यटन र लघुउद्यमको विकास तथा रोजगारी सिर्जनामा जोड दिने बताउनुभयो । काँग्रेसकी उपाध्यक्षकी उमेद्वार तिलिजाले युवा, महिला र विपन्नका मुद्दालाई प्राथमिकता दिने योजना तथा कार्यक्रम ल्याउने बताउनुभयो ।

विगतको परिणाम

वि.स. २०७४ मा भएको स्थानीय तह चुनावमा काँग्रेसले अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष र चार वटा वडा जितेको थियो । एमालेले तीन र माओवादीले एक वटा वडा जितेका थिए । एमालेका वडा अध्यक्षका उमेद्वारहरुले २९८६ मत ल्याउँदा अध्यक्षका उमेद्वार नारायण पुनले ३१२७ र उपाध्यक्षका उमेद्वार दुर्गादेवी पाइजाले ३१८६ मत पाउनुभएको थियो । अन्नपूर्णको अध्यक्षमा काँग्रेसका डमबहादुर पुनले ३३२० र उपाध्यक्षमा केशमाया मगरले ३२४५ मत ल्याएर बिजयी हुँदा वडा अध्यक्षका उमेद्वारहरुले ३३३४ मत ल्याएका थिए ।

माओवादीका पालिका अध्यक्षका उमेद्वारले २८५ मत ल्याउँदा वडा अध्यक्षकाले ३२२ मत पाएका थिए । माओवादी निर्वाचित वडा नम्बर २ का अध्यक्ष ओमप्रकाश फगामी लगायतका नेताहरु यसपाली एमालेबाट उमेद्वार बनेका छन् । सोही वडाको सदस्यमा माओवादीबाट निर्वाचित वुद्धी पुन काँग्रेसमा प्रवेश गर्नुभएको छ । फगामी एमालेमा गएपछि काग्रेसले २ वटा वडा सदस्यमा माओवादीलाई सघाउने गरि उमेद्वार बनाएको छ ।

चुनावी परिणाम आफ्नो पक्षमा पार्न यसपाली अध्यक्ष, उपाध्यक्षमा उमेद्वार नभएको माओवादीको जनमत आकर्षित गर्ने, आफ्ना मत सुरक्षित गर्दै, स्वतन्त्र मतदातालाई आकर्षित गराउन एमाले र काँग्रेसले ध्यान केन्द्रित गरेका छन् । नयाँ पार्टीको रुपमा उदाएको नेशनल मंगोल अर्गनाइजेशन र राप्रपाका उमेद्वारलाई आफ्ना मत जान नदिन पनि उहिरुले रणनीति बनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...