विकास र विपद् ब्यवस्थापनमा ‘बिम मोडेल’का अगुवा रेशम जुग्जाली

Sinchai Khanipani notice

बिम÷ वि.स. २०७७ असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा ९ र धवलागिरी गाउँपालिका–६ मराङमा २१ जनाले ज्यान गुमाए । दुवै वडाका एक÷एक जना बेपत्ता छन् । बिममा पहिरोले ३३ वटा घर पूर्ण रुपमा क्षति पुगे । सडक, खानेपानी, पैदलमार्ग, सिचाई र विद्युत लगायत सार्वजनिक भौतिक संरचना क्षतविक्षत बनायो ।

पहिरोले छियाछिया बनाएको पहाड, भत्किएका, वगेका र पुरिएका घर, सडक, पैदलमार्ग, बिद्युत, खानेपानी आयोजनामा भएको क्षतिको भयावह अवस्थाले बिम पुरानै लयमा फर्कन दशौ वर्ष लाग्ने धेरैले अनुमान गरेका थिए ।

२०७७ असार २५ र २६ गतेको पहिरोले छियाछिया बनाएको मालिका गाउँपालिकाको बिम । फाइल तस्विर
Shreekrishna hardwear in news

म्याग्दीकै अन्य ठाउँ र देशका धेरै बाढी पहिरो पिडितहरुको वर्षौ सम्म पनि व्यवस्थापन र पुनःनिर्माण हुन नसकेको देखेर यस्तो सोच आउनु अनौठो थिएन् । अझ त्यसमाथी भौगोलिक विकटता, प्रतिकुल भूगोल, कोरोना महामारीको प्रतिकुल अवस्था । अनेकन् चुनौतिका बीच बिम एकै वर्षमा पहिलेकै अवस्थामा फर्कनुको जस त्यहाँका जनप्रतिनिधी, अगुवा र सर्वसाधारणलाई जान्छ ।

विपद् ब्यवस्थापनमा नमुना

पहिरोले पुर्ण क्षति भएका ३३ मध्य ३२ वटा घर गत असारमै पुननिर्माण भएका थिए । सुरक्षित ठाउँमा जग्गा र किन्न सक्ने क्षमता नभएका १० घरपरिवारलाई बिम मालिका संघले तल्लोबोटमा बीस लाख रुपैयाँमा खरिद गरेको ५ रोपनी ११ आना जग्गामा म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पचास लाख रुपैयाँ खर्चेर एकिकृत बस्ति निर्माण गरेका थिए ।

विमको मोना बस्ती एकिकृत वस्तीको अवधारणाको नमुना पनि हो । जनप्रतिनिधीको अगुवाइमा जग्गा पहिचान र ब्यवस्थापन भएपछि दाताले छिटो काम गरेर बस्ती बसाउन सफल भएका हुन् । पानी, बिजुली जडानमा गाउँपालिकाले सघाएको थियो ।

बिम मालिका संघले उपलब्ध गराएको २९ लाख, इन्द्रेणी सांस्कृतिक कार्यक्रमले जुटाएको २७ लाख र वडाको बिपद् ब्यवस्थापन खातामा संकलित दुई लाख ७५ हजार रुपैयाँ २१ परिवारलाई घर पुननिर्माणका लागि दुई लाख पचास हजार रुपैयाँका दरले बितरण गरिएको थियो । गाउँपालिकाले प्रतिघर थप पचास हजार रुपैयाँका दरले उपलब्ध गरायो ।

अन्यत्र घर भएका एक जनाले बिममा पुननिर्माण गरेनन् । सरकारले मनसुनजन्य बिपद्बाट क्षति पुगेका हिमाली जिल्लाका घर पुननिर्माण गर्न पाँच लाख रुपैयाँका दरले उपलब्ध गराउने अनुदान बितरण गर्न गत बैशाखमा कार्यबिधी ल्याएपनि हालसम्म पुरा बजेट पठाएको छैन् । गाउँपालिकाका प्राबिधिकहरुले तय गरेको मापदण्ड अनुसार सरकारी अनुदान नआउदै प्रति परिवार तीन वटा कोठा भएको घर र शौचालय बनाएका छन् ।

वडाका जनप्रतिनिधीको पहलमा पहिचान, बिम मालिका संघको सहयोगमा खरिद भएको जग्गामा म्याग्दी प्रवासी नेपाली संघले बनाएको पहिरो पिडितको एकिकृत बस्ती । तस्विर धौलागिरी खबर

अनुदानको आश गर्दा ढिला र झञ्जट हुने भएकाले दाताको सहयोगका साथै आफ्नै स्रोतबाट पिडितले घर निर्माण गरे । घरवास गुमाएकाहरु पनि अयन्त्र जस्तो बर्षौसम्म त्रिपालको टहरामा बस्न परेन् । जनप्रतिनिधीहरुले अगुवाई गरेर गाउँका खाली घरमा ब्यवस्थापन गरिदिएका थिए ।

पहिरोले क्षति पु¥याएको दरवाङ–बिम सडक डेढ महिनामै मर्मत भयो । लिफ्ट खानेपानी आयोजनालाई पहिरोले क्षतिविक्षत बनाएको थियो । पुरानो आयोजनाको मुहानको पानी पुराना र नयाँ टंकीमा हालेर लिफ्ट आयोजनाको निजी धाराबाट करिब बीस दिनमा खानेपानी आपुर्ति गराउन थालिएको थियो । शिवरात्री खोलामा बाढीले बगाएको स्टिल ट्रस बाहेकको पुननिर्माणको काम सकिएको छ । हाल काठको अस्थायी पुल रहेको शिवरात्री खोलामा पक्कि पुल निर्माण हुने हल्लाले झोलुङ्गे पुल बनाउन ढिलाई भएको हो ।

वडा अध्यक्ष जुग्जाली आफै युवाहरुलाई साथमा लिएर सडक, विद्युत र खानेपानी मर्मतमा खटिनुभएको थियो । जनप्रतिनिधीले सही नेतृत्व दिन सक्ने हो भने जस्तोसुकै जटिल र अप्ठ्यारो परिस्थितिलाई अनुकुलतामा रुपान्तरण गर्न सकिने बिमको विपद् ब्यवस्थापन अभ्यासबाट पाठ सिक्न सकिन्छ ।

विकासमा जनसहभागिता

विपद् ब्यवस्थापनमा मात्र नभएर बिम विकास आयोजना सञ्चालनका क्रममा पनि जिल्लामै नमुना मानिन्छ । धेरै ठाउँका विकास आयोजना जेठ लागेपछि शुरु हुन्छ । असारमा हतार हतारमा टालटुले काम गरेर बजेट सकिन्छ । खेतबारीको काममा व्यस्त हुने नागरिकले बजेट र योजनाका बारेमा मेसो पाउदैनन् । तर बिममा चालु आर्थिक वर्षका अधिकांश योजना चैत महिनामै सम्पन्न भएका छन् ।

वडा सदस्य वुद्धीबहादुर जुग्जालीले भदौ असोजमै टोल टोलमा पुगेर आमभेला गरेर उपभोक्ता समिति गठन गरेर हिउद लाग्ने वित्तिकै काम थालिदा प्राय बर्ष चैत बैशाखमै सम्पन्न गरिएको बताउनुभयो । जनसहभागिता पनि बिममा बढीनै हुने गरेको छ । स्थानीयबासीहरुनै योजनामा श्रमदानका साथै मजदुरको रुपमा काम गर्छन् । त्यसरी काम गर्दा उनिहरुले ज्याला पाउँछन् ।

बिमको लुरवांगमा पदमार्ग निर्माण गर्दै स्थानीयबासीहरु । तस्विर धौलागिरी खबर

योजना प्रति अपनत्व कायम भएको छ । रोजगारी सिर्जना भएको छ । युवाहरु कुटो, कोदालो, गल, घन बोकेर विकासका काम गरिरहेका भेटिन्छन् । जिल्लाका कतिपय गाउँमा पुग्दा युवाहरु क्यारेमबोर्ड, लुडो र तास खेलेर भुलेको देखिन्छ । २०७६ चैत ११ गतेदेखि लकडाउन हुँदा बिमका युवाहरुले गाउँलाई सुरक्षित बनाउदै जंगलमै बास बसेर मालिका धुरी जोड्ने पदमार्ग बनाएका थिए ।

‘उपभोक्ता समितिमा आफ्ना मान्छेलाई ब्यवस्थापन गर्ने थलो बनाउदा कुरा बिग्रन्छ,’ जुग्जाली भन्नुहुन्छ ‘आम भेलाबाट चुनिने जो सुकैलाई उपभोक्ता समितिको नेतृत्व दिदाँ काम गर्न साथ पाउने, निगरानी र सुझाव दिएर कमजोरी हुँदा सुधार र गुणस्तरीय बनाउन सकिदो रहेछ् ।’ पाँच वर्षको अवधिमा कोरोनाका कारण पछिल्लो दुई आर्थिक वर्षमा तालिम गोष्ठि सम्बन्धी बाहेकका अरु सबै योजना कार्यान्वयन गरिएको वडा सदस्य जुग्जालीले बताउनुभयो ।

बिमको किसानी प्राविधिक शिक्षालयका विद्यार्थीहरु । तस्विर धौलागिरी खवर

मालिका गाउँ कार्यपालिकाको भौतिक पुर्वाधार समितिको संयोजक समेत भएका वडा अध्यक्ष जुग्जाली मात्र नभएर बिमका पाँचै जना जनप्रतिनिधी टोल बाँडेर योजना कार्यान्वयन, सहजिकरण र अनुगमनमा हिड्ने गरेका थिए । प्रायजसो वडाका अध्यक्षहरु सदस्यले साथ नदिएको गुनासो गरिरहदाँ बिमका सबै जनप्रतिनिधी आफ्नो भूगोलमा सक्रीय हुन्थ्ये ।

ग्रामिण बस्ती भएपनि बिम म्याग्दीका अन्य गाउँ भन्दा सुगम छ । केन्द्रिय लाइन नपुग्दा त्यहाँका बासिन्दाहरुले आफ्नै स्रोतबाट पेल्ट्रिक सेटबाट बिजुली बालेका थिए । अहिले बिमको सवै टोलबस्तीमा केन्द्रिय लाइनको बिजुली पुगेको छ । टोलटोलमा सडक पुगेको छ । बाक्लो बस्ती भएको गाउँको बिचमा ढल निकास गर्ने नाली छ । एक देखि अर्को गाउँ जोड्ने ढुङ्गाको सिढी चिनेका पैदलमार्ग छन् ।

बिमदेखि बिमबांग जाने भिरमा निर्माण भएको पैदलमार्ग । तस्विर धौलागिरी खबर

घरघरमा मिटर जडिट निजी धारा मार्फत खानेपानी वितरण भएको छ । वि.स. २०७४ मा बिमबाङमा साधारण र बिम तल्लो गाउँमा लिफ्ट प्रबिधीको खानेपानी आयोजना निर्माण भएको थियो । पाँच वर्षको अवधिमा अधिकांश घरमा निजी धाराबाट खानेपानी वितरण, केन्द्रिय प्रशारण लाइनको विद्युत विस्तार र टोलटोलमा सडक यातायातको पहुँच पु¥याउन सक्नु उपलब्धी ठान्नुहुन्छ जुग्जाली ।

Bhautik ministry notice about road

बिम जोड्ने सडकमा हिउँद बर्खा बाह्ै महिना ट्याक्सी गुड्छन् । जुन सडकलाई तत्कालिन जिल्ला विकास समितिले म्याग्दीकै नमुना घोषणा गर्दै उपभोक्ता समितिलाई पुरस्कृत गरेको थियो । पुरस्कृत हुँदा सो उपभोक्ता समितिको अध्यक्ष अहिलेका वडा अध्यक्ष जुग्जालीनै हुनुहुन्थ्यो ।
बिममा पुगेको सडक जनप्रतिनिधीहरु आएपछि बिमबाङ हुदै गाउँको सिरानमा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरी नजिकै धौलागंगामा पु¥याइएको छ । सडक सुविधासँगै मालिकामा भक्तजन र पर्यटकको आगमन बढेको छ ।

पौरखी जनता, सहयोगी प्रवासी

विकासका काममा स्थानीय सहभागीताका साथै प्रवासीबाट पाउने साथ बिमको विशेषता हो । लघुजलविद्युत परियोजना, विद्युतीकरण, किसानी माविमा कृषि प्राबिधिक शिक्षालय सञ्चालन, सडक निर्माण र पहिरो पिडितहरुको घर पुननिर्माणमा प्रवासी बिमबासीहरुको महत्वपूर्ण योगदान छ ।

बिम लिफ्ट खानेपानी आयोजनाको पाइपलाइन खन्दै बिमका बासिन्दाहरु । फाइल तस्विर धौलागिरी खबर

कृषि र पर्यटन बिमको सम्भावना हो । तल्लो भेगमा सुन्तला र केरा खेती हुन्छ । अहिले वार्षिक ५० लाख रुपैयाँ हाराहारीको सुन्तला बिमबाट निकासी हुन्छ । यसैगरी व्यवसायिक बाख्रापालन पनि यहाँका बासिन्दाको आयस्रोतको बैकल्पिक माध्यम बन्न सक्छ । आइएससी एजी तहसम्मको पढाई हुने किसानी प्राबिधिक शिक्षालय बिममै छ ।

बिम गाउँको फेदीमा नेपाल विद्युत प्राधिकरणले १३२ केभी क्षमताको डाडाखेत सव स्टेशन बनाउन थालेको छ । ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण स्थल पनि बिमकै भूगोलमा पर्छ ।

विमको इल्पु नजिकै २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको बाँध निर्माण शुरु गर्न लागिएको छ । रोजगारीका लागि अन्य ठाउँ जस्तै बिमबासीहरु पनि विदेशिएका छन् । तर गाउँमा भएकाहरु निकै मेहनती र पौरखी छन् । फुर्सदिला कोही हुदैनन् । उनिहरुलाई सिप सिकाउने र प्रविधिको ब्यवस्थापन गर्न सकेमा स्वरोजगार बन्न सक्छन् । पौरखी र इमान्दार नागरिक बिमको सामाजिक पुँजी हो ।

बिमको डाडाखेतमा विद्युत सवस्टेशन बनाउन जग्गा सम्माइदै ।तस्विर धौलागिरी खबर

सामाजिक रुपान्तरण

बिममा जनप्रतिनिधि र स्थानीयवासीले बिवाह, किरीया, छेवारमा भड्कीलो, खर्चीलो संस्कार र विकृति न्युनीकरणका लागि २०७५ जेठदेखि जिल्लामै पहिलो पटक अभियान सुरु गरेका थिए । जनप्रतिनिधि, युवा कल्व, आमा समूह र अगुवाहरुको भेलाले विवाह, छेवार, किरीया जस्ता संस्कारगत कार्यक्रममा जाडँ, रक्सी लगायत मदिराको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थिए ।


अत्याधिक मात्रामा मादक पदार्थको प्रयोग हुँदा सामाजिक विकृति र ठूलो आर्थिक क्षति हुने जटिल समस्या थियो । एउटै किरीया अम्काउन ऋणधन गरेर रु. दुई लाख पचास हजार सम्म खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट स्थानीयले मुक्ति पाएका छन् ।


बाईन्दफाँट र तल्लो गाउँमा आमा समूह र युवा कल्वले घर र होटलमा मदिरा सेवन गर्नका लागि समेत समय तोकीएका छन् । साँझ पाँच बजेभन्दा अघि मदिरा सेवन गर्नेलाई रु. एक हजार र बिक्री गर्नेलाई रु. दुई हजार जरिवाना हुन्छ । मगर समुदायको संस्कारगत कार्यमा घरेलु मदिरा (रक्सी)को प्रयोग अनिवार्य गर्नुपर्ने चलन छ । पितृ, देवतालाई चढाएपनी सेवनमा रोक लगाइएको हो । प्रसादको रुपमा मदिरा प्रयोग गर्ने चलन हटाएपछि समाज शान्त र सुरक्षित भएको छ । रक्सीलाई प्रसाद बनाउँदा मासुका लागि खसि, राँगो र प्रजनन् क्षमत्ता नभएका भैसीको जोहो गर्दा सम्बन्धित घरपरिवारलाई हुने ठूलो आर्थिक भार कम भएको छ ।


आम्दानीको स्रोत नभएका, गरिब विपन्नलाई संस्कार र चलन बचाउन बाध्यताले ऋणधन गर्नुपर्ने अवस्था थियो । मदिराको अत्याधिक प्रयोगका कारण आफन्त, गाउँले भेला भएर दुख सुख साट्नुपर्नेमा झगडा, बिवाद, कुटपिटमा परिणत हुने गरेका थिए । बालबालीकाहरुले मदिरा सेवन गर्न सिक्ने माध्यम यस्तै गलत संस्कारको सिकार बन्ने अवस्था थियो । मदिराको प्रयोगमा प्रतिबन्ध लगाएपछि पहिले तिन दिनसम्म भोज भतेर गर्नुपर्नेमा एकै दिनमा सकिन थालेको छ । बालबालीकाहरु कुलतमा फस्ने, बालबिवाह, घरेलु, लैङ्गिक हिंसाको कारण समेत मदिरानै हो । मदिराको अत्याधिक सेवनका कारण कतिपय व्यक्तिहरु अंगभंग हुने, लडेर ज्यानै गुमाउने गरेको उदाहरण समेत छन् । किरीयालाई जाँडरक्सी रहित बनाएपछि कुटपिट, बिवाद, झगडा, बालबिवाह जस्ता समस्या न्युनीकरण भएको छ ।

सामाजिक विकृति न्युनीकरणका लागि आयोजित छलफलमा सहभागी बिमवासी । तस्विर धौलागिरी खबर


वडाबाट पालिकामा लम्किदै


विपद् व्यवस्थापन, विकास योजना कार्यान्वयन र विकृति न्युनीकरणका लागि बिममा अपनाइएको बिधी अरुका लागि पनि उदाहरण बन्न सक्छ । जनताको साथ र सहयोगले वडाको नेतृत्वमा हौसिएका जुग्जाली गाउँपालिकाको नेतृत्व लिन चुनावी प्रतिस्पर्धामा ओर्लनुभएको छ । नेकपा माओवादी केन्द्रबाट मालिका गाउँपालिकाको अध्यक्षको उमेद्वार जुग्जाली उपभोक्ता समिति देखि वडाको जनप्रतिनिधी भएर बिममा अपनाएको अवधारणा अनुसार गाउँपालिका सञ्चालन गर्ने योजनामा हुनुहुन्छ ।


“जनतासँग दिनानुदिन सम्पर्क हुने स्थानीय तहको नीति नियम, योजना र कार्यक्रम पनि उनिहरुका आवश्यकता र भावनासँग मेल खाने हुनुपर्छ,” उहाँ भन्नुहुन्छ “त्यस्तो योजना बनाएर कार्यान्वयन गर्ने मेरो अनुभवलाई मालिकाको विकास र सम्बृद्धीमा उपयोग गर्ने लक्ष्य हो ।”
गाउँ गाउँमा गुड्ने सडकमा बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार ल्याउने र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउने जुग्जालीको सोच छ ।


राजनीतिक पृष्ठभूमि


सामान्य परिवारमा जन्मिएका जुग्जाली सानै देखि बिद्रोही स्वभावको हुनुहुन्थ्यो । उहाँ परिवारको माइला छोरा हुनुहुन्छ । २३ वर्षदेखि राजनीतिमा सक्रीय उहाँका दाजु जितबहादुर जुग्जालीको वि.स. २०५८ मा सोलुखुम्बुको सल्लेरी आक्रमणका क्रममा सहिद हुनुभएको थियो । विद्यालय पढ्दा वि.स. २०५६ मा अनेरास्वीयू क्रान्तिकारीमा संगठित हुनुभएका जुग्जाली २०५७ मा सो संगठनको जिल्ला सदस्य, २०५८ मा जिल्ला सचिव र २०५८ देखि जनयुद्धमा भूमिगत हुनुभएको थियो ।


२०५८ मा एरिया कमिटी सदस्य, २०५९ मा माओवादी जिल्ला सदस्य, २०६१ मा इलाका इञ्चार्ज भएका उहाँ जनमुक्ति सेनामा कम्पनी कमिसार हुदै बटालियन भ्वाईस कमाण्डर बन्नुभएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा वाइसीएलको जिल्ला सचिव र २०६६ मा माओवादीको तत्कालीन मगँरात राज्य कमिटी सदस्य बन्नुभएको थियो ।

गाउँसभामा सहभागी हुदै रेशम जुग्जाली (सुविन) । तस्विर धौलागिरी खवर


माओवादी विभाजनपछि मोहन बैद्य समूहमा आवद्ध हुनुभएका जुग्जाली वि.स. २०७० देखि २०७३ कोे अवधीमा स्वतन्त्र हुनुभयो । वि.स. २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उमेद्वार वनेर बिमको वडा अध्यक्षमा बिजयी जुग्जाली बामगठबन्धनलाई सहयोग गर्दै माओवादीको तर्फबाट तत्कालीन नेकपाको जिल्ला कार्यालय सदस्य र पछिल्लो पटक जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी पाउनुभएको हो ।


वाइसीएलको जिल्ला सचिव हुँदा जुग्जालीको नेतृत्वमा म्याग्दीमा अनियमितता, भ्रष्ट्राचार र ठगी विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएपछि चर्चामा आउनुभएको थियो । नागरिकता बनाउन घुस खाने तत्कालीन प्रजिअ, सहायक प्रजिअलाई कार्यकक्षबाट निकालेर चोकमा कालोमोसो दलेर जनकारबाही गर्ने युवाहरुमध्य जुग्जाली पनि एक हुनुहुन्छ ।


म्याग्दी जिल्लामा लोकप्रिय युवा नेताको रुपमा स्थापित भएका जुग्जालीको जोस, गाँगर, योजना र दृष्टिकोणबाट लाभ लिन मालिका गाउँपालिकाबासी लागि अवसर हो ।

नोट नेकपा माओवादी केन्द्रबाट म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा उमेद्वारी घोषणा गर्नुभएका रेशम जुग्जाली (सुविन)सँगको कुराकानीमा आधारित रहेर यो सामग्री तयार पारिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...