बेनी । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवाद्धी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)का नेताहरुको बिहिबार बेनीमा बसेको संयुक्त बैठकले म्याग्दीका छ वटै स्थानीय तहमा एकले अर्कालाई सघाउने गरेर उमेद्वार तय गर्ने निर्णय गरेका छन् ।
सबै दलको वडा तहबाट आएको रिपोर्टको आधारमा दलहरुबीच पालिका र उमेद्वार बाँडफाँडका लागि सहमति गर्ने निर्णय गरेका छन् । चुनावी तालमेल गर्न जिल्ला र पालिका स्तरीय संयन्त्र समेत निर्माण गरेका नेपाली काँग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।
बैठकमा नेपाली काँग्रेसका सभापति खम्बिर गर्बुजा, माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकिकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छबि विश्वकर्मा र जनता समाजवादीका अध्यक्ष देबेन्द्रबहादुर विश्वकर्मा लगायत नेताहरुको उपस्थिति थियो ।
२०७४ को निर्वाचनमा काँग्रेसले बेनी नगरपालिकामा प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वटा वडामा अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले सात वटा वडा जितेको थियो ।
एमालेले दुई गाउँपालिका अध्यक्ष, तीन गाउँपालिका उपाध्यक्ष र २३ वटा वडा अध्यक्ष जितेको थियो । बेनी नगरको उपप्रमुख राप्रपाले जितेको थियो ।