म्याग्दीका राजनीतिक दलहरु चुनावी रणनीति बनाउदै

Gandaki Pardesh notice

बेनी । म्याग्दीका राजनीतिक दलहरु आगामी बैशाख ३० गते घोषित स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् ।

नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, नेशनल मंगोल अर्गनाइजेशन र राष्ट्रिय जनमोर्चाले स्थानीय तह चुनाव लक्षित अभियान सञ्चालन गरेका हुन् ।

आफ्नो अवस्था, सम्भावित उमेद्वार र स्थानीय आवश्यकताको पहिचानका साथसाथै संगठन विस्तार, पार्टी प्रवेश र चुनावी रणनीति बनाउन नेताहरु टोल अभियानमा केन्द्रित भएका छन् । दलहरुले आफूले यसअघि जितेको वडा र पालिका जोगाउदै थप गर्ने रणनीतिमा लागेका छन् ।

Shreekrishna hardwear in news

यसैगरी पालिकाको प्रमुख÷उपप्रमुख र वडा अध्यक्षका आकाक्षीहरुले मत सर्वेक्षण, सहयोगीबाट सुझाव संकलन र माथिल्लो तहमा टिकटका लागि लविङ शुरु गरेका छन् । राजनीतिक दलहरुको भेला, बैठक र भेटघाटले गाउँमा चहलपहल बढेको छ । सर्वसाधारण देखि समाजका वौद्धिक समुदायमा सम्भावित उमेद्वारको चर्चा चल्न थालेको छ ।

नेकपा एमालेको धवलागिरी गाउँपालिका कमिटिका अध्यक्ष होमबहादुर थापाले जिल्ला कमिटिको निर्णय, केन्द्र र प्रदेशको निर्देशन अनुसार वडा कमिटिको बैठकसँगै टोलटोलमा कार्यकर्ता भेटघाट अभियान शुरु गरेको बताउनुभयो ।

“चैत १ गते वडा नम्बर २ लुलाङबाट वडा र टोल अभियान शुरु गरेका छौ,” उहाँले भन्नुभयो “पार्टीका जनप्रतिनिधीले गरेका काम र उपलब्धीको प्रचारप्रसारका लागि कार्यकर्ता परिचालन गरेका छौ । वडा कमिटिको बैठकका साथै जनवर्गीय संगठनको भेला र सम्मेलन गरिरहेका छौ ।”

Bhautik ministry notice about road

नेपाली काँग्रेस म्याग्दीका सहसचिब श्रीराम पौडेलले “घर–घरमा जाऔ, काँग्रेस जिताऔ” अभियान अन्तरगत पालिका, वडा र टोलमा पुग्ने गरि नेताहरु परिचालन भएको बताउनुभयो । नागरिकको आवश्यकता, समस्या पहिचान गरि घोषणापत्र बनाउने र सम्बोधन गर्न पहल गरिने उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जाली (सुबिन)ले पालिका स्तरमा जनवर्गीय संगठनहरुको सम्मेलनसँगै टोल अभियान लिएर घरदैलोमा पुग्ने कार्यक्रम शुरु गरिएको बताउनुभयो । मालिका गाउँपालिकाका वस्तीहरुमा टोल अभियानमा रहनुभएका जुग्जालीले अन्य पालिकामा पनि भेला, बैठक, प्रशिक्षण र संगठन विस्तार तिब्र बनाएको बताउनुभयो ।

नेकपा एकिकृत समाजवादी पार्टीले संगठन बिस्तार र चुनावी अभियानलाई सँगै अघि बढाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको बैठकले जिल्लाका छ वटै स्थानीय तहमा उमेद्वारी दिने निर्णय गर्दै चुनावी अभियानमा केन्द्रित हुने निर्णय गरेको छ । मंगोल नेशनल अर्गनाइजेशन पार्टीले पनि चुनाव लक्षित संगठनात्मक गतिबिधी सञ्चालन गरेको जनाएको छ ।

म्याग्दीमा एक वटा नगरपालिका, पाँच वटा गाउँपालिका र ४५ वटा वडा छन् । वि.स. २०७४ को स्थानीय तह चुनावमा नेपाली काँग्रेसले मालिकाको अध्यक्ष, बेनीको मेयर, रघुगंगा, अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष र १५ वटा वडा अध्यक्ष जितेको थियो ।

एमालेले मंगला र धवलागिरी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, मालिकाको उपाध्यक्ष र २३ वटा वडा अध्यक्ष जितेको थियो । माओवादीले सात वटा वडा अध्यक्ष र राप्रपाले बेनी नगरपालिकाको उपमेयर जितेका थिए ।

गत चुनावमा बेनी नगरपालिका, धवलागिरी र मंगला गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । एमालेले बेनी नगरपालिकामा राप्रपा र रघुगंगा गाउँपालिकामा माओवादी केन्द्रसँग तालमेल गरेको थियो । आगामी चुनावमा तालमेल गर्ने विषयमा छलफल नगरेका दलहरु हालसम्म एक्लाएक्लै चुनावमा भिड्ने तयारीमा जुटेको नेताहरुले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...