धवलागिरीको वडामै पुगेर योजना सम्झौता

Gandaki Ghumau

मराङ । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता शुरु गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र वडा नम्बर ६ मराङका उपभोक्ता समितिलाई लक्षित गरेर सोमबारदेखि मराङ बेशीमा घुम्ति शिबिर सञ्चालन गरेको हो ।

पहिलो दिन १९ वटा उपभोक्ता समितिसँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो । दुई दिनको घुम्ति शिबिरमा सबै योजना सम्झौता हुन नसके समय थप गरिने उहाँले बताउनुभयो ।

Shreekrishna

अधिकृत शर्माको नेतृत्वमा लेखा अधिकृत कृष्ण खराल, इञ्जिनियर सोबिन जिसी, योजना शाखाका रमेश पौडेल, प्राबिधिक जनक धानुक, दिपेन्द्र थापा, लेखा शाखाका कर्मचारी श्याखराज सुबेदीको टोली घुम्ति शिबिर लिएर मराङ पुगेको हो ।

Gunasthariya Shiksya

वडाका अध्यक्ष, सचिब र जनप्रतिनिधीहरुले सहजिकरण तथा समन्वय गर्नुभएको छ । प्राबिधिक टोलीले यसअघिनै मराङका २० र मल्कवाङका १० वटा योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पुरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरि पेश्की उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ ।

मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरीको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ ।

पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झञ्जटपुर्ण उल्टो यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकम भन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधीकारीहरुलाई पालिकामा जाने आउने समय, झञ्जट हट्नुका साथै ब्ययभार घटेको छ । मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा दुई दिन लाग्ने गर्छ । योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधीकारीहरुलाई प्राबिधिक, लेखा ब्यवस्थापन र प्रशासनिक प्रक्रियाका बिषयमा परामर्श पनि दिइएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

वडा नम्बर ७ मा पनि घुम्ति शिबिरबाट योजना सम्झौता गर्ने तयारी भएको छ । आवश्यकता र मागको आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जान सकिने प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । चालु आर्थिक बर्षमा १२० वटा पुर्बाधार सम्बन्धी योजना छनौट गरेको धवलागिरी गाउँपालिकाले ४ वटा ठेक्का सम्झौता गरेको छ । अन्य उपभोक्ता समितिसँग पनि सम्झौता गरि कार्यान्वयन थालिएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...