प्रकाश माबीले ६९ औ बार्षिकोत्सव मनायो

Beni Sanjibani

बेनी । बेनीको प्रकाश मा.बि.ले शुक्रबार बिबिध कार्यक्रमको आयोजना गरेर ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले सरकारी विद्यालयमा राज्यको ठूलो लगानी भए पनि लगानी अनुसारको प्रतिफल अझै प्राप्त नभएकाले सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले विज्ञान शिक्षाको आधार दिने प्रकाश मावि महान भएको भन्दै विद्यालयको सबैखाले योजना र कार्यक्रममा आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले अभिभावकहरुले बालबालिकाहरुलाई विद्यालयमा पढाएर मात्र दक्ष नहुने भन्दै विद्यार्थीको सम्पूर्ण पक्षको विकासका लागि घर परिवारहरुले उचित वातावरणको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । प्रकाश मावि यस क्षेत्रकै शैक्षिक धरोहर हो भन्ने कुरा यसको इतिहाँसदेखि वर्तमानसम्मका परिणामले बताउने उहाँले बताउनुभयो ।

Mangala Health notice about Je

विद्यालयका पूर्व अध्यक्ष एवं बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले दक्ष जनशक्ति उत्पादन गर्न समयानुकूल शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । प्रकाश माविमा आफूले अध्ययन गर्दै गर्दाको समयलाई सम्झदै उहाँले विद्यालयबाट हालसम्म उत्पादन भएका विद्यार्थीहरुले विभिन्न क्षेत्रहरुमा सफलता प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका सदस्य हरिकृष्ण श्रेष्ठले दक्ष जनशक्ति उत्पादनका लागि विद्यालय स्थापनाकालदेखि लागिपरेको बताउनुभयो । वार्षिकोत्सवकै अवसरमा प्रकाश मावि मन्टेश्वरीको औपचारिक उद्घाटन गरिएको छ । विद्यालयको साहित्यिक पत्रिका प्रकाशपुञ्ज वर्ष १६, अङ्क १ को लोकार्पण गरिएको छ ।

Beni nagarpalika ko janahit ma jari notice

त्यस्तै उत्कृष्ट विद्यार्थी र कर्मचारी तथा शिक्षकलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा कर्मचारी शान्ति रामदाम, शिक्षकहरु यमबहादुर जिसी, शिवप्रसाद शर्मा, सन्तोष सुवेदी, श्यामबाबु सिंह, विनय श्रेष्ठ र गोरखनाथ सुवेदी हुनुहुन्छ ।

उत्कृष्ट अभिभावकको रुपमा बेनी नगरपालिका–५, पुलाचौर निवासी कोपिला परियार सम्मानित हुनुभएको छ । यसैगरी विद्यार्थी सुस्मिता केसी (जेहेन्दार), लिप्टन नेपाली (दलित), मिलन थापा (जनजाति)लाई साहिँला मुखिया बिच्छाराम छात्रवृत्तिबाट पुरस्कृत गरिएको विद्यालयका शिक्षक गोरखनाथ सुवेदीले जानकारी दिनुभयो ।

समारोहमा पछिल्लो समयका लोकप्रिय लोक तथा दोहोरी गायक, विद्यालयका पूर्व बिद्यार्थी प्रकाश दुतराजलाई सम्मान गरिएको थियो । समारोहमा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचन, बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पस प्रमुख गोरखबहादुर जिसी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष लिलाराम गौतम, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मनबहादुर चर्मकार र बेनी नगरपालिकाका स्रोतव्यक्ति जयराम सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैं विद्यालयको शैक्षिक तथा भौतिक गतिविधिहरुका सम्बन्धमा प्रकाश पार्दै आगामी दिनका योजनाहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

विभिन्न सांस्कृतिक प्रस्तुति एवं विद्यार्थीको तर्फबाट शैक्षिक तथा सिर्जनात्मक प्रर्दशनी समेत गरिएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य हरिकृष्ण श्रेष्ठको अध्यक्षता, शिक्षक कविराम थापाको स्वागत र विद्यालयका सहायक प्रअ लेखबहादुर हमालको सञ्चालनमा समपन्न भएको थियो ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...