नाटाद्धारा तीन वटा पर्यटकीय गन्तब्य पहिचान

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले म्याग्दी र मुस्ताङमा तीन वटा नयाँ पर्यटकीय गन्तब्य पहिचान गरेको छ ।

पर्यटन बोर्डका प्रतिनिधी सहित सम्भाब्यता अध्ययनका लागि आएको नाटाको गण्डकी प्रदेश समितिको टोलीले टोड्के, नाउरीकोट र टिटी ताललाई नयाँ गन्तब्य पहिचान गरेको हो । नाटामा आवद्ध ब्यवसायीले पर्यटकीय गन्तब्य पहिचान गरि बिदेशी र स्वदेशी पर्यटकलाई प्याकेज बेच्ने र भ्रमणको ब्यवस्था मिलाउछन् ।

नाटाका कार्यक्रम संयोजक तारा गौतमले मुस्ताङ र मुक्तिनाथ जाने आउने पर्यटकहरुको बसाई लम्बाउनका लागि बिचमा पर्ने टोड्के, नाउरीकोट र टिटीताललाई भ्रमणको प्याकेजमा समावेश गरिने बताउनुभयो ।

Shreekrishna

“मुस्ताङको टुर प्याकेजमा टोड्के, नाउरीकोट र टिटीताल थप्ने निर्णय गरेका छौ,” उहाँले भन्नुभयो “पर्यटकको बसाई लम्बाउन नयाँ गन्तब्य पहिचान गरिएको हो ।” पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयका प्रबन्धक नबिन पोखरेल, नाटाका प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देल सहितको २९ जनाको टोली बुधबार पोखरा फर्किएको छ ।

नाटा गण्डकीका अध्यक्ष सिग्देलले पोखरा र मुस्ताङ आउने पर्यटकको बसाई लम्बाउन नयाँ गन्तब्य पहिचान गरिएको बताउनुभयो । सडक बिस्तारसँगै घोडेपानी, पुनहिल, घान्द्रुक लगायत पुराना पर्यटकीय स्थलको यात्राअवधी छोटिएकाले नयाँ गन्तब्य खोजिएको उहाँले बताउनुभयो ।

टोलीले नयाँ गन्तब्य स्थलमा यातायात, सञ्चार, बिद्युत, आवासको सुबिधा, आकर्षण र ब्यवस्थापकीय बिषयमा अध्ययन गरिएको थियो । सडक मार्ग भएर भ्रमण गर्ने पर्यटकका लागि नयाँ गन्तब्य प्रभावकारी हुने सिग्देलको भनाई छ ।

टोड्केको बिशेषता
म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने टोड्केबाट हिमाल, सुर्योदय, बनजंगल र पहाडी भूगोलको मनमोहन दृष्य अवलोकन गर्न सकिन्छ । समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा गुराँसको जंगलको बिचमा अवस्थित टोड्केबाट सुर्योदय, धवलागिरी, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्बत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

धवलागिरी सेञ्चुरी पदमार्गको प्रवेश बिन्दुमा पर्ने टोड्केमा स्वर्गद्धारी आश्रमको शाखा र शिब मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावना समेत छ । दैनिक एक सय जना बास बस्न सक्ने टोड्के हिल रिसोर्ट एण्ड होमस्टे सञ्चालनमा रहेको टोड्के पुग्न बेनी देखि गाडीमा एक घण्टा ३० मिनेट यात्रा गर्नुपर्छ ।
चरा हेर्न टिटीताल
मुस्ताङको थासाङ गाउँपालिका– ५मा रहेको टिटी ताल पुग्न बेनी–जोमसोम सडकको लेते देखि गाडीमा करिब २० मिनेट यात्रा गर्नुपर्छ । छाक्ताङ देखि तीन किलोमिटर उकालो हाइकिङ (पैदलयात्रा) गरेर पनि पुग्न सकिने टिटी ताल नजिकै खाने बस्ने सुबिधा भएका होटल र रेष्टुरेन्ट छन् ।

समुन्द्री सतहदेखि दुई हजार ६७९ मिटर उचाइमा जंगलको बिचमा गोलो आकारमा रहेको टिटी तालको पृष्ठभूमिमा धौलागिरी र निलगिरी हिमाल देखिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)ले गरेको अध्ययनका क्रममा १८६ प्रजातिका चराको बासस्थान भेटिएको टिटीताल घुम्न जाँदा चौरीको गोठ पनि देखिन्छ ।

तीन प्रजातीका हाँस पाइने यो तालभित्र कमन मलाटले बच्चा प्रजनन् गर्ने ठाउँ छ । तालमा चराको बासस्थानका लागि घासे गुड छ । जहाँ विभिन्न जातका चरा बस्छन् भने तालमा आपसमा क्रिडा गर्छन् । पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने जनबिश्वास रहेको टिटी तालका चरा र हाँस मारेमा अनिष्ठ हुने स्थानीय बताउँछन् ।
रमणीय नाउरीकोट
मुस्ताङको थासाङ गाउँपालिका–२ को नाउरीकोट गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । पूर्वमा निलगिरि, अन्नपूर्ण र पश्चिममा धौलागिरि, टुकुचे हिमाल दन्तलहरझैं देखिने नाउरीकोटबाट सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । फापर, मकै, गहुँ खेती हुने समथर फाँटमा रहेको नाउरीकोटबाट धौलागिरि हिमालको चुचुरोबाट खस्ने हिउँ थुप्रिएर बनेको आईसफल हेर्न पाउनु अर्को विशेषता हो ।

अल्पसंख्यक थकाली समुदायको बसोबास रहेको नाउरीकोटबाट बर्खामा देखिने हरिया पाखामा दूधका धाराझै गरी बग्ने झरना र छहरा हिउँदमा सुक्दा सेताम्मे हिउँले छोपिन्छ । वसन्त ऋतुमा पृष्ठभूमिमा पाखाभरी लालीगुराँसले रंगिन्छ । भदौ, असोज महिनामा वरपरका बारीमा लहलह फापर फुल्दा वातावरण रमणीय हुन्छ ।

स्थानीय होटल व्यवसायी नरसाम्बो गौचनका अनुसार बेनी–जोमसोम सडकको कोवाङदेखि करिब २० मिनेट पैदल र दश मिनेट सवारी साधनमा यात्रा गरेर पुगिने नाउरीकोटका वरपर घुम्न लायक धेरै ठाउ छन् । रमणीय भुर्तछो र सेकोङ्ग ताल, गुरुसाम्पुक गुफा र धौलागिरी आईसफल नाउरीकोट भित्रने पर्यटकका लागि घुम्ने ठाउँ हुन् । नाउरीकोटबाट करिब ३० मिनेट हिँडेपछि पुगिने तालमा निलगिरी र धौलागिरीको रमणीय छायाँ देखिन्छ ।

पर्यटकको सुविधाका लागि होटल, लज तथा होमस्टेको सुविधा छ । नजिकैको जंगलमा पाईने वन्यजन्तु, पंक्षी, जडिवुटी, वनपैदावार, भेडा, चौरीका गोठ थप आकर्षण हो । वौद्ध धर्मगुरुहरुले वुद्धत्व प्राप्त गर्न तपस्या बसेको करिब ३० मिटर लामो गुरुसाम्पुक गुफाभित्र बाघको पञ्जा, हात्तिको सुँड, चौरीको खुर, गाईभैसीको कल्चौरा, कछुवाको मुख लगायतको आकृतिहरु देख्न सकिन्छ ।

पाँच सय वर्ष पहिले पहिचान भएको स साना तालहरु रहेका यो गुफाको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र पर्यटन मन्त्रालयमा पहल गरिएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

कोवाङ नाउरीकोट हुदै सेकोङ्ग र भुर्तछो ताल तथा गुरुसाम्पुक गुफासम्म पदमार्ग सञ्चालनको तयारी भएको छ । रमणीय, धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नाउरीकोट क्षेत्रको पर्यटन विकास गर्न सकेमा स्थानीयको आयआर्जन वृद्धि, रोजगारी सिर्जनासँगै भ्रमणमा आउने पर्यटकको बसाइ लम्बाउन सकिने सांसद तुलाचनले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...