रेलेखोला जलबिद्युत आयोजना निर्माण शुरु

Gandaki Pardesh notice

बेनी, १२ मङसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजना निर्माण शुरु भएको छ ।

ह्युम कन्सल्ट प्रा.ली प्रर्वद्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र बिद्युतगृह निर्माण शुरु गरेको हो । आयोजनाका साइट इञ्चार्ज आयुश शर्मा भट्टराईले कार्यक्षेत्रमा आएको सिभिल ठेकेदारले प्रारम्भिक चरणको काम शुरु गरेको बताउनुभयो ।

“आगामी १८ महिनामा सम्पन्न गर्ने कार्ययोजना अनुसार सिभिल ठेकेदार साइटमा परिचालन भएको छ,” उहाँले भन्नुभयो “बाँध, पावरहाउस र पाइपलाईन निर्माणको काम एकै साथ अघि बढाएका छौ ।”

Shreekrishna hardwear in news

नारच्याङको बेशी गाउँदेखि लेकगाउँ हुदै खोपारालेकको फेदी स्थित बाँध र रेलेखर्क स्थित बिद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण सकिएको छ । बि.स २०७५ देखि शुरु भएको पहुँचमार्ग निर्माण गत महिना सकिएपछि सिभिल ठेकेदार परिचालन भएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताउनुभयो ।

“छहरा, हकनी, गौडाका अक्करे पहाडमा एक्साभेटर र मजदुर परिचालन गरेर सडक बनाउन धेरै समय लाग्यो,” उहाँले भन्नुभयो “ग्याबियन र मेसिनरी पर्खाल लगाएर सडक स्तरोन्नति काम जारी राख्दै सिभिल निर्माण अघि बढाएका हौ ।”

रेलेखोलाले पहुँचमार्ग बनाएपछि १५० घरधुरीको बसोबास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालमा जोडिएको छ । यसअघि स्थानीयबासी, तत्कालीन जिबिस र गाउँपालिकाले रु. एक करोड भन्दा बढी खर्च गरेपनि बेशी देखि लेकगाउँ जोड्ने सडकको बिचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो ।

Bhautik ministry notice about road

“हामीले करिब पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनौ,” लेकगाउँका श्याम पुर्जाले भन्नुभयो “आयोजनाले सडक बनाएपछि स्थानीयबासीलाई पनि आवत जावत, ढुवानी र निकासीमा सहज भएको छ ।”

बेशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमै पुग्न सकिने भएको छ । नारच्याङको बेशी गाउँको शिरानमा रहेको म्रिस्तीखोला जलबिद्युत आयोजनाको आउटलेट देखि पहुँचमार्ग निर्माण सुरु गरेको थियो ।

खोपाराको फेदीमा पर्ने रेलेखर्क भन्ने ठाउँमा बाँध र घलेम्दी जलबिद्युत आयोजनाको इन्टेक नजिकै हरिस्वाँरामा बिद्युत गृह निर्माण गर्न ८० रोपनी जग्गा ब्यवस्थापन भएको छ । सुरुङ र नहरको बिकल्पमा बाँधदेखि चार किलोमिटर मुख्य पाइपलाइबाट पानी ल्याइने भएको छ । १.६ किलोमिटर पेनस्टेक पाइप रहने भएको छ ।

प्रतिमेगावाट रु. २० करोड लागत अनुमान गरिएको रेलेखोलामा बैंकको लगानी पनि जुटेको छ । कुल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय बाणिज्य बैंकले लगानी गर्ने सम्झौता भएको छ । आयोजनाले उत्पादन गरेको बिद्युत ५ किलोमिटर ३३ केभी क्षमताको प्रशारण लाइन बनाएर दाना स्थित २२० केभी क्षमताको सबस्टेशनबाट केन्द्रिय ग्रिडमा जोड््ने योजना छ ।

नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलबिद्युत आयोजना सञ्चालनमा रहेका वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । निलगिरि हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरि पहिलो र निलगिरि क्यासकेड जलबिद्युत आयोजना निर्माण गरिरहेको छ ।

९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलबिद्युत आयोजना निर्माणको तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलबिद्युत आयोजनाको बिद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ ।

माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको बिद्युतगृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलबिद्युत आयोजना निर्माणका लागि वातावरणीय अध्ययन थालेको छ । हाइड्रो सपोर्ट प्रा.ली प्रर्वद्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलबिद्युत आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताब गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...