बेग जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरिया खर्च दिने रघुगंगाको निर्णय

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा सदस्य सहित चार जनाको मृत्यु र चार जना घाइते भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले घाइतेलाई जनही रु. एक लाखका दरले उपचार खर्च उपलब्ध गराइने जानकारी दिनुभयो । मृतकका परिवारलाई किरिया खर्चका लागि रु. पचास हजारका दरले उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो ।

बेनी देखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप औलामा दुर्घटना हुँदा बेगकी वडा सदस्य गौमाया बिक, चालक दुढबहादुर थापा, यात्रु खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको थियो ।

Shreekrishna hardwear in news

मृतक र घाइते सबै बेगका हुन् । ५४ वर्षीय बलबहादुर बिक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भिम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ ।

Bhautik ministry notice about road

प्रहरीका अनुसार जिप सडक देखि करिब तीन सय मिटर तल खसेको थियो । मंगलबार बिहानै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताउनुभयो ।

यसैगरी रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकीय अधिकृत अमृत सुबेदीले मंगलबार शोक बिज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका बिद्यालयहरु मंगलबारका लागि बन्द गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...