साहित्यकार सुबेदीको स्मृतिग्रन्थ बिमोचन

Sinchai Khanipani notice

बेनी । म्याग्दीका वरिष्ठ साहित्यकार स्व. बुद्धिप्रसाद सुवेदीको स्मृतिमा प्रकाशन भएको ‘बुद्धिप्रसाद स्मृतिग्रन्थ’ पुस्तक विमोचन भएको छ ।

२०७८ कार्तिक २८ गतेका दिन वार्षिक पुण्यतिथिको अवसर पारी स्व. बुद्धिप्रसादकी धर्मपत्नी दीपकुमारी सुवेदीले भरतपुर महानगर, गीतानगरमा उक्त स्मृतिग्रन्थ विमोचन गर्नुभएको हो । स्व. बुद्धिप्रसाद सुवेदीका सुपुत्र कपिलप्रसाद सुवेदीले प्रकाशन गर्नुभएको उक्त स्मृतिग्रन्थको सम्पादन साहित्यकार शिव सस्मितले गर्नुभएको हो ।

अनेसासका संस्थापक, वरिष्ठ साहित्यकार होमनाथ सुवेदी, म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुबलाल शर्मा, म्याग्दीका वरिष्ठ साहित्यकार÷समालोचक रामप्रसाद सुवेदी, पं दण्डपाणि उपाध्याय, फणिन्द्रनाथ सुवेदी, टीकाराम सुवेदी, गोविन्द पौडेल, तुलसीनाथ सुवेदी लगायतका व्यक्तित्वहरूबाट स्मृतिग्रन्थमा स्व. बुद्धिप्रसाद सुवेदीको व्यक्तित्व, साहित्यिक, शैक्षिक र सामाजिक योगदानको चर्चा गरिएको सम्पादक शिव सस्मितले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

आफूले स्मृतिग्रन्थ सम्पादन गर्दैगर्दा बुद्धिप्रसाद सुवेदीलाई बहुमुखी प्रतिभा भएका र युगीन चेत बोकेका साहित्यिक व्यक्तित्व र लेखकका रूपमा पाएको कुरा सम्पादक सस्मितले बताउनुभयो । “उहाँ साहित्यिक व्यक्तित्व मात्र नभएर म्याग्दीकै एक सक्रिय र उच्च सामाजिक व्यक्तित्व रहेको कुरा रेडक्रस, आमा समूह, हेम मावि सिवाङ लगायत विभिन्न सङ्घसंस्थाहरूबाट उहाँले प्राप्त गर्नुभएका मनोनयनपत्र, कदरपत्र र सम्मानपत्रबाट पुष्टि हुन्छ,” सस्मितले भन्नुभयो ।

त्यसैगरी स्मृतिग्रन्थमा बालकृष्ण कँडेलले गर्नुभएको स्व. बुद्धिप्रसाद सुवेदीद्वारा लिखित प्रेमदान उपन्यासको समालोचना समावेश गरिएको छ । उक्त उपन्यासले २०६६ सालको अनेसास सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो । सुवेदीले आफ्नो जीवनकालमा कथा, नाटक, उपन्यास, कविता, धार्मिक–दार्शनिक विचारधाराजस्ता थुप्रै सिर्जनाहरू गर्नुभएको छ ।

‘रचना सङ्ग्रह र ताकम दर्पण’ जस्ता कृतिको सहलेखन गर्नुभएका सुवेदीका ’प्रेमदान’ उपन्यास र ’आह्वान’ कवितासङ्ग्रह प्रकाशित छन् भने थुप्रै विधाका पाण्डुलिपिहरू प्रकाशनको पर्खाइमा रहेको कुरा स्मृतिग्रन्थका प्रकाशक कपिलप्रसाद सुवेदीले बताउनुभयो । शिक्षण पेसाबाट निवृत्त भई जीवनको अन्तिम अवस्थासम्म साहित्य सिर्जना र लेखनमै सक्रिय रहनुभएका स्व. बुद्धिप्रसाद सुवेदी म्याग्दी जिल्लाको ताकममा विसं. २००१ माघ ११ गते जन्मनुभएको थियो भने विसं २०७७ मंसिर ७ गते भरतपुर–६, गीतानगरमा उहाँको निधन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...