बेनी । नेपाली काँग्रेस रघुगंगा गाउँपालिका समितिको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत चयन हुनुभएको छ ।
पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिवार भएको प्रथम गाउँपालिका अधिवेशनबाट रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष समेत रहनुभएका युवा नेता शेरपुञ्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो ।
अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी, केशब छन्त्याल,देउप्रसाद पुन, सचिबमा सीता कुमारी खड्का सुवेदी, मोहन तिलिजा, खिमबहादुर फगामी, सहसचिबमा भिमबहादुर कार्की, रिति थजाली र कोषाध्यक्षमा ओमकुमारी फगामी चयन हुनुभएको छ ।
पार्टिको विद्यानमा दुई÷दुई उपसभापति र सचिब रहने प्रावधान रहेपनि स्थानीय सहमती अनुसार तीन÷तीन जना बनाइएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि गाउँपालिका समितिका निवर्तमान सचिब रहनुभएका शेरपुञ्जा, सभापति रहनुभएका जीवनकुमार मल्ल र गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले दावि गर्नुभएको थियो ।
सर्वसम्मत नेतृत्व चयनको लागि मार्गप्रसस्त गर्दै मल्ल सभापतिको प्रतिस्पर्धाबाट पछि हटेपछि अन्तिममा शेरपुञ्जा र भण्डारीबिच मतदान प्रकृयाबाट नेतृत्व चयन हुने अवस्था पुग्न लागेको थियो । यद्यपी अधिवेशनको उद्घाटन सभा लगत्तै उम्मेदवारी दर्ता प्रकृया अघि सभापतिका दावेदारको रुपमा रहनुभएका शेरपुञ्जा र भण्डारी बिचमा निर्णायक वार्ता भएको थियो ।
सो क्रममा आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा पुनः भण्डारीलाई नै अघि सार्न शेरपुञ्जा सहमत भएपछि सभापति पदमा भण्डारीले शेरपुञ्जालाई सघाउनुभएको स्रोतको दावि छ । नवनिर्वाचित सभापति शेरपुञ्जाले सभापतिका पत्यासिद्धयले पार्टीलाई अझ बलियो र शसक्त बनाउने अभियानको लागि आफुलाई समर्थन जनाएको भन्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
उहाँले पार्टीलाई गतिशिल, थप सक्रिय बनाउन आफु निरन्तर लागिरहने बताउँदै अग्रजका अनुभव र युवाहरुको संकल्पमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । भण्डारी र मल्लले सहमती, सहकार्य र एकताको सन्देश दिदै युवाहरुलाई नेतृत्वमा अवसरका लागि आफुहरुले सभापतिको आकाँक्षा त्यागेर शेरपुञ्जालाई सर्वसम्मत सभापतिमा समर्थन गरेको बताउँदै पालिकामा पार्टीलाई थप बलियो बनाउने अभियानमा लाग्न सुझाब दिनुभएको थियो ।