अन्नपूर्णको ६ नम्बर वडामा २१ योजना निर्माण सकिए

Gandaki Ghumau

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–६ घारमा चालु आर्थिक वर्ष २०७७÷७८ मा २१ वटा योजना निर्माण सकिएका छन् । गाउँपालिकाले रु. एक करोड ११ लाख बजेट बिनियोजन भएका योजना निर्माण सकिएका वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले चालु आर्थिक वर्षमा गाउँपालिकाले रु. ४६ लाख बजेट बिनियोजन गरेका तीन वटा योजना कोरोनाको जोखिम र निषेधाज्ञाका कारण आगामी वर्ष कार्यान्वयन गर्ने गरि निरन्तरता दिएको बताउनुभयो ।

“एक करोड ११ लाख ९० हजार बजेटको काम सम्पन्न भइसकेको छ,” उहाँले भन्नुभयो “कोभिडका कारण कार्यान्वयन हुन नसकेको २५ लाख बिनियोजन भएको घारको सभाहल, दश लाखको घोडेपानी–उल्लेरी सडक, छ लाखको घोडेपानी ढल निकास र पाँच लाखको चित्रे–घोडेपानी पदमार्ग मर्मत योजनालाई आगामी वर्ष कार्यान्वयन गर्न निरन्तरता दिएका छौ ।”

Shreekrishna
अन्नपूर्ण गाउँपालिका वडा न.६ घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल गाउँपालिका मार्फत कार्यान्वयन भएका योजनाको बारेमा जानकारी गराउदै । तस्बिर धौलागिरी खबर

सबैभन्दा बढी रु. २५ लाख बजेट बिनियोजन भएको रातोपानी स्थित तातोपानी कुण्ड संरक्षण र ब्यवस्थापन योजना ठेक्का मार्फत कार्यान्वयन भएको थियो । पोखरेबगर नजिकैको रातोपानी कुण्ड संरक्षणका लागि कालीगण्डकी किनारमा पक्कि पर्खाल र शरिर डुबाएर स्नान गर्न सकिने पोखरी बनाइएको छ । स्नान गर्ने पोखरीलाई ट्रस पाइप राखेर जस्ताले छाइएको छ ।

Gunasthariya Shiksya

२५ लाख रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना निर्माण गर्न उत्तरगंगा निर्माण सेवाले १७ लाख ७४ हजार ९५८ रुपैयाँमा ठेक्का लिएको थियो । यसैगरी १२ लाख ४० हजार रुपैयाँ बिनियोजन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २४ जना युवाहरुलाई १०० दिन परिचालन गरेर पहरोमुनी र घारदेखि खिवाङ जोड्ने पदमार्ग निर्माण भएको छ ।

गाउँपालिकाले दश लाख बिनियोजन गरेको घोडेपानी आमा समूहको सभाहलमा समूहले थप स्रोत जुटाएर सम्पन्न गरेका छन् । छ लाख रुपैयाँ बिनियोजन भएको घोडेपानी खानेपानी आयोजनाको क्षमता बिस्तार र मर्मत गर्ने योजना मार्फत ३० हजार लिटर क्षमताको टंकी निर्माण भएको छ ।

पाँच लाख बिनियोजन भएको मुक्तिमार्ग माबिको घेराबार र चार लाख बिनियोजित छात्रावास भवन मर्मत योजना पनि सम्पन्न भएको छ । १४ परिवार दलित तथा विपन्नलाई रु. तीन लाख पचास हजारमा शौचालय बनाउन सामग्री, घार स्वास्थ्य चौकीको प्रसुति सेवाका लागि दुई लाख र ५४ परिवारलाई दुई लाख असी हजारको घुँवारहित चुह्लो खरिद गरेर उपलब्ध गराइएको छ ।

चार लाख रुपैयाँ बजेटबाट घारखोला जलबिद्युत आयोजनाको बाँधमा जाने सडकदेखि घार स्वास्थ्य चौकी हुदै घारको गाउँ जोड्ने सडक निर्माण भएको छ । तीन लाख बजेटबाट चित्रेको देवी मन्दिरको सत्तल, पाँच लाख बजेटले खिवाङ आधारभूत बिद्यालयमा बालउद्यान, दुई÷दुई लाख बजेटले धर्मपानी–जामपाटा, इनार–देउराली, दाभित्ता, कालिमाटीमा पदमार्ग निर्माण भएको छ । सात लाख बजेटबाट घारको भगवती टोलमा ढल र बाटो, पाँच लाख बजेटले चित्रेमा सभाहल, ४ लाख बजेटले खिम्जामा खानेपानी आयोजना, दुई लाख बजेटले भुवानी आधारभूत घेराबार, दुई लाख बजेटले घट्टेखोलामा सडक निर्माण र पचास हजार रुपैयाँ बजेटले मौरीघारमा खानेपानी मर्मत भएको छ । सबै योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको हो ।


घोडेपानीको पुनहिल आमा समूहको संग्रहालय भवन र खानेपानी आयोजनामा स्थानीयले जनसहभागितामा तोकिएको भन्दा बढी लगानी गरेका छन् । भवन निर्माण समितिका अध्यक्ष निता गर्बुजाले पालिकाले नौ लाख सत्तरी हजार अनुदान दिएको सभाहल सहितको भवन बनाउन समुदाय स्तरबाट थप आठ लाख जुटाएका बताउनुभयो । यस वर्ष कार्यान्वयन हुन नसकेका योजनालाई आगामी मंसिर अगावै निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...