आवाज सुनेर मान्छे चिन्नुपर्ने बाध्यताबाट मुक्ति

Gandaki Ghumau

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका ६५ वर्षीय ओमबहादुर पुन दुवै आँखाको ज्योति गुमेपछि पाँच वर्षदेखि कष्टकर जिवन बिताइरनु भएको थियो ।

‘‘घरबाहिर निस्कन पनि अरुको साहरा लिनुपर्ने थियो,’’ उहाँले भन्नुभयो ‘‘मोतियाबिन्दुको शल्यक्रिया गरेपछि आवाज सुनेर मान्छे चिन्नुपर्ने समस्याबाट मुक्ति पाए ।’’ म्याग्दीका लायन्स क्लवहरुले बेनीमा आयोजना गरेको शिविरमा सोमबार मोतियाबिन्दुको शल्यक्रिया गरेपछि पुनले पाँच वर्षअघि गुमेको आँखाको ज्योति पाउनुभयो ।

सोही शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेका धवलागिरी–७ ताकमका प्रेम थापाले दुई वर्षपछि आँखाको ज्योतिसँगै नयाँ जिवन पाएको अनुभव सुनाउनुभयो । ‘‘आँखा नदेख्दा हिडडुल देखि दैनिक जिवनयापनका हरेक क्रियाकलाप कष्टकर थियो,’’ रघुगंगा–२ भगवतिकी ६० वर्षीय पातली दर्जीले भन्नुभयो ‘‘अब आफै खाना पकाएर खान सक्छु ।’’

Shreekrishna

गाउँमै पुगेर आँखाका बिरामी पहिचान गरेर निशूल्क शल्यक्रियाको ब्यवस्था मिलाएपछि दुर्गम क्षेत्रका विपन्न नागरिकहरुलाई राहत मिलेको छ । बिरामीहरुको पोखरा जान आउने समय र पैसा बचत भएको छ । दुई दिनसम्म सञ्चालन गरेको शिविरमा ११२ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरेको शिविरका संयोजक लोकेश पुन मगरले बताउनुभयो ।

Gunasthariya Shiksya

‘‘गाउँमा सञ्चालित शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीहरुको सदरमुकामको बेनी अस्पताल परिसरमा शिविर सञ्चालन गरेर निशूल्क शल्यक्रियाको ब्यवस्था गरिएको हो,’’ उहाँले भन्नुभयो ‘‘दुर्गम क्षेत्रका आर्थिक रुपमा बिपन्न नागरिकहरुलाई लक्षित गरेर शिविर आयोजना गरेका हौ ।’’

पर्वतको जलजला गाउँपालिकाको मल्लाज र म्याग्दीका छ वटा स्थानीय तहमा सञ्चालन भएको आँखा उपचार शिविरमा दुई हजार दुई सय जनाको आँखा परिक्षण भएको थियो । धवलागिरी गाउँपालिकाको फलियागाउँ, मालिकाको दरवाङ, मंगलाको बाबियाचौर, बेनीको रत्नेचौर, रघुगंगाको चिमखोला र भगवति, अन्नपूर्णको भुरुङ्ग–तातोपानीमा शिविर सञ्चालन गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो ।

हिमालय आखा अस्पताल पोखरा, नेपाल नेत्र ज्योती संघ, नेपाल रेडक्रस सोसाईटी र बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । हिमालय आँखा अस्पतालकी चिकित्सक कृष्णा गुरुङ, नेत्रज्योति संघका नेत्र सहायक दिनेश बानिया लगायतको टोलीले सेवा दिएको थियो ।

ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा आँखा उपचार सम्बन्धी सुबिधा नहुनु, आँखाको स्याहार सुधारमा ध्यान नदिनु, गरिबी र बिपन्नताका कारण मानव शरिरको महत्वपूर्ण अंग आँखाका बिरामी बढेका नेत्रज्योति संघका अध्यक्ष अमर बानियाले बताउनुभयो ।

‘‘भौगोलिक रुपमा बिकट बस्तीका विपन्न नागरिकमा आँखा उपचारका लागि पोखरा सम्म पुग्ने आर्थिक र चेतनाको अभाव छ,’’ उहाँले भन्नुभयो ‘‘समयमै मोतियाबिन्दुको पहिचान र उपचार गर्न नसकेर कतिपयले जलबिन्दु भएर जिवनभर आँखाको ज्योति गुमाएका छन् ।’’

बेनीमा बेनी अस्पताल र नेत्रज्योति संघ तथा मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । लायन्स क्लवहरुले वार्षिक रुपमा आँखा उपचार शिविर आयोजना गर्दै आएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...