घुमिरहन मन लाग्ने पुनहिल र घोडेपानी (भिडियो खबर सहित)

Gandaki Pardesh notice

घोडेपानी, म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिल क्षेत्रमा पिच सडक पु¥याउने, पदमार्गलाई चौबिसै घण्टा उज्यालो पार्ने देखि दृष्य अवलोकन स्थल निर्माण गर्ने लगायतका पुर्बाधार निर्माणले तिब्रता पाएको छ ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको सुबिधाका लागि तीनै तहका सरकार र समुदायले धमाधम पुर्बाधार बिस्तार गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले वि.स. २०७५ मा घोडेपानी–पुनहिललाई एक सय वटा स्थापित पर्यटकीय गन्तब्यमा सूचिकृत गरेको थियो । पर्यटकीय गन्तब्यमा सूचिकृत भएसँगै निजी क्षेत्र, समुदाय र सरकारी तबरबाट करोडौका पुर्बाधार निर्माण भएका हुन् ।

घोडेपानीका ब्यवसायीले सहरबजारमा जस्तै पक्कि घर र होटललाई सुबिधायुक्त बनाउने प्रतिस्पर्धा चलेको छ । पाँच वर्षअघि घोडेपानीका होटलको क्षमता दैनिक पाँच सय जनाको हाराहारीमा थियो । होटलको क्षमता बढाएर एक हजार जना भन्दा बढी पु¥याएको होटल ब्यवस्थापन उपसमितिका उपाध्यक्ष मिना पुन बताउँछिन् ।

Shreekrishna hardwear in news

“पाहुनाले बास नपाएर डाइनिङ हल र भान्छाकोठामा सुत्नुपर्ने समस्या छैन,” भनिन् “तातो पानी, एट्याच बाथरुम भएका कोठा र वाइफाईको सुबिधा छ ।” समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित घोडेपानीमा २५ वटा सुबिधा सम्पन्न होटल छन् ।

यसअघि ढुङ्गा, माटो र काठले बनेका घरमा होटल सञ्चालन गरिएको थियो । अधिकांश ब्यवसायीले पक्कि घर बनाएका छन् । होटलको सुबिधा र क्षमता बढाउन न्युनतम रु. दुई करोड देखि रु. सात करोडसम्म लगानी गरेको ब्यवसायीले बताएका छन् ।

२०७६ को असारमा गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको रु. ५० लाख बजेटबाट मार्ग खोलिएको चित्रे हुदै घोडेपानी जोड्ने चार किलोमिटर सडक थप रु. २५ लाख खर्चेर ग्राभेल गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न रु. २७ करोडको आयोजना सञ्चालन गरेको छ ।

घोडेपानीका ब्यवसायी रनबहादुर पुनले सडक सुबिधासँगै सवारी साधन चढेर आउने आन्तरिक पर्यटक बढेका बताए । “निर्माण र खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी सहज र खर्च सस्तिएको छ,” उनले भने “पोखरेबगर–चित्रे सडक कालोपत्रे र कास्कीसँग सडक जोडिएपछि झनै सजिलो हुन्छ ।”

घोडेपानी देखि कास्कीको उल्लेरी जोड्ने सडक निर्माण गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. १० लाख बिनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पालिका र प्रदेश सरकारका कार्यालय मार्फत घोडेपानी क्षेत्रमा चालु आर्थिक वर्षमा रु. दुई करोड ५० लाख बजेटका योजना कार्यान्वयनको चरणमा रहेका बताए ।

“कोरोनाका कारण यसपाली पर्यटक नआएकाले फुर्सदमा भएका यहाँका बासिन्दा अहिले भौतिक पुर्बाधार निर्माणमा परिचालन भएका छन,” अध्यक्ष पुनले भने “पर्यटक आउँदा उपभोक्ता समितिमा बस्ने मान्छे पाउन मुस्कील हुन्थ्यो । फुर्सदको समयलाई बिकासमा लगाएका छन् ।”

घोडेपानी र त्यहाँदेखि दृष्य अवलोकन स्थल पुनहिल जाने बाटोमा प्रदेश सरकारको रु. २५ लाख सहयोगमा २३ वटा सोलार बक्ति जडान गरेर रातको समयमा उज्यालो बनाइएको छ । सोलार बक्ति जडान गरेपछि घोडेपानीमा बास बसेर उज्यालो नहुदै पुनहिलमा जाने पर्यटकहरुलाई सहज भएको टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए ।

Bhautik ministry notice about road

पानी र हिउँ परेको अवस्थामा सुरक्षित रुपमा बसेर दृष्य अवलोकन गर्ने सुबिधाका लागि पुनहिल परिसरमा रु. २७ लाख ५० हजार खर्चेर तीन कोठे आश्रयस्थलको पक्कि भवन निर्माण भएको छ । यो योजनाका लागि पर्यटन बिभागले गाउँपालिका मार्फत बजेट पठाएको थियो ।

पुनहिलको नजिकै पर्ने फुलबारीमा प्रदेश सरकारले रु. दश लाख खर्चेर गुराँस उद्यान बनाउन लागेको छ । २० रोपनी जमिनमा बनाउन लागिएको उद्यानको तारबार गर्नुका साथै शौचालय निर्माण गर्ने योजना छ ।

नेपालमा पाइने ३१ प्रजातिका गुराँस एकै ठाउँमा अबलोकन गर्न सकिनेछ् । डिभिजन वन कार्यालय म्याग्दीले रु. २० लाखको लागतमा घोडेपानी देखि प्यारीबाराही ताल जोड्ने साइकल र घोडा टे«ल, चरा अवलोकन स्थल र घोडा बाध्ने तबेला बनाउन लागेको कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले बताए ।

योजनाको डिजाइन र लागत अनुमान तयार पारि उपभोक्ता समितिसँग सम्झौता गरिसकेको उनले बताए । तीन किलोमिटर पदमार्ग बनाउन लागिएको हो । यसैगरी प्यारीबाराही तालको वरपर ३८० मिटर लामो ढुङ्गा बिछ्याएको पैदलमार्ग बनाउन घराम्दी सामुदायिक वन उपभोक्ता समूहलाई रु. तीन लाख ८४ हजार उपलब्ध गराउने सम्झौता भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले बिनियोजन गरेको रु. आठ लाख बजेटबाट घोडेपानी खानेपानी आयोजनाको क्षमता बिस्तारको काम सुरु भएको छ । स्थानीयको थप रु. आठ लाख जुटाएर ३० हजार लिटर क्षमताको रिजर्भ टंकी निर्माण र मुहानबाट थप पानी ल्याउन लागिएको उपभोक्ता समितिका अध्यक्ष टेकसर बुद्धुजाले बताए ।

बीस बर्षअघि भारतीय दुतावास र रेडक्रस सोसाइटीको सहयोगमा निर्माण भएको घोडेपानी खानेपानी आयोजनाको टंकी र पाइप सानो भएकाले क्षमताले माग धान्न नसक्दा समस्या भएको छ । गाउँपालिकाबाट रु. आठ लाख बिनियोजन भएको मगर संग्रहालय सञ्चालन गरेको घोडेपानी आमा समूहको भवन निर्माण जारी छ ।

समूहको कोषमा रहेको थप रु. १० लाख लगानी गरेर पक्कि भवन निर्माणलाई पुर्णता दिने पदाधीकारीले बताएका छन् । घोडेपानीमा ढल ब्यवस्थापनका लागि नाली बनाउन गाउँपालिकाले थप रु. छ लाख बिनियोजन गरेको छ । घोडेपानी गाउँभित्र बिद्युतको तारलाई ब्यवस्थित बनाउन केबुल तार राख्न थालिएको छ ।

गाउँपालिकाले बिनियोजन गरेको रु. बीस लाख बजेटबाट पुनहिल हुदै मोहरे, घोडेपानी देखि चित्रे, खिवाङ र घान्दु्रक तर्फ जाने करिब दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । घोडेपानी–प्यारीबाराही पदमार्ग निर्माण समितिका अध्यक्ष शुशिल पुनले घोडेपानी भित्र्ने पाहुनाको बसाई लम्बाउन नयाँ पर्यटकीय गन्तब्यको पहिचान गरि त्यहाँ पुर्बाधार निर्माणका साथै प्रचारप्रसारमा जुटेको बताए ।

घोडेपानीलाई केन्द्रित गरेर फुलबारी, मोहरेडाडा, प्यारीबाराही ताल लगायत सहायक गन्तब्यको पहिचान गरिएको छ । पहाडको उच्च स्थानमा रहेको घोडेपानी र पुनहिल सुर्योदय, हिमशृङखला र गुराँसको जंगल अवलोकनका लागि महत्वपूर्ण गन्तब्य हो । अन्नपूर्ण संरक्षण आयोजना अन्तरगत पर्ने घोडेपानी–पुनहिल क्षेत्र अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्यमा पर्छ ।
पोखरादेखि नजिक पर्ने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा परेको छ । कोरोना (भाइरस)का कारण एक वर्षदेखि पर्यटक आगमन नुहँदा यो क्षेत्र सुनसान बनेको छ । बन्दाबन्दी हटेको र कोरोनाको जोखिम घटेपनि पर्यटक आगमन अपेक्षाकृत हुन सकेको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...