गलेश्वर, । पश्चिम नेपालको पशुपति नाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको छाना फेरिने भएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो ।
मन्दिरको छाना छाउन कोषका आजिवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार पाँचसय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने साधारणसभामा घोषणा गर्नुभयो । कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले दाता र कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिने बताउनुभयो । हाल सिमेन्टको छाना छ ।
सभामा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले गलेश्वर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न थप पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । गलेश्वर क्षेत्र भित्र रहेका अन्न क्षेत्र, ज्येष्ठ नागरिक आश्रम र विद्यालयको विकासका लागि योजाबद्ध रुपमा अगाडि बढ्न उहाँले सुझाव दिनुभयो ।
सभामा आजिवन सदस्य शर्माले गलेश्वर मन्दिरको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो बुवा राधाकृष्ण शर्माले गलेश्वर क्षेत्रको विकासका लागि थालेको अभियानलाई आगमी दिनमा पनि निरन्तरता दिने बताउनुयभो ।
सभामा बेनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बेलबहादुर चोखाल, धार्मिक संघसंस्थाका तर्फबाट महारानी क्षेत्र बिकास समितिका अमृतदेवी बानियाँ, पूर्व अध्यक्ष महेश पराजुली, युवानाथ रेग्मी र सभासदका तर्फबाट सुमन बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभामा प्रस्तुत भएको कोषका अध्यक्ष रुद्रबहादुर कार्कीको अध्यक्षको प्रतिवेदन, सचिव रेग्मीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बमबहादुर पुनको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ । कोषका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष पण्डित भिमनाथ पराजुलीको स्वागत र सदस्य सचिव रेग्मीले सञ्चालन गर्नुभएको थियो ।
सभामा कोषाध्यक्ष पुनले पौष मसान्त सम्म गत वर्षको समेत गरि २ करोड ८६ लाख, २० हजार ७ सय २८ रुपियाँ आम्दानी र पौष मसान्त सम्म खर्च रु १९ लाख ६७ हजार ८ सय १४ खर्च भई कोषको कुल वचत रु २ करोड ६६ लाख ५२ हजार ९ सय १३ रुपियाँ बचत रहेको जानकारी गराउनुभएको थियो ।