
म्याग्दी, ः विपद्बाट क्षतिग्रस्त म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति गर्ने आयोजना पुनःनिर्माणको प्रक्रिया अघि बढेको छ ।
संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय कास्कीले बर्खा अघिनै क्षतिग्रस्त आयोजनाको पाइपलाइन लगायतका संरचना पुननिर्माण सम्पन्न गर्ने लक्ष्य सहित ठेक्का आव्हान गरेको हो ।
बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले रु. १३ करोड लागतमा अन्नपूूर्ण गाउँपालिका–८ रिठाखर्क र डाडाखर्कको मुहानबाट बेनी बजारमा खानेपानी आपुर्ति गर्ने १४ किलोमिटर पाइपलाइन मर्मत गर्न शुक्रबार ठेक्का आव्हान भएको जानकारी दिनुभयो ।


“असोज ११ गतेदेखि अवरुद्ध खानेपानी करिब डेढ महिनाको अवधिमा अस्थायी रुपमा पाइपलाइन मर्मत गरेर कात्तिक २७ गतेदेखि मागको तुलनामा करिब एक तिहाई मात्र खानेपानी आपुर्ति गरिरहेका छौ,” उहाँले भन्नुभयो “कात्तिक ५ गते म्याग्दी आउनुभएका पूर्वाधार मन्त्री सुनिल लम्साललाई गरेको प्रस्ताव अनुसार सम्बन्धीत निकायले सर्वेक्षण र लागत अनुमान गरेर ठेक्का प्रक्रिया अघि बढाएकाले बर्खा अघिनै बेनीमा सहज रुपमा खानेपानी आपुर्ति हुुने विश्वास लिएका छौ ।”
संस्थाले तत्कालीन योजनाका लागि रु. १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु. ७० करोड आवश्यक पर्ने लागत अनुमान तयार पारि खानेपानी तथा ढल ब्यवस्थापन विभागमा प्रस्ताव पेश गरेकोमा पहिलो चरणमा पुननिर्माणका लागि ठेक्का आव्हान भएको हो ।
बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार दुई सय घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसंख्यालाई प्रतिसेकेण्ड २० लिटर खानेपानी आवश्यक पर्छ । प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन विपद्पछि बन्द भएको थियो । अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरिएको छ ।
बेनीको कालीपुल देखि बराहपाखो स्थित पानी संकलन केन्द्र खण्डको पाइपलाईन खोरिया, खरेनी र बराहपाखोको पहिरोले जोखिममा परेपछि बजारको बाहिरीभागबाट बैकल्पिक पाइपलाइन बनाइएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताउनुभयो । माग अनुसार आपुर्ति गर्न नसकेपछि उपभोक्ताहरुलाई आलोपालो प्रणाली अनुसार टोल बिभाजन गरेर खानेपानी वितरण गरिएको उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
