
सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण थालेको डेढ दशकपछि ब्यवसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ ।
पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारण डेढ दशकपछि सम्पन्न हुन लागेको हो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको यस आयोजनाको परिक्षण अवधी पुरा गरेर ब्यवसायिक उत्पादन थालिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो ।

“म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर स्थित बिद्युतगृह परिसरमा असोज ११ गते कालीगण्डकीको बाढीले कटान गरेर क्षति पु¥याएपछि असोज ६ गतेदेखि शुरु भएको आयोजनाको परिक्षण अवधी लम्बिएको हो,” उहाँले भन्नुभयो “प्राकृतिक बिपत्ति, कोभिड–१९, भन्सार प्रकृयाको समस्या, अन्तराष्ट्रिय युद्धको असर, कालीगण्डकी नदीमा नदिजन्य पदार्थ उत्खनन्मा लगाइएको रोक लगायतका कारणले आयोजना निर्माणमा ढिलाई भएको हो ।”
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न. ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्राउने पोखरी रहेका छन् । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–सडक छेउमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा विद्युतगृह रहेको छ । आयोजनाको छ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङ निर्माण भएको छ ।
तिल्केनीचौर देखि घुमाउनेताल, पिप्ले, मौवाफाँट, बुग्ल हुदै बाँध स्थलसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण र राहुघाटमा एक वटा बेलिब्रिज निर्माण भएको आयोजना प्रमुख राजबहादुर बिष्टले बताउनुभयो ।
विद्युतगृह परिसरमा स्विचयार्ड र कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोड्न चार वटा टावर र प्रशारण लाइन निर्माण भएको छ ।
यस आयोजनाले वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । भारतको वाकफोस राहुघाटको परामर्शदाता कम्पनी हो ।

राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय निर्माण कम्पनी आईभीआरसीएलसँग २०६७ कात्तिक १८ गते रु. दुई अर्ब ५० करोडमा सिभिल ठेक्का सम्झौता गरेको थियो । आइभिआरसिएलले सम्झौता अनुसार काम गरेको भए क्षमताको राहुघाटले वि.स. २०७० मै विद्युत उत्पादन शुरु गर्ने थियो ।
कमजोर आर्थिक अवस्थाका कारण काम गर्न नसकेपछि विद्युत प्राधिकरणले वि.स. २०७२ मा आईभीआरसीएलसँगको ठेक्का रद्द ग¥यो । ठेक्का तोडिदा पाँच वर्षको अवधीमा आयोजनाको भौतिक प्रगति १२ प्रतिशतमा सिमित थियो ।
प्राधिकरणले आयोजना पुनर्संरचना गरी क्षमता ३२ मेगावाटबाट बढाएर ४० मेगावाट बनाउने र कम्पनी मोडेलमा निर्माण अघि बढाउने निर्णय भयो । आईभीआरसीएलको ठेक्का रद्द भएपछि प्राधिकरणले वि.स. २०७३ मा सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरि आयोजना अघि बढायो ।
भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा राहुघाट निर्माण गर्ने प्रक्रिया अघि बढाइएको हो ।
नयाँ प्रक्रियाबाट छनौट भएको सिभिल ठेकेदार भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०७४ मङ्सिर ६ गते करिब रु. छ अर्बमा ठेक्का सम्झौता भएको थियो ।
वि.स. २०७५ असारदेखि पहुँचमार्ग र वि.स. २०७६ असार ८ गतेदेखि पिप्ले स्थित तेस्रो नम्बरको अडिटबाट सुरुङ निर्माण शुरु गरेको थियो । वि.स. २०८१ साउन १५ गते राहुघाटको मुख्य सुरुङ जोडिएको थियो ।
सन २०२२ फेब्रुअरीमा पहिलो, सन २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बर सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न भएको हो । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो । भेल भारत सरकारको स्वामित्वको कम्पनी हो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा पहिले र सरकारी लगानीमा सञ्चालन भएको राहुघाटलाई जलविद्युत विकासको ‘गेटवे’ (प्रवेशबिन्दु) मानिएको थियो ।
“राहुघाट शुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेको छन्,” उहाँले भन्नुभयो “ढिलै भएपनि डेढ दशकको प्रतिक्षापछि राहुघाट जलविद्युत आयोजनाले ब्यवसायिक उत्पादन शुरु गरेकोमा उत्साही भएका छौ ।
