
म्याग्दी, ः चर्चित नेपाली सांगीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी बजारको खुल्ला मञ्चमा लाइभ (प्रत्यक्ष) प्रस्तुति दिएको छ ।
गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीत सुनाउँदा हजारौँ दर्शक करिब दुई घण्टासम्म झुमेका छन् । साँझ ६ बजेको केही मिनेटपछि रातो टिसर्ट र जिन्सको ज्याकेटमा स्टेज उक्लिएका अमृतलाई दर्शकले हुटिङ सहित स्वागत गरे ।
‘आगनैभरी’ गीतबाट प्रस्तुति शुरु गरेका गुरुङको स्वरसँगै दर्शकहरुले पनि स्वरमा स्वर मिलाए । लगातार तीन वटा गित गाएपछि दर्शकलाई अभिवादन गर्दै गुरुङले ३० वर्षअघि जोमसोममा गितको छायांकन गरेर बेनी हुदै हिडेर पोखरा पुगेको स्मरण गर्नुभयो ।

मंसिरको पहिलो साता धान काटेर दाइँ हाल्ने, गहुँ लगाएत हिउँदेबाली लगाउने समयको प्रसंग निकाल्दै उहाँले धौलागिरि काँखमा जन्मिएर, मानव सभ्यतासँग जोडिएको कालीगण्डकीको तिरै तिर हिडेका पुर्खाहरुको शिरफुले भाकाको खोजीमा बेनी देखि हिडेर रुकुम पुगेको स्मरण गर्दै धौलासिरि बोलको गित प्रस्तुत गर्नुभयो ।
‘भेडाको ऊनजस्तो’, ‘रामारामा, ‘खान्न म त लामपाते सुरती’, ‘चरी म¥यो सिसैको गोलीले माया बस्यो त्यो मिठो बोलीले’ र ‘जोमसोमे बजारमा १२ बजे हावा सरर’ लगायतका गीत प्रस्तुत गर्नुभयो । गीत गाउँदै आफैँ छमछमी नाचेका अमृतलाई खुल्लामञ्चमा भरिभराउ दर्शकले स्वर र हुटिङमार्फत साथ दिए ।

‘उडायो रेलैले’, ‘हो कि होइन हो’, ‘जीवन हो घामछाया’, ‘म नाचेँ छमछमी’ जस्ता गीतले पनि बेनीको माहोल ततायो । गीतबीच अमृतले नेपालको प्राकृतिक सौन्दर्यताको बर्णण, सद्भाव, सामाजिक एकताको अपिल र पुर्खाको योगदानको सम्मान गर्न अपिल गर्नुभयो ।
मानिसहरू यो धरतीमा केही वर्षका लागि मात्रै पाहुना बनेर आएको उल्लेख गर्दै उहाँले पैसाको मात्र पछि नडौदिन र मानव कल्याणमा सहयोग गर्न आग्रह गर्नुभयो । समाजमा असहाय र अशक्त मानिस कठिन अवस्थामा बाँचिरहेको भन्दै उहाँले मानव कल्याणभन्दा ठूलो धर्म अरू नहुने बताउनुभयो ।
अन्तिमतिर अमृतले देश निर्माणका लागि सबै एकजुट हुन आह्वान गर्दै ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ प्रस्तुत गर्नुभयो । त्यसपछि ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना’ गाउँदा दर्शकको उत्साह थप चुलियो ।
राजनीतिकर्मीहरुलाई मनपरी नगर्न खबरदारी गर्दै गुरुङले कर्मचारीहरुलाई बिचलित नभई निर्धक्क भएर न्यायको राज्य सञ्चालनको अनुरोध गर्नुभयो । अभावका बीच पनि पुर्खाले देश जोगाउन गरेको योगदान स्मरण गर्दै उहाँले विभिन्न जातजाति, धर्म र समुदाय मिलेर बस्नुपर्ने सन्देश दिनुभयो ।
गाउँका घरहरु खाली, खेतीयोग्य जमिन बाँझिने क्रम बढेको प्रति चिन्ता ब्यक्त गर्दै पर्वतको बाँसखर्कमा बजार र बिदेशबाट फर्किएर सुन्तला फलाउने किसानहरुको प्रशंसा गर्नुभयो । करिब दुई घण्टा चलेको प्रस्तुतिमा अमृतलाई ड्रम्समा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, मादलमा शान्ति बहादुर रायमाझी, किबोर्डमा दिनेशराज रेग्मी र लिड गिटारमा निरज गुरुङले साथ दिनुभएको थियो ।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा दुई घण्टासम्म सञ्चालन भएको सांगितिक कार्यक्रममा म्याग्दी सहित पर्वत, बागलुङ, कास्की र मुस्ताङबाट पनि दर्शकहरु आएका स्थानीय आयोजक सोभन इन्टरटेनमेन्टका सञ्चालक सोभन श्रेष्ठले बताउनुभयो । बेनीमा १५ वर्षपछि नेपथ्यको सांगितिक प्रस्तुति भएको उहाँले बताउनुभयो ।
