
सन्तोष गौतम
म्याग्दी, ः म्याग्दी नदीको बाढीले कटान गरेर मालिका गाउँपालिका–६ बालौटेमा अवरुद्ध बनाएको बेनी–दरवाङ सडक करिब दुई महिनापछि मर्मत थालिएको छ ।
गत असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढीले बालौटेमा मालिका, मंगला र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पश्चिम म्याग्दीको लाइफलाइन (भाग्यरेखा) मानिएको बेनी–दरवाङ सडकमा क्षति पुग्नुका साथै बस्तिमा जोखिम बनाएको थियो । नदीले कटान गरेपछि दुखुबेशीको फेदीमा रहेको करिब एक सय मिटर दुरीमा सडक भत्किएर बस्तिको नजिकै पहिरो पुगेको छ ।
पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको साझेदारीमा सडक मर्मतको काम थालिएको हो । पूर्वाधार विकास कार्यालयको प्रक्रियागत ढिलासुस्ति, कटान नियन्त्रण तथा बस्ति संरक्षणको सुनिश्चितता हुनुपर्ने दुखुबासीको माग र सडक मर्मतका लागि ग्यावीयन पर्खाल निर्माण गर्ने ढुंगा जुटाउन समस्या हुँदा ढिलाई भएको बताइएको छ ।

अस्थायी रुपमा सडक मर्मतका लागि रु. २५ लाख बजेट उपलब्ध गराएको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री नन्दप्रसाद न्यौपानेले कात्तिक तेस्रो हप्ता पहिरो प्रभावित सडकको निरिक्षण गरि नदी नियन्त्रण र बस्ती संरक्षणका लागि आवश्यक पर्ने थप रु. दुई करोड भन्दा बढी बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि पूर्वाधार विकास कार्यालयले प्रक्रिया अघि बढाएको थियो ।

तिहार अघि डोजर परिचालन गरेर म्याग्दी नदीलाई डाइभर्सन गराएपनि बालौटेको छिमेकी सहश्रधाराका बासिन्दाहरुले ग्यावीयन जाली भर्न आवश्यक पर्ने ढुंगाको स्रोतमा अवरोध गरेकाले अपेक्षाकृत काम हुन नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक मर्मतलाई तिब्रता दिनका लागि ढुंगाको स्रोतको ब्यवस्था मिलाउन मालिका गाउँपालिकासँग समन्वय गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजेश उलकले बताउनुभयो ।
मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुंगाहरु जलविद्युत आयोजनाहरुको डोजर र ढुवानीका साधन परिचालन गरि पूर्वाधार विकास कार्यालयले ग्यावीयन जाली भरेर अस्थायी रुपमा सडक मर्मत गर्ने सहमति भएको थियो । म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी–१, दरवाङ म्याग्दीखोला र मुदीखोला जलविद्युत अयोजनाले साझेदारी गरेर सडक मर्मतमा उपकरण परिचालन गरेका छन् ।
म्याग्दी १(ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले सडक मर्मत कार्यलाई तिब्रता दिनका लागि मालिका गाउँपालिका, पूर्वाधार विकास कार्यालय र जलविद्युत आयोजनाहरुलाई ताकेता गरिएको बताउनुभयो । बालौटेसँगै सिम–ताराखेत खण्डमा पनि म्याग्दी नदीले कटान गरेको सडक पुनःनिर्माणका लागि प्रदेश सरकारसँग पहल गरिएको उहाँले बताउनुभयो ।
अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराउँदा बालौटेमा कटान भएर सडक भत्किदाँ बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित बनेको छ । दुखुखोलामा ह्युम पाइप राखेर तत्काललाई दुखुबेशी हुदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरेपनि दिगो समाधानका लागि सडक मर्मत र बस्ति संरक्षण गर्नुपर्ने स्थानीयबासीको माग छ ।
साँघुरो, कच्चि अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारी साधन एक आपसमा पार हुने पर्याप्त ठाउँ छैन् । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने यो सडक निकै व्यस्त हुन्छ । म्याग्दीखोला बेसिनमा निर्माणाधिन छ वटा जलविद्युत आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारी साधनहरुको चाप पनि यो सडकमा छ ।
