
म्याग्दी, ः गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ मा म्याग्दी जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटन पूर्वाधार निर्माण गर्न २४ वटा योजनाका लागि रु. एक करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।
एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने पदमार्ग, पर्यटनस्थलको पूर्वाधार तथा धार्मिकस्थल विकाससम्बन्धी योजनामा प्रदेश सरकारले बजेट उपलब्ध गराएको हो । एकीकृत सेवा कार्यालय म्याग्दीका प्रमुख मिता थापामगरका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय तथा धार्मिक गन्तव्यको पहुँच विस्तार, पदमार्ग निर्माण र आवश्यक भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन भएको हो ।
मालिका गाउँपालिकाको प्रभुचेला ध्यानाश्रमको भौतिक पूर्वाधार निर्माण, बराह ताल तथा बराही मन्दिर क्षेत्रमा पार्क, मालिका धुरी पदमार्ग र अर्कलादेखि बाइन्दफाँट–बराहताल पदमार्गका लागि रु. १०–१० लाख विनियोजन भएको छ । लामखोरिया–डाँडागाउँ पदमार्ग र रुम गाउँ पदमार्ग निर्माणका लागि रु. पाँच–पाँच लाख विनियोजन भएको छ ।

धवलागिरी गाउँपालिकाको मुना बस्ती पदमार्ग, पन्थोक बस्ती पदमार्ग र खिवाङ–भदौरे धुरी पदमार्ग निर्माणका लागि रु. १०–१० लाख विनियोजन भएको छ । रघुगङ्गा गाउँपालिकाको दोभान–नागी–देवीस्थान पदमार्ग निर्माणका लागि १० लाख तथा माइथानदेखि ओडारे, मुलपानी टोल, दिङ पुलदेखि मल्लाको पाखो हुँदै दुलेपानी र रावलखेत हुँदै राममन्दिर पदमार्ग निर्माणका लागि रु. पाँच–पाँच लाख बजेट छुट्याइएको छ ।
अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण आधार शिविरको पूर्वाधार र मौरिस हर्जोग पदमार्ग निर्माण तथा अन्धगल्छी–रुप्से झरना–मतिचौर–भुरुङ हुँदै धौलागिरी आइसफल जाने पदमार्ग निर्माणका लागि रु. १०–१० लाख छुट्याइएको छ । घोरेपानी–पुनहिल पर्यटन पूर्वाधार विकासका लागि रु. १० लाख तथा उपल्लो खोरे–पञ्चौलीडाँडा पदमार्ग निर्माणका लागि रु. पाँच लाख विनियोजन भएको छ ।

मङ्गला गाउँपालिकामा सिमलचौर–लामोछहरा–टोड्के पदमार्ग निर्माणका लागि रु. १० लाख तथा उपल्लो बुकेनी–खरबाने–ससधारा–गम्फा पदमार्ग र कुहुँ गाउँ पदमार्ग निर्माणका लागि रु. पाँच–पाँच लाख विनियोजन भएको छ ।
बेनी नगरपालिकामा पात्लेखेत–भण्डारीगाउँ–ओल्वोड–ओखरबोट पदमार्ग, पाखाथर–उपल्लोथर–चुच्चेढुङ्गा हुँदै खड्का भगवती जाने पदमार्ग र धिमिलाथरदेखि मोटरबाटोसम्म पदमार्ग निर्माण गर्न रु. पाँच–पाँच लाख विनियोजन भएको छ ।
एकीकृत सेवा कार्यालयका इञ्जिनियर सुमन बोगटीका अनुसार बजेट विनियोजन भएका योजनाहरू अहिले सर्वेक्षण र सम्झौताको चरणमा छन् । योजनाको स्थलगत सर्वेक्षण, लागत अनुमान तयार गर्ने र आवश्यक प्रक्रिया पूरा गरेर कार्यान्वयनमा लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।
योजनाहरू कार्यान्वयन भएपछि जिल्लाका पर्यटकीय तथा धार्मिकस्थलमा पुग्न सहज हुनुका साथै स्थानीय पर्यटन प्रवद्र्धन र ग्रामीण क्षेत्रको आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यालयमार्फत गत आर्थिक वर्ष २०८२÷८३ मा पनि म्याग्दीका २४ वटा पर्यटन पूर्वाधारसम्बन्धी योजनाका लागि रु. एक करोड ४० लाख विनियोजन भएको थियो । त्यसमध्ये रु. एक करोड १० लाख बजेटका १९ वटा योजना सम्पन्न भएका थिए भने प्रतिकूल भूगोल, मौसम र अन्य कारणले रु. ३० लाखका पाँचवटा योजना कार्यान्वयन हुन सकेका थिएनन् ।
गत वर्ष सम्पन्न योजनामार्फत जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण गरिएको थियो । पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल, पर्खाल तथा अन्य पूर्वाधार निर्माण भएका थिए ।
