
मुस्ताङ, । मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोला मोटरेबल पुल सम्झौता अवधि अगावै निर्माण सम्पन्न भएको छ। दुई वर्षको समयसीमा बाँकी छँदै पुल निर्माण पूरा भएपछि निर्माण कम्पनी अमित–अशिष जेभीका प्रोप्राइटर तथा पुर्व संघीय माननीय प्रेमप्रसाद तुलाचनलाई पूर्वाधार विकास कार्यालय मुस्ताङले कदरपत्र प्रदान गरी सम्मान गरेको छ।
गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माण भएको ३५ मिटर लामो पुलको लागत ४ करोड २५ लाख ६४ हजार ४६३ रुपैयाँ रहेको छ। हिमाली क्षेत्रको कठिन भौगोलिक अवस्था र चुनौतीपूर्ण निर्माण परिस्थितिका बाबजुद पुल समयअगावै सम्पन्न भएको हो।


पुल उद्घाटन समारोहमा उपस्थित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले आगामी दिनमा ढुम्बामा समेत मोटरेबल पुल निर्माण गरिने र ढुम्बाबाट जोडिने सडकको स्तरोन्नति गरिने बताए। उनले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक पहल गरिने उल्लेख गरे।
त्यसैगरी, पूर्वसांसद प्रेमप्रसाद तुलाचनले गण्डकी प्रदेश भौतिक पुर्वाधार विकासरस्वास्थ्य मन्त्री नन्द प्रसाद न्यौपाने तथा प्रदेशसभा सदस्य विकल शेरचनलाई सडक विभागसँग समन्वय गरी छयो क्षेत्रमा बेलीब्रिज निर्माणका लागि पहल गर्न सुझाव दिए। उनले विकास निर्माणमा आवश्यक पर्ने गुणस्तरीय गिट्टी तथा बालुवाको सहज उपलब्धताका लागि कालीगण्डकी नदीबाट नदीजन्य सामग्री उत्खनन तथा व्यवस्थापनसम्बन्धी संघ र प्रदेशका कानुनमा आवश्यक संशोधन गर्नुपर्ने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मन्त्री नन्दप्रसाद न्यौपानेले जनसंख्या कम भएको क्षेत्र भए पनि त्यहाँ आवश्यक विकास पूर्वाधार निर्माण हुनुपर्ने बताए। उनले त्रिवेणी–कोरला सडकलाई रणनीतिक सडकका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै बाँकी रहेका काम संघीय सरकारसँग समन्वय गरेर अघि बढाइने जानकारी दिए।
२०८३ कात्तिक ३० गते पुल उद्घाटनका अवसरमा निर्माण कम्पनीलाई कदरपत्र प्रदान गरिएको थियो ।
ठिनी खोला पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासी , कृषक , पर्यटकको आवागमन सहज हुनुका साथै क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विकासको उपलब्धि बजेट खर्चमा मात्र नभई निर्धारित समयमै गुणस्तरीय संरचना निर्माण गरी नागरिकलाई सेवा प्रवाह गर्न सक्नुमा निर्भर हुन्छ। ठिनी खोला मोटरेबल पुलको समयअगावै सम्पन्नताले सार्वजनिक निर्माणमा समयपालना, जिम्मेवारी र प्रभावकारी कार्यसम्पादनको महत्त्वलाई पुनः उजागर गरेको छ।
