
बेनी, गत असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम बेनी बजारमा डाडाखर्कको मुहानबाट डेड महिनापछि खानेपानी आपुर्ति हुन थालेको छ ।
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइपलाइन बनाएर खानेपानी आपुर्ति गराउन थालेको हो । १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मत गरेर यही कात्तिक २७ गतेदेखि पानी आपुर्ति गराउन थालिएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो ।
“डेढ महिनाको प्रयासपछि प्रतिसेकेण्ड आठ लिटरका दरले पानी आपूर्ति गराउन थालेका छौ छ,” उहाँले भन्नुभयो “राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी र वैकल्पिक पाइपलाइन निर्माण गरिएको छ ।”

बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्नुपरेको अध्यक्ष गिरीले बताउनुभयो ।

विपद्पछि कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुवडाबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिएको थियो । अम्रेनी र वडाको वैकल्पिक मुहान सुकिसकेका छन् । वैकल्पिक मुहान सुकेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गराउन पाइपलाइन मर्मत गरिएको हो ।
संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार दुई सय घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसंख्यालाई खानेपानी वितरण हुँदै आएको छ । माग अनुसार आपुर्ति गर्न नसकेपछि उपभोक्ताहरुलाई आलोपालो प्रणाली अनुसार टोल बिभाजन गरेर खानेपानी वितरण गरिएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन विपद्पछि बन्द भएको थियो । अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरिएको हो ।
बेनीको कालीपुल देखि बराहपाखो स्थित पानी संकलन केन्द्र खण्डको पाइपलाईन खोरिया, खरेनी र बराहपाखोको पहिरोले जोखिममा परेपछि बजारको बाहिरीभागबाट बैकल्पिक पाइपलाइन बनाइएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताउनुभयो ।
सचिव रेग्मीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु. १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु. ७० करोड आवश्यक पर्ने लागत अनुमान तयार पारि खानेपानी तथा ढल ब्यवस्थापन विभागमा प्रस्ताव पेश गरिएको छ ।
