
म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा रहेको भूमे आधारभूत विद्यालयलाई आवासीय रुपमा सञ्चालनका लागि तिहार पर्वको अवसरमा देउसीभैलो खेलेर रु. १० लाख भन्दा बढी आर्थिक संकलन भएको छ ।
अनाथ र विपन्न विद्यार्थीहरुका लागि छात्रावास सञ्चालन गरेर आवासीय सुविधा दिनका लागि तिहार पर्वको अवसरमा मच्छिम, मुना र फलीयागाउँमा सञ्चालन गरिएको देउसीभैलोबाट रु. दश लाख दुई सय ४५ सहयोग जुटाइएको प्रधानाध्यापक सुुरेन्द्र छन्त्यालले जानकारी दिनुुभयो । कमजोर विद्यार्थीको सिकाई उपलब्धी वृद्धि गर्नुपनि गत बैशाख महिनादेखि सञ्चालन गरिएको छात्रावासको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
“अभिभावक नभएका, पारिवारिक समस्यामा परेका र विपन्न समुदायका बालबालिकालाई निशूल्क खाने, बस्ने ब्यवस्था सहित छात्रावास सञ्चालन गरेका हौ,” प्रअ छन्त्यालले भन्नुभयो “मच्छिम बाहेकका गाउँबाट पनि विद्यार्थी पढ्न आएका छन् ।”


विद्यालयको पुुरानो भवनमा विद्यार्थीहरुलाई आवासको ब्यवस्था मिलाइएको छ । ३२ जना विद्यार्थीले आवासीय सुुविधा पाएका छन् । २० जना भन्दा बढी विद्यार्थी लुलाङ, गुर्जा, मुना, मुदी र धारापानीका छन् । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा कुल विद्यार्थी संख्या ८९ जना छन् ।
छात्रावासमा बस्ने विद्यार्थीका लागि खाने, बस्ने सहित पोशाक, सरसफाई सामग्री, झोला, कापी, कलम निशूल्क उपलब्ध गराउन देउसीभैलो खेलेर आर्थिक स्रोत जुटाइएको उहाँले बताउनुभयो । छात्रावासका विद्यार्थीहरुलाई शिक्षकहरुले आलो पालो गरेर अतिरिक्त सुविधा नलिई पढाउने गरेका छन् । कार्यालय सहयोगी, आया र होस्टल इञ्चार्जको ब्यवस्था विद्यालयका मौजुदा जनशक्तिहरुबाटै मिलाइएको छ ।
मासिक रु. ६० हजार सञ्चालन खर्च आवश्यक पर्ने रकमको स्रोत दाताहरुबाट चन्दा सहयोग मागेर जुटाइएको प्रअ छन्त्यालले बताउनुभयो । सरकारले कक्षा ५ सम्मकालाई दिवा खाजाको ब्यवस्था गरेपनि विद्यालयले सबै विद्यार्थीलाई निशूल्क दिवाखाजाको ब्यवस्था मिलाएको छ । नयाँ भवनमा छात्रावास स्थानान्तरणका लागि फर्निचर र दिगो सञ्चालनका लागि पालिका तथा दाताहरुमा प्रस्ताव गरिएको प्रअ छन्त्यालले बताउनुभयो ।
