
म्याग्दी, ः यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दी जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको अन्नपूर्ण गाउँपालिकाकाका सबै सडकहरु सञ्चालनमा आएका छन् ।
गत असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढीपहिरोका कारण अवरुद्ध बनेका अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडा र बस्तिहरु जोड्ने सडक डेढ महिनापछि पूर्ण रुपमा सञ्चालनमा आएका हुन् । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले वडा नम्बर ५मा पर्ने पाउद्धार गाउँ जोड्ने सडक मर्मतको काम आइतबार सकिएको जानकारी दिनुभयो ।
“अन्नपूर्णमा पर्ने कालीगण्डकी कोरिडोर असोज २३ गतेदेखि, पाउद्धार, हिस्तान र राम्चे बाहेकका सडक पनि दसैअघिनै सञ्चालनमा ल्याएका थियौ,” उहाँले भन्नुभयो “भौगोलिक रुपमा विकट र धेरै क्षति पुगेका पाउद्धार, राम्चे र हिस्तानका सडक मर्मत पनि सकिएपछि सबै बस्तिहरु सडक सञ्जालमा पुनः जोडिएका छन् ।”


सडक यातायात पुनःसञ्चालन भएपछि विपद्बाट क्षतिग्रस्त खानेपानी, सिचाई, पदमार्ग, भवन र निजी आवास पुनःनिर्माणको कामलाई गति दिन सहज हुने अपेक्षा गरिएको छ । प्राकृतिक नाकाबन्दीमा परेको पाउद्धार गाउँ जोड्ने पोखरेबगर–नेपाने–पाउद्धार सडक तत्काल मर्मत सम्भव नभएपछि शिख देखि स्वाँत, किन्दु, झारवाङ हुदै पाउद्धार जोड्ने बैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । पाउद्धार देखि नेपाने जोड्ने सडक मर्मत जारी रहेको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।
राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजाले नागी र राम्चेको बिचमा पर्ने पहिरो खुलाउन नसकिएको बताउनुभयो । लेकफाँट हुदै नागी र हिस्तानबाट काफलडाडा र राम्चेलाई सडक यातायातको सञ्जालमा जोडिएको उहाँले बताउनुभयो । अन्नपूर्णमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु र एक जना वेपत्ता भएका छन् । ६० घर पूर्ण र एक सय २९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका गाउँपालिकाले जनाएको छ । निजी आवास भत्किएर र जोखिमका कारण तीन सय घरपरिवार प्रभावित भएका गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
विपद् प्रभावित निजी आवास र सार्वजनिक भौतिक संरचना पुननिर्माणलाई तिब्रता दिने गरी तयारी गरिएको अध्यक्ष पुनले बताउनुभयो ।
