
म्याग्दी, ः म्याग्दीको मङ्गला गाउँपालिका–३ र –४ नम्बर वडामा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ ।
बरंजामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरहरुले हरेक वर्षको कुकुर तिहार देखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । खेतीबालीको राम्रो उब्जनी होस र आगजनी जन्य विपद् नहोस भन्ने कामना सहित प्रकृतिको पुजा गरेर यो पर्व मनाउने चलन रहेको मंगला गाउँपालिका–४ का वडा अध्यक्ष लालबहादुर रोकाले जानकारी दिनुभयो ।
“धार्मिक विधि अनुसार पुजाआजा गरेर कुकुर तिहारको दिन शुरु हुने आगोदेउ पर्वमा प्रकृतिको पुजा हुने गर्छ,” उहाँले भन्नुभयो “परापुर्व कालदेखिको आगोदेउ पर्व मनाउने चलनलाई निरन्तरता दिएका छौ ।”


परापुर्वकालमा खेतीबाली उब्जनी हुन छाडेको बरंजाको खेतबारीमा देवी देवताहरुको पुजाआजा गरेपछि पुनःउत्पादन हुन थालेपछि आगोदेउ पर्व मनाउने चलन बसेको वडा अध्यक्ष रोकाले बताउनुभयो । साथै आगोका कारण कुनै दुर्घटना, विपद् नहोस् भन्ने कामना गर्नुपनि यो पर्व मनाउनुको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
बरङ्जाको शिलाथुर स्थित थानमा मगरका झाँक्रीहरुले पुजाआजा गरेर पर्व शुरुवात भएको मानिन्छ । दोस्रो दिन साँझ सो ठाउँमा भेडाको साँढलाई पुजा गरि बली चढाइन्छ । यसैगरी आगो बाल्ने र मार्ने गरिन्छ । तेस्रो दिन कमेरोले रङ्गाएको ढुङ्गालाई काट्ने र पुजाआजा गरेपछि पर्व सकिएको मानिन्छ ।
बरङजामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बुढाथोकी थरका मगरहरुले आगोदेउ पर्व मनाउँछन् । बाहै शताब्दीमा बरङजामा बसोबास शुरु भएदेखि शुरु भएको आगो देउ पर्वलाई निरन्तरता दिदै आएको वडा अध्यक्ष रोकाले बताउनुभयो ।
कात्तिकमा आगोदेउ र जेठमा धुले मेला बरङ्जाका मगरले धुमधामसँग मनाउने पर्व हो । जेठ महिनाको दोस्रो अथवा तेस्रो हप्ताको मङ्गगलबार देखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला लगाउने चलन छ । हिउँदभरी खेतबारी सुकेर धुलैधुलो हुने र पानी परेपछि खेति गर्न योग्य हुने हुनाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिएको हो । –
