गोठको दुःख, शिक्षाको उज्यालो : चार पुर्जा दिदीबहिनीको सफलताको कथा

Annapurna notice 3

सन्तोष गौतम
बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलका एकै घरका चार दिदीबहिनीले सरकारी सेवामा छन् ।

जिवनकालको लामो समय गाईभैसीपालन र घिउ बेचेर जिविकोपार्जन गरेका ओमबहादुर पुर्जा र राममाया पुर्जाको जिवनमा छोरीहरुले प्राप्त गरेको सफलताले परिवर्तन ल्याएको हो । अभाव र सङ्घर्षका बीच सन्तानलाई शिक्षित बनाउने पुर्जा दम्पत्तीको सपना अहिले सफलताको उदाहरण बनेको छ ।

पुर्जा दम्पतीका चार छोरीमध्ये कान्छी स्मृति जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा बरिष्ठ प्रबन्धकका रूपमा कार्यरत हुनुहुन्छ । व्यवस्थापन र कानुन विषयमा स्नातकोत्तर अध्ययन गरेकी स्मृतिले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी २०७६ सालदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको हो ।

Shreekrishna

जेठी कल्पना, माहिली चन्दा र साहिली निलमले वि.स. २०७९ मा शिक्षक सेवा आयोगको परिक्षा उतिर्ण गरेर स्थायी शिक्षक बन्नुभएको हो । कल्पना र निलम प्रा.वि र चन्दा नि.मा.वि. तहको शिक्षक हुुनुुहुुन्छ । चन्दा वि.स. २०७१ देखि अस्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

कल्पनाको शिक्षण पेसामा प्रवेशको यात्रा केही फरक छ । उहाँले म्याग्दी, पर्वत र कास्कीका विभिन्न रेडियोमा १२ वर्ष सञ्चारकर्मीका रूपमा काम गर्नुभएको थियो । म्याग्दीकाली एफएम, रेडियो म्याग्दी, पर्वतको रेडियो दिदीबहिनी र पोखराको रेडियो जननीमा आबद्ध भएर सञ्चार क्षेत्रमा अनुभव बटुल्नुभएकी उहाँले पछि शिक्षण पेसा रोज्नुभएको हो । “सञ्चार क्षेत्रमा काम गर्दा आफ्नो अध्ययनलाई पनि सँगसँगै अगाडि बढाएँ । आफूले पढेका र सिकेका कुराहरू अब बालबालिकालाई सिकाउने पेसामा छु”, कल्पनाले भन्नुभयो ।

DRM Notice 1

स्नातक तह उत्तीर्ण गर्नुभएका कल्पना र चन्दा हाल अन्नपूूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माविमा शिक्षकका रुपमा कार्यरत हुनुुहुन्छ । कल्पना प्रा.वि. र चन्दा नि.मा.वी. तहको स्थायी शिक्षक हुुन् । प्रा.वि. तहको शिक्षक निलम राम्चेमा बाल्यकालमा आफैले शिक्षा हासिल गरेको देउराली आधारभूत विद्यालयमा प्र.अ.को जिम्मेवारीमा हुनुहुन्छ ।

कक्षा १२ सम्मको अध्ययन पुरा गरेका पुर्जा दम्पतीका एकमात्र छोरा मीनबहादुर जापानको रोजिटोरेसुुयु कम्पनीमा प्रबन्धकको रुपमा कार्यरत हुनहुन्छ । पुर्जा दम्पत्तलाई चार छोरी सरकारी सेवामा र छोरा विदेशमा रहे पनि उनीहरूको सफलताभन्दा बढी अभिभावकलाई सन्तानले पाएको शिक्षाले दिएको सन्तुष्टि महत्वपूर्ण बनेको छ ।

“धेरै सन्तान भएपछि हुर्काउन, बढाउन र पढाउन निकै सङ्घर्ष गर्नुप¥यो । आम्दानीको निश्चित स्रोत थिएन । गोठमा गाईभैँसी पालेर घिउ र वस्तुभाउ बेच्दा प्राप्त हुने पैसाले छोराछोरीको पढाइ खर्च जुटाउँथ्यौँ”, ओमबहादुरले भन्नुभयो, “अहिले सबै छोरी सरकारी जागिरे भएका छन् । हामीलाई ठूलो सन्तोष मिलेको छ ।”

विगतमा गोठ र पशुपालनमै व्यस्त रहने पुर्जा दम्पती अहिले घरमै सामान्य खेतीपाती गरेर समय बिताउनुहुन्छ । छोराछोरीको शिक्षादीक्षा र भविष्यका लागि गरेको मेहनतले सार्थकता पाएपछि उहाँहरूको दैनिकी पनि सहज बनेको छ ।

ग्रामीण र दुर्गम बस्तीमा हुर्किएर उच्च शिक्षा हासिल गर्दै चारै दिदीबहिनी सरकारी सेवामा प्रवेश गर्नु स्थानीय समुदायका लागि पनि प्रेरणाको विषय बनेको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको हिमाञ्चल माविका प्र.अ. रमन पुनले बताउनुभयो । उहाँका अनुसार मगर समुदायमा उच्च शिक्षा हासिल गरेपछि रोजगारीका लागि विकसित मुलुक जाने क्रम बढिरहेका बेला राम्चेका यी दिदीबहिनीले स्वदेशमै सरकारी सेवामा प्रवेश गरेर फरक उदाहरण प्रस्तुत गरेका छन् ।

चारै दिदीबहिनीले देउराली आधारभूतबाट प्रारम्भिक र हिमाञ्चल माविबाट माध्यमिक तहको शिक्षा हासिल गर्नुभएको हो । सीमित आम्दानी, ग्रामीण परिवेश र गोठको कठिन दैनिकीबीच सन्तानको शिक्षालाई प्राथमिकता दिएको पुर्जा दम्पतीको निर्णयले एउटा परिवारको भविष्य मात्र बदलेको छैन, राम्चेका नयाँ पुस्तालाई शिक्षामार्फत आफ्नै गाउँबाट अघि बढ्न सकिन्छ भन्ने सन्देश पनि दिएको अन्नपूर्ण गाउँपालिका–८ का वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...