
म्याग्दी, ः म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीयमा रुपान्तरण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको छ ।
यही कात्तिक २६ देखि आगामी मंसिर ३ गतेसम्म कुहुँ स्थित विद्यालय परिसरमा सञ्चालन हुने “म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ” स्थलमा पूर्वाधार निर्माण शुरु, प्रचारप्रसार र ब्यवस्थापकीय तयारी तिब्र पारिएको हो ।


विद्यालयलाई आवासीयमा रुपान्तरण, स्मार्ट विद्यालयको अवधारणा अनुसार सूचना प्रबिधीको प्रयोग गरि पठनपाठन, सिकाई उपलब्धी र गुणस्तर वृद्धि गराउने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको प्र.अ. नन्दबहादुर खत्रीले जानकारी दिनुभयो ।
“विपन्न, भौगोलिक रुपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीहरुलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरि सिकाई उपलब्धी वृद्धि गर्ने उद्देश्य राखेका छौ,” उहाँले भन्नुभयो “प्रबिधीको प्रयोग र शैक्षिक गुणस्तर बृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्युनीकरण गर्ने पनि उद्देश्य हो ।”
पण्डीत दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट रु. तीन करोड जुटाउने र रु. दुई करोड बचत गर्ने लक्ष्य राखिएको सहायक प्र.अ. हरिकृष्ण भट्टराईले बताउनुभयो । भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि गरिने उहाँले बताउनुभयो ।
कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ९६ जना विद्यार्थी छन् । वि.स. २०१७ मा स्थापना भएको विद्यालयले वि.स. २०४७ देखि माध्यमिक र वि.स. २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको ब्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर घर्ती क्षेत्रीले बताउनुभयो ।
