विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माणका लागि पाउद्धारबासी श्रमदानमा

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनःनिर्माणमा जुटेका छन् ।

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्धारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् । पाउद्धारका बासिन्दा समेत रहेका अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले खानेपानी, पदमार्ग र विद्युत मर्मतका लागि श्रमदान चलिरहेको जानकारी दिनुभयो ।

“तीन वटा टोलको फरक फरक समूह बनाएर क्षतिग्रस्त भौतिक संरचनाहरु पुनःनिर्माणको काम भइरहेको छ,” उहाँले भन्नुभयो “यसै हप्तादेखि विद्युत सेवा सूचारु भएको छ । घार देखि पाउद्धार र पाउद्धार देखि पर्यटकीय स्थल खोपारा जाने पदमार्ग सञ्चालन भइसकेको छ ।”

Shreekrishna
Gunasthariya Shiksya

पछिल्लो केही दिनयता खानेपानी आपुर्ति सहज बनाउनका लागि श्रमदान चलिरहेको छ । हेलिकप्टरबाट ट्रान्सफर्मर लगेर विद्युत आपुर्ति सूचारु गरिएको हो । पाउद्धारका बासिन्दा हरि तिलिजाले सरकारी निकायको सहयोगको आश गर्दा ढिलाई र दुःख हुने भएकाले सम्भव भएका काम श्रमदानबाट गरिएको बताउनुभयो ।

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घारखोला, नेपाने, पाउद्धार, घिरवाङ, किन्दु र धोस्केखोर हुँदै वडा कार्यालय रहेको शिख जोड्ने सडक पहिरोले क्षतविक्षत बनाएको छ । सडकमा पैदल हिँड्नसमेत कठिन छ । खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चरसमेत हिँडाउन सकिने अवस्था छैन । खच्चर र घोडामार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने भएकाले पदमार्ग मर्मतमा जुटेको स्थानीयबासी जसे पुनले बताउनुभयो ।

दुई सयभन्दा बढी घर रहेको पाउद्धारका चारवटा टोलमा यसअघि एक सय ७० घरपरिवारको बसोबास थियो । विपद्का बेला हेलिकप्टरबाट उद्धार गरिएका गाउँलेसहित विस्थापित परिवार आश्रयस्थलबाट आफन्त र छिमेकीको घरमा सरेका छन् ।

गाउँ फर्किने बाटो र आधारभूत सेवा अवरुद्ध भएपछि पाउद्धारका बासिन्दा आफ्नै गाउँमा सहज रूपमा बस्न पाउनेमा ढुक्क हुन सकेका छैनन् । आगामी वर्षायाममा फेरि यस्तै विपद् दोहोरिने हो कि भन्ने चिन्ता उनीहरूमा रहेको छ । पहिरोले गाउँका बस्ती, आवागमन र आधारभूत सेवा प्रभावित भएपछि पाउद्धारका बासिन्दा तत्काल राहतसँगै दीर्घकालीन सुरक्षित बसोबासको प्रतीक्षामा छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...