

प्रतिभा पौडेल
मानिसलाई आफ्नो कामको, पढाइको वा अन्य विविध कारणले भौतिक रूपमा टाढा पुऱ्याउन सक्छ तर सम्बन्धलाई टाढा बनाउने कुरा सधैं भौतिक दूरी मात्र हुँदैन। कहिलेकाहीँ व्यस्तता, मौनता र भावनात्मक अनुपस्थितिले आफ्नै परिवारभित्र पनि अपरिचितपनको जन्म गराउँदछ। आजको २१ औँ शताब्दी भनिने आधुनिक नेपाली समाजमा हजारौँ परिवारको कथा लगभग उस्तै रहेको पाईन्छ । आफ्नो र आफ्नो परिवारको भविष्य सुन्दर बनाउने सपना बोकेर दिनहुँ जसो नेपाली युवा-युवती विदेश पलायन हुने दर उच्च रूपमा वृद्धि हुदै गइरहेको छ। नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग (Department of Foreign Employment – DOFE) को आधिकारिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ (FY 2023/24) मा श्रम स्वीकृति लिनेको सङ्ख्या ६,४१,००० जना र आर्थिक वर्ष २०८१/८२ (FY 2024/25) मा श्रम स्वीकृति लिनेको सङ्ख्या लगभग ८,३५,२६६ जना पाइएको छ।

यसरी पलायन हुने सबैको उद्देश्य स्पष्ट हुन्छ – आफ्नो भावी सन्ततिले आफूले जस्तो दुःख भोग्न नपरोस्, राम्रो शिक्षा पाओस्, आर्थिक अभावमा जीविकोपार्जन गर्न नपरोस् र जीवनमा राम्रो तरिकाले स्थापित हुन सकून्। यद्यपि यही सपनाको यात्रामा एउटा गम्भीर प्रश्नको उत्पत्ति हुन्छ – “छोराछोरीको भविष्य बनाउन कमाएको पैसा मात्र पर्याप्त हुन्छ कि उनीहरूको वर्तमानमा पनि बुबाआमाको उपस्थिति आवश्यक हुन्छ?” विदेशमा बसेर परिवारका लागि पैसा कमाउनु सानो त्याग होइन। परदेशको अपरिचित वातावरण, लामो कामको समय, थकान, एक्लोपन र अनेक जिम्मेवारीबीच बुबाआमाले आफ्नो परिवारका लागि संघर्ष गरिरहेका हुन्छन्। त्यसैले उनीहरूको त्यागलाई केवल भौतिक उपस्थितिको अभावका आधारमा मूल्याङ्कन गर्नु न्यायोचित हुँदैन, तर अर्को यथार्थ पनि छ । छोराछोरीलाई राम्रो विद्यालयमा पढाउनु, महँगा लुगा किनिदिनु, आवश्यकताअनुसार पैसा पठाउनु र उनीहरूको जीवन सहज बनाउनु महत्त्वपूर्ण भए पनि यी कुराले मात्रै भावनात्मक आवश्यकता पूरा गर्दैनन् ।विदेशमा गएर कमाएको पैसाले परिवारको आर्थिक अवस्था सुदृढ एवम् बलियो बनाएतापनि यसको अदृश्य सामाजिक, मनोवैज्ञानिक र भावनात्मक सम्बन्धमा ठुलो मात्रामा अन्तर जन्मिएको पाइन्छ। मेरो आफ्नै आफन्तको कुरा गर्ने हो भने नेपालमा रहनुभएका आफन्तभन्दा विदेश पलायन हुनुभएको आफन्त धेरै हुनुभयो र त्यसमध्ये पनि धेरैजसो बुबाआमा विदेशमा र छोराछोरी नेपालमा हजुरबुबा, हजुरआमाको साथमा तथा ठुलोबुबा, ठुलीआमाको काखमा हुर्किँदै गरेको देख्न सकिन्छ। आफ्ना बुबाआमाको माया, ममता, संवाद, र दिनभरि आफूले भोगेको अनुभव सुनिदिने समय सँगसँगै आफूलाई समस्या पर्दा समस्याभन्दा पहिले आफ्नो कुरा ध्यानपूर्वक सुनिदिने कानको आवश्यकता एक अबोध बालकको मानसिकतामा परिरहेको हुन्छ तर यसै समयमा अभिभावक र बच्चा बिच दूरी उत्पन्न भएमा बच्चाले आफ्नो कुरा आमाबुबासँग बाँड्न छोड्छ भन्ने कुरा पनि स्पष्ट रूपमा देखिँदै आएको छ। हाम्रो नेपालि समाजमा अझ अचम्म लाग्दो कुरा त के छ भने ठुलोबुबा, ठुलीआमासँग हुर्किएको बच्चाले उहॅाहरुको बच्चाको सिको गरि ठुलोबुबा, ठुलीआमालाई बुबाआमा र आफ्नो जन्म दिने बुबाआमालाई “कान्छोबुबा, कान्छीआमा” भनी सम्बोधन गर्ने, अझ भनौ आफ्नै जन्मदिएका बुबाआमा नेपाल आउँदासमेत उहाँहरूसँग घुलमिल नहुने, समय बिताउन नचाहने र नजिक नजाने जस्ता घटना पनि सुन्दै आइएको छ ।
“मेरो पुस्ताका हामी नेपालीहरूले आर्थिक समृद्धिसङ्गै पारिवारिक जिम्मेवारी, भावनात्मक सम्बन्ध र सामाजिक मूल्यको महत्त्वलाई पनि उत्तिकै गम्भीर रूपमा बुझ्न आवश्यक पर्दछ । ”
१. संस्कार र आचरणमा असर:-
- अभिभावकको प्रत्यक्ष निगरानी नहुँदा बालबालिकामा जिद्दीपन, अटेरीपन सङ्गसङ्गै कुलतमा फस्ने जोखिम बढ्ने।
- हजुरबुबा, हजुरआमा वा अन्य आफन्तको जिम्मामा हुर्किएका बालबालिकामा माया बढी तर माया ममताको एक रूपता नहुने वा सही मार्गदर्शनको कमी हुने स्थितिको निर्माण हुने।
- संस्कार पैसा खर्च गरेर किन्न सकिने वस्तु होइन न त विद्यालयमा पढाउँदैमा स्वतः विकास हुने गुण हो, त्यसैले अभिभाबकसङ्ग मनोबैज्ञानिक र भावनात्मक रुपमा टाढा भएमा माया, ममता, व्यवहार, अनुशासन र पारिवारिक वातावरणबाट बिस्तारै निर्माण हुँदै पछाडि परिने।
२. शिक्षा र व्यावहारिक सिकाइमा पर्ने प्रभाव:-

- गृहकार्यमा सहज तरिकाले निर्देशन गर्ने वा पढाइको प्रगति निगरानी राख्ने अभिभावक नहुँदा बालबालिकाको शैक्षिक नतिजा बिग्रनु र सिकाईको दायरा सिमित हुने ।
- बालबालिकामा बुबाआमाको अभाव महसुस हुनु र एक्लोपन मेटाउन मोबाइल, गेम वा इन्टरनेटमा बढीभन्दा बढी समय बिताउने।
- सानैदेखि एक्लोपनमा हुर्किएका बालबालिकाहरू प्रायः चिडचिडाहट हुने, आत्मअनुशासनको कमी देखिने र धेरै मानिससँग घुलमिल हुन नसक्ने ।
“पैसाले दैनिक जीवनका आवश्यकता पूरा गर्नु र परिवारमा आत्मीयता निर्माण गरी मायाको अनुभूति गराउनु एउटै कुरा होइनन् । ”
समाधानका उपायहरू:-
- आर्थिक आवश्यकताका साथै बाल-मनोविज्ञानको सन्तुलन मिलाउन सकेसम्म एक जना अभिभावक आफ्ना बालबच्चासँगै बस्ने।
- बालबच्चाको परीक्षाको नतिजा मात्र नहेरी उसको प्रयास, रुचि, भावनात्मक स्थिति र उसको समस्या, डर र असफलताबारे खुलेर कुरा गर्न सुरक्षित वातावरणको निर्माण गर्ने।
- वैदेशिक रोजगारीमा जानु अगाडि नै बच्चाको हेरचाह, शिक्षा र स्वास्थ्यको जिम्मेवारी कसले र कसरी पूरा गर्ने, आपत्कालीन अवस्थामा कसरी सम्पर्क गर्ने भन्ने दिगो र प्रभावकारी योजना तयार गर्ने।
निष्कर्ष:-
आजको नेपाली समाजमा दुवै अभिभावकको अनुपस्थितिले घरमा छाडेका बालबालिकाको मानसिक र भावनात्मक अवस्था भने दिनानुदिन जोखिममा पर्दै गएको छ। आमाबुबाको प्रत्यक्ष स्पर्श र संस्कारको अभावमा बालबालिकाको भावनात्मक आवश्यकता अधुरै रहन्छन्। त्यसैले “पैसाले भौतिक सुख सुविधा र समृद्धिको ढोका त खोल्न सक्छ, तर बाल्यकालमा अभिभावकको काख, माया र सही मार्गदर्शनको विकल्प कुनै पनि रेमिट्यान्स हुन सक्दैन ।“
भरतपुर ०४, लक्ष्मिपुर, चितवन
