बेनी–दरवाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

Gandaki Ghumau

म्याग्दी, ः सुख्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकको फापरखेत खण्डको बैकल्पिक सडक सञ्चालन भएको छ ।

बेनी–नगरपालिका –४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराहन्न देखि शुरु भएको पहिरो नरोकिएपछि मंगला गाउँपालिकाले पखेर–बरंजा– ज्यामिरे– सातबिसे –बाबियाचौर वैकल्पिक सडक सञ्चालन गरेको हो ।

मंगला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले बर्खा याममा अवरुद्ध बनेको बरंजा– सातबिसे– बाबियाचौर खण्डको सडक तत्कालै मर्मत गरेर आइतबार दिउँसो देखि मिनिबस, जिप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्याक्टर चलाउन मिल्ने बनाइको जानकारी दिनुभयो ।

Shreekrishna

“निरन्तर खसिरहेको पहिरो नरोकिदा सम्म मर्मत गर्न नसकिने भएकाले दसैको समयमा जन्मथलो जाने नागरिकहरुलाई सहजताका लागि गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो,” उहाँले भन्नुभयो ।

बेनी–दरवाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ । फापरखेतमा पहिरो निरन्तर झरेकाले पन्छाउने काम शुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
पहिरो र वैकल्पिक सडकको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गैरेले स्थलगत निरिक्षण गरि यातायात सञ्चालन र सडक मर्मतका लागि सहजिकरण गर्नुभएको थियो ।

विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिकै हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सीधा यातायात सेवा बन्द हुने गरेको छ । दुर्घटनाको जोखिम बढाएको छ । फापरखेतमा सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ ।

माथिबाट पहिरो खसिरहने र साँघुरो उक्त ठाउँको सडकबाट गत वर्ष दुई वटा मालवाहक ट्रक म्याग्दी नदीमा खसेर दुर्घटना भएको छ । साउन यता दुई वटा मोटरसाइकल म्याग्दी नदीमा खसेपनि मानवीय क्षति भएको छैन् । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

Gunasthariya Shiksya

घुमाउने भनेर चिनिने फापरखेत पहिरोले स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पु¥याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ । साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ । जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ ।

म्याग्दी नदीमा निर्माणाधीन पाँच वटा जलविद्युत् आयोजना र डाडाखेत राहुघाट सवस्टेशन तथा प्रसारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनाहरूमा पनि पहिरोका कारण असर परेको छ ।

तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ ।

फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी मोटरेबल पुल बनाउन चालु आर्थिक वर्ष २०८३÷८४ मा रु. दुई करोड बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सरकारले प्रक्रिया थालेकोे छ ।

गत वर्ष सङ्घीय सरकारले बेलिब्रिज उपलब्ध गराउने, प्रदेश सरकारले जडान गर्ने र पहुँचमार्ग बनाउने समझदारी जेनजी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनका कारण कार्यान्वयन नहुँदा प्रदेश सरकारले बिनियोजन गरेको रु. एक करोड बजेट कार्यान्वयन हुन सकेन् ।

सवारी साधनको अत्याधिक चाप हुने बेनी–दरवाङ सडकमा बेलिब्रिज बनाउँदा जोखिम हुने प्राबिधिक प्रतिवेदनको आधारमा प्रदेश सरकारले रु. सात करोड ५० लाख बजेटको स्रोत सुनिश्चित गरेपनि ठेक्का आव्हान नभएको र ‘डिजाइन एण्ड बिल्ड’ बिधीबाट पक्की मोटरेबल पुल बनाउने तयारी गरेको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन)ले बताउनुभयो ।

पुल बनाउन रु. १० करोड लागत अनुमान गरिएको छ । एउटै कम्पनी वा ठेकेदारले डिजाइन (नक्सा, प्राविधिक विवरण) तयार र निर्माण गर्ने परियोजना कार्यान्वयन गर्ने ठेक्का प्रणालीलाई डिजाइन एण्ड बिल्ड भन्ने गरिन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...