
म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको महभिर गाउँ पहिरोका कारण विस्थापित भएको छ ।
३० घरपरिवारको बसोबास रहेको महभिरका सबै बासिन्दाहरु पहिरोका कारण गाउँ छोड्न बाध्य भएका हुन् । महभिरका बासिन्दा समेत रहेका अन्नपूर्ण गाउँपालिका–८ का वडा अध्यक्ष खमबहादुर गर्बुजाले पहिरो प्रभावितहरु सिरुवारीमा अस्थायी शिविर बनाएर बस्न थालेका जानकारी दिनुभयो ।
“बस्तिदेखि तल ठूलो पहिरो छ, गाउँको बिच बिचमा पनि पहिरोले चिरा चिरा पारेको छ, घरगोठका पर्खाल, आगन चर्किएर बस्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो “गाउँनै पहिरोले बगाउने जोखिम भएकाले सिरुवारीमा अस्थायी शिविर बनाएर राखेका छौ ।”

महभिरमा रहेको कक्षा ५ सम्मको पठनपाठन हुने चन्द्र आधारभूत विद्यालयलाई पनि सिरुवारीमा सारिएको वडा अध्यक्ष गर्बुजाले बताउनुभयो । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछि महभिरमा पहिरो सिर्जना भएको हो ।

महभिर सहित अन्नपूर्ण गाउँपालिकाको ८ नम्बर वडामा पर्ने साविक राम्चे गाविसका ५२ परिवारका एक सय २६ जना विस्थापित भएका छन् । पहिरोले घर बगाउँदा धारापानीमा सविन चोचाङ्गीको मृत्यु भएको र मनोज चोचाङ्गी वेपत्ता भएका छन् ।
ओखलखर्क झुम्रेखोरमा तीन, धारापानीमा चार घर, गाउँफाँटमा ११, थलथलेमा तीन र चिनारमा दुई घर घर विस्थापित भएका काफलडाडाका अगुवा रवी गर्बुजाले जानकारी दिनुभयो । विस्थापितहरुलाई गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले उपलब्ध गराएको टेन्टमा शिविर बनाएर राखिएको छ ।
नागी र राम्चेको बिचमा पहिरो गएकाले पहिरो प्रभावित बस्न थालेको सिरुवारी जोड्ने सडक यातायात अवरुद्ध छ । विस्थापितहरुलाई खाद्यान्न र राहत सामग्री हेलिकप्टर मार्फत ढुवानी गरिएको छ । सवारी साधन मार्फत बेनीदेखि मल्लाज, फलामेडाडा हुदै नागी पु¥याइएको राहत सामग्री स्थानीयबासीले पिठ्युमा बोकेर ढुवानी गर्ने गरेका छन् ।
पहिरोका कारण महभिर गाउँलाईनै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार तत्काललाई अस्थायी शिविरमा रहेका विस्थापितहरुलाई दिर्घकालिन रुपमा स्थानान्तरण र पुननिर्माण तथा पुनस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग प्रस्ताव गरिएको छ ।
