
सन्तोष गौतम
म्याग्दी, ः मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ ।
प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेका हुन । संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ ।
डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब चार सय मिटर माथि पुगेको सेभेन समिट टे«कका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताउनुभयो । “हाम्रो कम्पनीका नेपाली र विदेशी १४ जनालाई प्रतिकुल मौसमका कारण हेलिकप्टरबाट उद्धार गरेर असोज ८ गते पोखरा ल्याएका थियौ,” उहाँले भन्नुभयो “मौसम सुधार भएपछि अक्टोबर १ मा पोखराबाट हिडेको टोली आधार शिविरबाट चुचुरोतर्फ अघि बढेको छ ।”

असोज ८ देखि ११ गतेसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीको टोली आरोहण स्थगित गरी फर्किएको थियो । मौसममा सुधार आएसँगै आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनः आरोहण सुरु गरेको टोली प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

“हाल हिउँ जमेर कडा र स्थिर अवस्थामा रहेकाले हिँडडुल गर्न अनुकूल छ,” उहाँले भन्नुभयो “भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिम पनि अहिले तुलनात्मक रूपमा कम छ ।”
शरदकालमा धवलागिरि हिमाल आरोहणका लागि चार समूहका २६ पुरुष र १० महिला गरी ३६ जनाले अनुमति लिएका पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
धौलागिरि आरोहण अनुमतिबापत रु. ८२ लाख ४२ हजार ५० दस्तुर सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । पर्वतारोहीहरुको समन्वय गर्दै आउनुभएका म्याग्दीको दानाका ब्यवसायी इन्द्रसिंह शेरचनले अन्य कम्पनीका पर्वतारोहीको टोली पनि धौलागिरिको आधार शिविर पुगिसकेको बताउनुभयो ।
गत वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए भने । छिनछिनमै परिवर्तन भइरहने मौसम धवलागिरि आरोहणको प्रमुख चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहण बढी जोखिमपूर्ण, कठिन र साहसिक मानिन्छ ।
सन् १९६० मे १३ मा म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्विस–अस्ट्रियाली संयुक्त आरोहण दलले धौलागिरि हिमालको शिखरमा पहिलोपटक पाइला राखेपछि यहाँ आरोहण सुरु भएको थियो । आरोहण सुरु भएको ६६ वर्षको अवधिमा सात सय ३३ जना पर्वतारोही धौलागिरि शिखरमा पुगिसकेको विवरण छ ।
धवलागिरिमा हिमाल आरोहणका साथै पर्यटकहरू ‘राउन्ड धवलागिरि’ पदयात्राका लागि पनि जाने गर्छन् । बगर, सल्लाघारी, इटाली आधार शिविर, जापानी आधार शिविर, धवलागिरि आधार शिविर, हिडन भ्याली आधार शिविर र याकखर्क हुँदै मुस्ताङको मार्फामा पुगेर नौ दिनमा टुङ्गिन्छ ।
