
म्याग्दी, ः चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक अन्र्तगत कालीगण्डकी बाढीले बगाएको म्याग्दीको पोखरेबगर स्थित सडक पुलको पहुँचमार्ग ११ दिनपछि जोडिएको छ ।
यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिकाको २ र ६ नम्बर वडाको सिमानामा रहेको पुलको पोखरेबगरतर्फ करिब २० मिटर पहुँचमार्ग बगाएको थियो ।
बाढीले बगाएको पक्की पहुँचमार्गको विकल्पमा जगमा ग्यावीयन पर्खाल निर्माण र ढुंगामाटो फिलिङ गरेर बिहिबार सँझ जोडिएको बेनी–जोमसोम कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

“काम थालेको एक सातामै पहुँचमार्गलाई जोड्न सफल भएका छौ,” उहाँले भन्नुभयो “सडकको सतह मिलाउने र बाँकी काम सम्पन्न गरी सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन गर्ने तयारी गरेका छौ ।”

पहुँच मार्ग तयार भएसँगै हुलुका सवारीसाधन बिहीबार साँझदेखि परीक्षणका रुपमा अत्यावश्यक हलुका सवारीसाधन मात्र सञ्चालन गरिएको छ । दुईतर्फबाट सडक जोडिएपछि सडकको सतह मिलाउने र सवारीसाधन सञ्चालनका लागि आवश्यक मर्मत तथा व्यवस्थापनको काम भइरहेको आयोजना प्रमुख शर्माले बताउनुभयो ।
निर्माण भएको सडकको अवस्था परीक्षण गर्न हलुका सवारीसाधन पास गराएर परीक्षण गरिएको उहाँको भनाई छ । सडकलाई पूर्णरूपमा सञ्चालनयोग्य बनाउन लेभल मिलाउने लगायतका बाँकी काम शनिबारसम्म सम्पन्न गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ ।
सबैभन्दा चुनौती मानिएको रघुगंगा गाउँपालिका २ कुनौटाको भिरमा फिलिङ गरेर सडकको नयाँ ट्रयाक खोलिएपनि सवारी सञ्चालनयोग्य बनाउने काम भैरहेको छ । यस स्थानमा कालिगण्डकीको बाढीले दुई सय ५० मिटर सडक कटान गरेर बगाएको थियो । जोमसोम देखि पोखरेबगरसम्म पहिरो हटाएर यसअघि नै सडक एकतर्फी रुपमा खुलाइएको थियो ।
आयोजनाले विभिन्न किसिमका २० देखि २५ वटासम्म उपकरण र पर्याप्त मात्रामा जनशक्ति परिचालन गरेकाले अपेक्षा गरेको भन्दा छिटो सडक मर्मत भएको यातायात ब्यवसायी कृष्ण पौडेलले बताउनुभयो ।
