घर गुमाएका छिस्वाङका किसान धान भित्र्याउने बेला खेतै बगर बनेपछि दोहोरो पिडामा

Gandaki Ghumau

सन्तोष गौतम
म्याग्दी, ः म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहनुभएको छ । साढे छ रोपनी खेतमा लगाएको मार्सी धान बाढीले नामोनिसान नरहने गरी पुरिदिएपछि उहाँको वर्षभरिको अन्नको जोहो गर्ने आधार गुमेको छ ।

१४ जना परिवारका सदस्यलाई वर्षभरि खान पुग्ने धान फल्ने खेत बाढीले बगरमा परिणत गरिदिएपछि उहाँसँग अब करिब तीन रोपनी बाँझो जमिन मात्रै बाँकी छ । “धान काटेर घर भित्राउने बेला खेत नै रहेन,” पुनले भन्नुभयो, “वर्षभरि खाने अन्न फल्ने जमिन बाढीले बगर बनाइदियो ।”

छिस्वाङमा वीरबहादुरको जस्तै पीडा पूर्णबहादुर पुनको पनि छ । पशुचौपाया राख्ने गोठसहित उहाँको तीन रोपनी धानखेत बाढीले बगाएको छ । अन्न फलाउने एक इन्च जमिन बाँकी नरहेपछि उहाँलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ ।

Shreekrishna

खहरे खोलामाथि खसेको पहिरोपछि आएको बाढीले छिस्वाङका करिब ३५ परिवारको करिब डेढ सय रोपनी धानखेतमा क्षति पुगेको स्थानीयले बताएका छन् । अन्नबालीका लागि प्रख्यात छिस्वाङको खहरेखोला आसपासको खेतीयोग्य जमिन खोलाको बगरमा परिणत भएको छ ।

“पुर्खाले छोडेको जग्गा, वर्षौँको श्रम र लगानी केही घण्टामै बाढीले बगायो,” नरबहादुर घर्तीले भन्नुभयो , “धान भित्राउने समयमा खेत नै बगेपछि किसान ठूलो पीडामा छन् ।” असोज ११ गते आएको भीषण बाढीले छिस्वाङ खहरेको स्वरूप नै बदलिदिएको छ । केही समयअघिसम्म घरबस्ती र धानखेत रहेको ठाउँ अहिले माटो, ढुङ्गा र गेग्रानले भरिएको छ ।

बस्तीभन्दा करिब चार किलोमिटर माथि पाङ्ग्रा वनमा खसेको पहिरो खहरे खोलामा मिसिएपछि बाढी आएको थियो । पुल तथा कल्भर्टमा बाढी थुनिएपछि पानी र गेग्रान बस्तीतर्फ सोझिएको स्थानीय भिजन पुनले गुनासो गर्नुभयो ।

बाढीले छिस्वाङमा नौ घर पूर्ण रूपमा ध्वस्त बनाएको छ । २२ भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । मिल, पसल, गोठ तथा घरभित्रका अन्नपात र सामग्रीसमेत बाढीले बगाएको छ । घरबास गुमाएका परिवार अहिले आफन्तको घर र शारदा माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन् ।

Gunasthariya Shiksya

तुलबहादुर घर्तीले रातको समयमा खानेपानीको पाइपलाइन मर्मत गरिरहेको अवस्थामा खोल्सामा आएको बाढीबाट भागेर ज्यान बचाएको सुनाउनुभयो । “श्रीमती खोलापारी र मैले वारी बसेर खानेपानीको पाइपलाईन मर्मत गरिरहेको अवस्थामा एक्कासी बाढी आएपछि भागाभाग गरेका थियौ,” उहाँले भन्नुभयो “केही सेकेण्ड छिटो भाग्न सफल हुँदा ज्यान जोगिएको हो ।” घर्तीले खेतबारी पुरिनुका साथै घरभित्र बाढी पसेर क्षति पुगेको बताउनुभयो ।

घर, गोठ, अन्नपात र खेतबारीमा ठूलो क्षति पुगेको स्थानीयबासी गौदेवी पुनले गुनासो गर्नुभयो । “घर पनि रहेन, खेत पनि बचेन्,” पुनले भन्नुभयो, “अब बस्ती जोगाउने गरी नदी नियन्त्रणको काम तत्काल हुनुपर्छ ।” पुनले नदी नियन्त्रण, कल्भर्ट व्यवस्थापन र जोखिममा परेको बस्तीको दीर्घकालीन पुनःस्थापनाको माग गर्नुभयो ।

तुलप्रसाद पुन, मेखबहादुर पुन, पूर्णप्रसाद पुन, देवान घर्ती, नरबहादुर घर्ती, गौदेवी पुन, सरोज विक, जितबहादुर पुन र श्यामप्रसाद विकको घर पूर्ण क्षति भएको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताउनुभयो ।

घरबास र आम्दानीको आधार एकैपटक गुमेपछि परिवारको दैनिक गुजारा कठिन बनेको श्याप्रसाद बिकले बताउनुभयो । स्थानीय चित्रबहादुर बिकले पहिरो र बाढीले पाइपलाइन, टंकीमा क्षति गरेपछि खानेपानीको समस्या भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार प्रारम्भिक चरणमा छिसवाङमा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको थियो । अहिले सडकमार्गबाट समेत राहत तथा सहयोग पु¥याउन सकिने अवस्था बनेको उहाँले बताउनुभयो।

केही दिनअघि पहिरो र बाढी प्रभावित क्षेत्रको निरिक्षणका लागि प्रजिअ गैरे लगायत सुरक्षा अधिकारीहरुसहित छिसवाङ पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीसँग बस्ती संरक्षण र बाढी नियन्त्रणका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको साझेदारी तथा समन्वयमा बस्तिलाई सुरक्षित बनाउने, पहिरोको थप जोखिमको अध्ययन र पुनस्थापनाका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...