बालौटेमा म्याग्दी नदीले सडक काट्यो, १४० घर जोखिममा

Gandaki Ghumau

म्याग्दी ः मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेसी गाउँ जोखिममा परेको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढीले बालौटेमा मालिका, मंगला र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पश्चिम म्याग्दीको लाइफलाइन (भाग्यरेखा) मानिएको बेनी–दरवाङ सडकमा क्षति पुग्नुका साथै बस्तिमा जोखिम बढेको हो । नदीले कटान गरेपछि दुखुबेशीको फेदीमा रहेको सडक भत्किएर बस्तिको नजिकै पहिरो पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

“अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराउँदा कटान भएर सडक भत्किदाँ बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित बनेको छ,” उहाँले भन्नुभयो “दुखुखोलामा ह्युम पाइप राखेर तत्काललाई दुखुबेशी हुदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरेपनि दिगो समाधानका लागि सडक मर्मत र बस्ति संरक्षणको विकल्प छैन् ।”

Shreekrishna

साँघुरो, कच्चि अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारी साधन एक आपसमा पास हुने पर्याप्त ठाउँ छैन् । कतिपय ठाउँमा सवारी साधन भुईमा ठेक्कीन्छन् । ह्युम पाइप राखिएको ठाउँमा बाढी आएर बगाउने जोखिम पनि उत्तिकै छ । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने यो सडक निकै व्यस्त हुन्छ । म्याग्दीखोला बेसिनमा निर्माणाधिन छ वटा जलविद्युत आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारी साधनहरुको चाप पनि यो सडकमा छ ।

गण्डकी प्रदेश सरकार मातहतको बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना सञ्चालन गरिरहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजेश उलकका अनुसार करिब एक सय मिटर दुरीमा कालोपत्र डिलदेखि कुना सम्मै सडकको पुरै भाग भत्किएको छ ।

Gunasthariya Shiksya

सडक भत्किएको ठाउँमा पैदलयात्रा गर्न पनि जोखिम छ । खोलाको किनार देखि पक्की पर्खाल उठाएर सडकलाई पुननिर्माण गर्नुपर्ने कार्यालय प्रमुख उलकले बताउनुभयो । डिलतिर ठाउँ छैन, भित्ता काटेर सडक बनाउदाँ बस्तिलाई जोखिम हुन्छ । मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुर रोकाले पहिरोका कारण करिब एक सय ४० घरपरिवारको बसोबास रहेको दुखुबेशी गाउँलाई जोखिम बनाएको बताउनुभयो ।

कटान रोकथाम, सडक सञ्चालन र बस्ति संरक्षणको काम गर्नुपर्ने दुखुवेशीका बासिन्दाको भनाई छ । बेनी–दरवाङ सडकको पछिल्लो पटक चुनौति बनेको बालौटे खण्डको सडक पुननिर्माणको काम अघि बढाउन मंगलबार म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन), गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयका सचिव नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाको टोलीले निरिक्षण गर्नुभयो ।

सांसद जुग्जालीले यातायात सञ्चालन, सडक पुननिर्माण, कटान नियन्त्रण र बस्ति संरक्षणको कामलाई समानान्तर रुपमा अघि बढाउन प्रस्ताव गर्नुभयो । तत्काललाई बस्तिलाई असर नपुग्ने गरि सडक पुननिर्माण गरि दशैअघि सवारी सञ्चालन गर्ने र आगामी बर्खा अघिनै नदी नियन्त्रण गर्नुपर्ने जुग्जालीले बताउनुभयो ।

सचिव शर्माले पूर्वाधार विकास कार्यालयले सडक मर्मत शिर्षकको मौजुदा र अख्तियारी प्राप्त भएको बजेट मार्फत ग्यावीयन जाली खरिद र मजदुरको ज्यालाको ब्यवस्थासँगै थप बजेटको प्रक्रिया अघि बढाउने, मन्त्रालयले स्रोतको ब्यवस्थापन गर्ने, गाउँपालिकाले नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने र छिटो काम गर्नका लागि जलविद्युत आयोजनाहरुका उपकरण परिचालन गर्ने समझदारी बनेको बताउनुभयो ।

मन्त्रालयले प्रदेश सरकार मातहतका गण्डकीका अन्य जिल्लाका विपद्बाट क्षतिग्रस्त सडक आयोजनाहरुलाई पनि तत्काल मर्मत गरि सञ्चालनको लागि बजेटको अभाव हुन नदिने र कतिपय जिल्लामा काम भैरहेको सचिव शर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...