
म्याग्दी ः म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा सुत्केरी व्यथाका कारण जोखिममा परेकी गर्भवतीको आइतबार आकस्मिक हवाई उद्धार गरिएको छ ।
मुदी स्वास्थ्य चौकीमा उपचाररत २३ वर्षीया झरना छन्त्याललाई लामो समयसम्म सुत्केरी व्यथा लागेको, गर्भमा रहेको शिशुको धड्कन अनियमित भएको र गर्भको पानीमा शिशुले दिसा गरेको ९मेकोनियम० देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको हो ।
गर्भवतीको अवस्था जटिल बन्दै गएपछि आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्ने भएकाले आइतबार बिहान ८ बजे सिम्रिक एयरको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।

गत साताको भारी वर्षापछि सडक तथा बाटो अवरुद्ध भएकाले मुदीबाट स्थलमार्ग हुँदै बेनी आउन सक्ने अवस्था नरहेपछि तत्काल हवाई उद्धार गरिएको हो ।

अस्पतालमा चिकित्सकीय भ्याकुम विधिबाट छन्त्यालले छोरी जन्माउनुभएको छ । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य नरहेकाले हाल नवजात शिशु सघन उपचार कक्ष ९एनआइसियू० मा राखेर उपचार भइरहेको छ भने आमाको स्वास्थ्य अवस्था सामान्य रहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मुदीमा हेलिकप्टर अवतरण गराउनसमेत कठिन भूगोल रहेको अवस्थामा सिम्रिक एयरका पाइलट तथा टोलीले जोखिम मोलेर सफलतापूर्वक उद्धार गरेको जनाइएको छ ।
उद्धार तथा उपचारका क्रममा विशेषज्ञ चिकित्सकीय सल्लाह प्रदान गर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं मातृशिशु मितेरी प्रादेशिक अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। रेखा पौडेल, प्रदेश अस्पताल म्याग्दीका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्त बास्तोला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मी र मुदी स्वास्थ्य चौकीकी अनमी सुनिता गुर्धामी लगायतको महत्वपूर्ण भूमिका रहेको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयले आकस्मिक उद्धार तथा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, हेलिकप्टरका पाइलट तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।
मन्त्रालयले उपचाररत आमा र नवजात शिशुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । गण्डकी प्रदेश सरकारले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका गर्भवति तथा सुत्केरीहरुको हवाई उद्दारका लागि सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बनेको छ ।
