
म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक मर्मतपछि एकतर्फी तथा अस्थायी रुपमा सञ्चालनमा आएको छ ।
बेनी–दरवाङ–मुना धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने पश्चिम म्याग्दीको लाईफलाइन हो ।
म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)का अनुसार असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर तथा सडक मर्मत गरेपछि बेनीदेखि मुना हुँदै धवलागिरी गाउँपालिका–३ खोरियासम्म जिप, ट्याक्टर, मोटरसाइकललगायत साना सवारीसाधन सञ्चालन गर्न सकिने भएको हो ।
उहाँले असोज १२ गतेदेखि बेनीबाट डम्मरा, चुत्रेनी, बगुवाखोला, ठूलाखोला, सिङ्गा, फापरखेत, बाबियाचौर–लाम्पाटा, सिम, सिमलचौर हुँदै आम्बोटसम्म तथा दरवाङबाट बाँगेपहिरो–तोलावाङ खण्डमा मर्मत गरिएको जानकारी दिनुभयो । धवलागिरी गाउँपालिकाको मुना, मच्छिम र गौथली तथा मालिका गाउँपालिकाको रानीबासामा खसेको पहिरोसमेत पन्छाइएको उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।


बालौटेमा म्याग्दी नदीले सडकको बेस कटान गरेकाले तथा दुखुबेशी बस्ती पहिरोको जोखिममा रहेकाले दुखुखोला–रणवाङ–तोलावाङ खण्डको विकल्पमा दुखुखोलामा ह्युमपाइप राखेर दुखुखोला–दुखुबेशी–तोलावाङ हुँदै हलुका सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको जुग्जालीले बताउनुभयो ।
उहाँका अनुसार हाल भएको मर्मतलाई अन्तिम नमानिएको र दोस्रो चरणमा ठूला सवारीसाधनसमेत सञ्चालन गर्न मिल्ने गरी सडक मर्मत गरिनेछ । प्रदेशसभा सदस्य जुग्जालीले गण्डकी प्रदेश सरकार मातहतका अन्य सडकसमेत मर्मत भइरहेकाले बाढीपहिरोका कारण अवरुद्ध विद्युत्, सञ्चार र खानेपानी सेवा सञ्चालनका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको बताउनुभयो ।
सडक मर्मतमा सहयोग गर्ने प्रदेश सरकार, पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, निर्माण व्यवसायी, उद्योग वाणिज्य संघ, जलविद्युत् आयोजना, प्रसारण लाइन आयोजना, स्थानीय बासिन्दा तथा प्राविधिक र हेभी इक्युपमेन्ट चालकप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।
संघीय सरकार मातहतका बेनी–जोमसोम, बेनी–बागलुङ लगायतका सडक सडक डिभिजन कार्यालय र बेनी–जोमसोम–कोरला सडक योजना मार्फत तथा स्थानीय तहको केन्द्र देखि वडा जोड्ने सडक पालिकाहरु मार्फत धमाधम मर्मत भइरहेका छन् ।
मनसुनजन्य विपद्का कारण म्याग्दीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जुग्जालीले प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक बजेट व्यवस्थापनमा आफ्नो क्षेत्राधिकारभित्र रहेर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

